Monday, November 18, 2024

पत्रपत्रिकामा आज : मुस्लोभित्र सहर, करौडौंका योजना अन्योलमा

काठमाडौँ – आजका पत्रपत्रिकामा विकास निर्माण तथा वातावरणीय मुद्दाका विभिन्न विषयमा समाचार छापिएका छन् ।
नागरिक
– आजको नागरिकमा देश र स्थानीय तहबीच समन्वय अभाव : करौडौंका योजना अन्योलमा शिर्षकमा भीम चापागाईंको समाचार छापिएको छ । १ नम्बर प्रदेश सरकारले इलाम नगरपालिकामा विभिन्न १६ आयोजना सञ्चालन गर्न चालू आर्थिक वर्षमा ३ करोड १२ लाख ५० हजार रुपैयाँ विनियोजन गर्यो। नगरपालिकालाई प्रदेशबाट कुन आयोजनाका लागि कति बजेट छुट्टिएको छ भन्नेसम्म थाहा छ। तर आर्थिक वर्ष सकिन करिब ५ महिना रहँदा नगरपालिकालाई यी आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन, ठेक्काप्रक्रिया र बजेट कार्यान्वयन कहिले हुने हो भन्ने केही जानकारी छैन।

‘नगरपालिका भित्रका सडक, भवन, खानेपानीलगायत झन्डै डेढ दर्जन आयोजनालाई चालू वर्षभित्र सवा ३ करोड रकम आउने सुनेका छौं,’ मेयर महेश बस्नेत भन्छन्, ‘तर न कुनै आयोजनाको अहिलेसम्म डिपिआर (विस्तृत आयोजना अध्ययन प्रतिवेदन) तयार भएको छ न त टेन्डर आह्वान नै, आयोजना कसले सञ्चालन गर्ने भन्नेसम्म थाहा छैन।’

त्यस्तै विद्यार्थीको सरसफाइ अभियान शिर्षकमा अर्को समाचार छापिएको छ। फोहोर व्यवस्थापनमा क्रियाशील राम्रो जोरपाटी, हाम्रो जोरपाटीले अभिभावकलाई चेतना दिनको लागि तीन कलेजका विद्यार्थीहरुलाई जोरपाटी सडकमा फालिएको फोहोर उठाउन लगाएको छ।

कुटुम्ब कलेज, जय मल्टिपल कलेज र इस्टकोल कलेजका विद्यार्थीलाई बुधबार बिहान फोहोर व्यवस्थापन गर्न लगाइएको हो। संस्थाका महासचिव रामकृष्ण बरालले अभिभावकलाई जथाभावी सडकमा फोहोर फाल्न नदिनको लागि विद्यार्थीहरुलाई फोहोर व्यवस्थापनमा सहभागी गराइएको बताए।

कान्तिपुर
–आजको कान्तिपुरमा मुस्लोभित्र सहर शिर्षकमा समाचार छापिएको छ। के पैदलयात्री, के सवारी प्रयोगकर्ता, सडकमा निस्कने सबैलाई काठमाडौंले धूवाँ र धूलोको कुहिरीमण्डलले स्वागत गर्छ। धूलो र धूवाँको मुस्लोले सडकमा हिँड्न सकिँदैन । धूलो छेक्न बिहान लगाइएको मास्क साँझ कालो बन्छ ।

यो समस्या घट्नुको साटो बढिरहेको छ । प्रदूषणले काठमाडौं गाँजिँदै गएको कुरा पटकपटक उठे पनि दिगो रूपमा यसको समाधान हुन सकेको छैन । बिग्रे–भत्केका सडक, थोत्रा गाडी र कम गुणस्तरको तेलको समिश्रणले सहरलाई धूवाँको चिम्नीमा परिणत गरिरहेको वातावरणविद् बताउँछन् ।

अन्नपूर्ण पोस्ट
–आजको अन्नपूर्ण पोस्टमा विद्युत विधेयक प्रदेशसभामा शिर्षकमा समाचार छापिएको छ । प्रदेश १ सरकारले विद्युत् उत्पादन, व्यवस्थापन र वितरणका लागि कानुन बनाउन प्रक्रिया अघि बढाएको छ। प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले विद्युत्सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक २०७५ बुधबार प्रदेशसभा बैठकमा पेश गरे।

विधेयकमा दुई सय मेगावाटसम्मको विद्युत् आयोजनालाई सञ्चालन अनुमति प्रदेश सरकारले नै दिन सक्ने व्यवस्था छ। विद्युत् आयोजना निर्माण गर्न, त्यसको सर्भेक्षण गर्न, उत्पादन अनुमति दिन, प्रशारण लाइन विस्तार गर्न र विद्युत् वितरण गर्न सक्नेसम्मको व्यवस्था भएको विधेयक संसद्मा दर्ता भएको हो।

विद्युत् आयात निर्यातसम्मको व्यवस्था गरिएको विधेयकमा प्रदेश सरकारले विद्युत् विकास इकाइमार्फत विद्युत् उत्पादन, प्रशारण र वितरणको काम गर्ने उल्लेख छ। विधेयकमाथि बुधबार नै सामान्य छलफल भएको छ। छलफलका लागि १० मिनेट संसद् बैठक पनि स्थगित गरिएको थियो। सांसदहरूले भने विधेयकलाई दफावार छलफलका लागि पठाउनु पर्ने सुझाव दिएका छन्।

नयाँ पत्रिका
–आजको नयाँ पत्रिकामा उद्धार गरिएका वन्यजन्तुबाटै चिडियाखानाको झल्को शिर्षकमा गोविन्द सुवेदीको समाचार छापिएको छ । उद्धार गरिएका वन्यजन्तु र चराचुरुंगी राखिएको पोखराको पचभैयास्थित निर्माणाधीन जुलोजिकल पार्कले चिडियाखानाको झल्को दिन थालेको छ । उद्धार गरिएका मृग, नीलगाई, अजिंगर, लाटोकोसेरो, चितल, मृग, चील, हुचिल, खरायो, गिद्ध र बाँदरलगायत जीवजन्तुले चिडियाखानामा राखिएका जनवारले जस्तै हाउभाउ देखाउँदा जुलोजिकल पार्क पुग्ने जोकोही पनि झुक्किने गरेका छन् ।

जुलोजिकल पार्कका अध्यक्ष हिमालय बख्रेलले उद्धार गरिएका पक्षी र जनवारलाई बिस्तारै जंगलमा छोडिने बताए । घाइते भएका कतिपय पक्षी र जनवारको उपचार भइरहेको र ठीक भएपछि जंगलमा छोड्ने उनले बताए ।

ताजा समाचार

सम्बन्धित समाचार