काठमाडौँ –आजका पत्रपत्रिकामा विकास निर्माण तथा वातावरणीय मुद्दाका विभिन्न विषयमा समाचार छापिएका छन्।
नागरिक
–आजको नागरिकमा हिउँदे वर्षा औषतभन्दा बढी शिर्षक भुवन शर्माको समाचार छापिएको छ। यस वर्ष हिउँदे वर्षा औसतभन्दा बढी भएको छ। मौसम पूवार्नुमान महाशाखाले पश्चिमी वायुको कारण यस वर्ष हिउँदे वर्षा काठमाडौंलगायत अधिकांश ठाउँमा अघिल्ला केही वर्षभन्दा बढी भएको जनाएको छ।
जनवरी महिनामा काठमाडौंमा हुने १४ दशमलब ४ मिलिमिटर सम्मको वर्षालाई औसत वर्षा मानिएको छ तर यस वर्ष जनवारी महिनामा मात्रै १९ दशमलब ४ मिलिटिर वर्षा पुगेको महाशाखाले जनाएको छ। यसमा फेब्रेवरी महिनाको वर्षाको रेकर्ड जोडिएको छैन। बिहीबारबाट काठमाडौंमा शुरू भएको वर्षालाई जोड्ने हो भने यस वर्ष अघिल्ला वर्षहरू भन्दा बढी वर्षा हुने महाशाखाले जनाएको छ। पछिल्लो २४ घण्टामा काठमाडौंमा ३ मिलिमिटर वर्षा भएको छ। विराटनगर, धनकुटा लगायतका एक दुइ ठाउँमा मात्र यस वर्ष औसत वर्षा हुन नसकेको महाशाखाले जनाएको छ। ‘देशका एक दुइ ठाउँमा मात्र यस वर्ष औसतभन्दा कम वर्षा भएको छ। ती ठाउँ छाड्ने हो भने अधिकांश ठाउँमा यस वर्ष औसतभन्दा बढी वर्षा भएको छ’ मौसम पुर्वानुमान महाशाखाकी मौसमवीद् शाति कँडेलले भनीन्।
कान्तिपुर
–आजको कान्तिपुरमा मेलम्चीको ठेक्का तोडियो, धरौटी जफत हुने शिर्षकमा समाचार छापिएको छ सरकारले मेलम्ची आयोजनाको सुरुङमार्ग र हेडवक्र्स निर्माणको जिम्मा पाएको इटालियन ठेकेदार कम्पनी सीएमसीसँग ठेक्का तोडेको छ । काममा फर्कन दिइएको १४ दिनको समयसीमा सकिएपछि मेलम्ची खानेपानी आयोजनाले यस्तो निर्णय लिएको हो । मेलम्ची खानेपानी विकास समितिको बोर्ड बैठकले सीएमसीसितको ठेक्का तोडी उसले राखेको बैंक धरौटी जफत गर्ने निर्णयसमेत गरेको छ ।
सीएमसीले ठेक्का सम्झौता गर्दा झन्डै साढे दुई अर्ब रुपैयाँ धरौटी राखेको छ। समितिले शुक्रबार नै बैंकलाई पत्र पठाई उक्त रकम जफत गर्नेछ ।
सरकारले माघ ६ मा दुई साताभित्र काममा फर्कन सक्ने गरी ठेक्का रद्द गरेको पत्र (लेटर अफ टर्मिनेसन) सीएमसीलाई पठाएको थियो । अन्तिम म्याद सकिँदासम्म सीएमसीले कुनै प्रत्युत्तर नदिएपछि ठेक्का तोड्ने निर्णय गरिएको समितिले जनाएको छ ।
अन्नपूर्ण पोस्ट
–आजको अन्नपूर्ण पोस्टमा सुन्दर बन्दै बाग्मती शिर्षकमा छेटु शेर्पाको समाचार छापिएको छ । गोकर्णबाट सिनामंगलसम्म वाग्मती नदी दुवैतर्फ सिँगारिएको छ। वाग्मती सुधार आयोजनाले दुवै किनारामा सडक, बगैंचा, साइकल लेन र फुटपाथसहित पर्खाल निर्माण गरेको हो। यो काम २०७० फागुनमा सुरु गरिएको थियो। गोकर्णबाट सिनामंगलसम्म दुईतर्फ ७।२÷७।२ किमि नदी क्षेत्रलाई सजावट गर्ने काम अन्तिम चरण पुर्याइएको आयोजनाले छ। आयोजनाअन्तर्गत अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले नदीका दुवै किनारमा व्यवस्थित पर्खालसहित २०/२० मिटर हरित क्षेत्र बनाएको छ। काठमाडौं उपत्यका विकास प्राधिकरणले पनि नदी क्षेत्रबाट २० मिटरसम्म कुनै संरचना निर्माण गर्न नहुने गरी योजना तयार पारेको थियो।
नदीलाई २८ देखि ४० मिटरसम्म फराकिलो बनाएर पार्क, बगैंचा, सार्वजनिक शौचालय, मन्दिर, ११ ठाउँमा वेयर निर्माण गरिसकेको आयोजनाका इन्जिनियर मिहिरचन्द्र आचार्यले बताए। पानीमा अक्सिजन घुल्न सहयोग पुग्ने गरी वेयर निर्माण गरिएको उनको भनाइ छ। अब वाग्मतीको पानी केही सफा हुने उनले बताए।