काठमाडौँ –आजका पत्रपत्रिकामा विकास निर्माण तथा वातावरणीय मुद्दाका विभिन्न विषयमा समाचार छापिएका छन् ।
नयाँ पत्रिका
–आजको नयाँ पत्रिकामा इन्द्रावती नदीको दोहन शिर्षकमा इन्द्रबहादुर थापा र रामकृष्ण थापाको समाचार छापिएको छ । काभ्रेको भुम्लु गाउँपालिका–९ ज्याम्दी र सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–११ साँगाचोक भएर बग्ने इन्द्रावती नदीमा अवैध तरिकाले प्राकृतिक स्रोतको दोहन भइरहेको छ । तर, यसप्रति सरोकारवाला निकाय मौन बसेका छन् ।
राज्यको मापदण्डविपरीत क्रसर, बालुवा, रोडा, ढुंगाखानी सञ्चालन गर्ने व्यवसायीहरूले आर्थिक चलखेल गरी प्रशासनको मुख टालेको स्थानीयले गम्भीर आरोप लगाएका छन् । कहिलेकाहीँ अनुगमन हुने गरे पनि व्यवसायीहरूले अवैध उत्खनन गर्न भने रोकेका छैनन् ।
समाचारपत्र
–आजको समाचारपत्रमा हिउँ खाएर बाँच्छन् मनाङका चौरी शिर्षकमा थेतेन लामाको समाचार छापिएको छ। चिसो बढेसँगै मनाङका मानिसहरू चिसो छल्न चिल्ला बाहिर जाने गर्छन्। याकचौरी, भेडा च्यांग्राका गोठहरू तल बेसीतिर झार्ने परम्परा भए पनि याक चौँरीलाई भने चिसो हावापानी नै चाहिन्छ । हिमालको काखमा रहेर हिमाली जडिबुटीले आफ्नो पेट भर्ने यी याक चौरीहरू अहिले हिउँ खाएर बाँच्न विवश देखिन्छन्।
राजधानी
–आजको राजधानीमा उपत्यकाका खानेपानीमा आउन थाल्यो ढल शिर्षकमा कौशिला कुँवरको समाचार छापिएको छ। काठमाडौं उपत्यका खानेपानी लिमिटेडले राजधानीमा वितरण गर्दै आएको खानेपानीमा ढल आउन थालेको छ।
उपभोक्ताका अनुसार काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) को चरम लापर्बाहीका कारण खानेपानीमा ढल आउन थालेको हो । खानेपानी लिमिटेडले उपत्यकामा दैनिक करिब १३ करोड लिटर पानी वितरण गर्दै आइरहेको छ।
केयूकेएलले आपूर्ति गर्दै आएको मैतिदेवी, घट्टेकुलो, सामाखुसी, गोंगबु, माछापोखरी, नयाँबजार, महाराजगन्ज,बसुन्धरालगायतका अधिकांश ठाउँमा खानेपानीमा ढल मिसिएर आउन थालेको ती क्षेत्रका बासिन्दाको गुनासो छ । यी क्षेत्रमा हिउँदयाममा प्रायजसो खानेपानीमा ढल मिसिएर आउने गरेको उपभोक्ताको भनाइ छ ।
काठमाडौं उत्यकाका अधिकांश ठाउँमा साताको एक दिन मात्र पानी आउँछ ।
नागरिक
–आजको नागरिकमा ठेकेदारको मनपरी, नदीमै क्रसर उद्योग शिर्षकमा दिलबहादुर छत्याल र पुष्पराज जोशीको समाचार छापिएको छ ।कैलालीका स्थानीय तहले नियमित नियमन र अनुगमन नगर्दा नदीजन्य पदार्थको दोहन तीव्र रुपमा भइरहेको छ। स्थानीय तहले नदीजन्य पदार्थ उत्खननका लागि ठेकेदारलाई ठेक्का दिइसकेपछि नियमन र अनुगमन नगर्दा जथाभाबी दोहन बढेको हो।
जिल्लाका सानाठूला खोलामा ठेकेदारले मनपरी गरेको गुनासो आएपछि जिल्ला समन्वय समिति, कैलालीले स्थानीय तहलाई ढुंगागिटी र बालुवा उत्खनन अर्को व्यवस्था नभएसम्म नगर्न परिपत्र गरेको छ। ‘हामीले सबै स्थानीय तहका खोलाको अनुगमन ग(यौं,’ जिल्ला समन्वय समितिका संयोजक सूर्यबहादुर थापाले भने, ‘केही खोला तथा नदीमा जथाभाबी दोहन भएको छ।’