काठमाडौँ – आजका पत्रपत्रिकामा विकास निर्माण तथा वातावरणीय मुद्दाका विभिन्न विषयमा समाचार छापिएका छन्।
राजधानी
– आजको राजधानीमा वरुण नदीको अस्तित्व खतरामा शिर्षकमा भविन कार्कीको समाचार छापिएको छ। भोटखोला गाउँपालिकामा रहेको ऐतिहासिक धार्मिक महत्त्व बोकेको वरुण नदीबाट विद्युत उत्पादन गर्ने भएप्छि वरुण नदीको अस्तित्व खतरामा पर्ने भएको छ। मौलिक पहिचान बोकेको नदीको संरक्षण हुन नसक्नदा महत्त्व गुम्ने खतरा बढेको भन्दै स्थानीयले आपत्ति जनाएका छन्। वरुण नदीबाट १३२ मेगावाटको जलविद्युत् आयोजना निर्माण गर्न भन्दै सरकारी टोली वरुण पुगेको छ।
नागरिक
–आजको नागरिकमा सडक निर्माणले सिंगो बस्ती जोखिममा शिर्षकमा समाचार छापिएको छ । पहिरोको जोखिममा रहेको बस्तीभन्दा माथिबाट सडक निर्माण थालिएपछि दिक्तेल–रूपाकोट–मझुवागढी नगरपालिका–१० पाथेकाका स्थानीयले आपत्ति जनाएका छन्। वडा कार्यालयको सिफारिसमा नगरपालिकाले छुट्ट्याएको बजेटबाट साबिकको पाथेका गाविस–७ दम्दीभन्दा माथिबाट भागु–स्वाजुङ सडक निर्माण सुरु गरिएपछि स्थानीयले तत्काल सो सडक निर्माण रोक्न माग गर्दै विरोध जनाएका छन्। दम्दी प्राकृतिक प्रकोपको उच्च जोखिम रहेको सूचीमा छ।
भूकम्पका कारण धाँजा फाटेको हात्तीसुँढे भीर र त्यसमुनिको पाखामा रहेको वरको फेदमा अल्झिएर रहेका ठूला ढुंगा बस्तीमा खस्ने जोखिमका बीच आफूहरू बसिरहेको दम्दीवासीले बताए। त्यहाँबाट सडक निर्माण रोकेर वैकल्पिक बाटोको खोजी गर्न भन्दै उनीहरूले दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका र जिल्ला प्रशासन कार्यालयसमक्ष निवेदन दिएका छन्। सडक निर्माण कार्य रोक्न माघ ८ गते वडा कार्यालयमा निवेदन दिइए पनि काम नरोकिएपछि स्थानीय नगरपालिका र प्रशासनसमक्ष गुहार माग्न पुग्नुपरेको दम्दीका शिक्षक टंक राईले बताए। वडासमक्ष गरिएको आग्रहलाई बेवास्ता गर्दै जोखिमयुक्त क्षेत्रबाट सडक निर्माण कार्यलाई निरन्तरता दिइएको भन्दै स्थानीय आक्रोशित बनेका छन्।
अन्नपूर्ण पोस्ट
–आजको अन्नपूर्ण पोस्टमा २५ करोडको मल खोई ? शिषकमा राजेश बर्माको समाचार छापिएको छ । सरकारी अनुदानको मल मात्रै कारोबार गर्ने कृषि सामग्री कम्पनीले २५ करोड मूल्यबराबरको मल गायब पारेको खुलेको छ। सरकारी स्वामित्वकै कम्पनीले युरिया र डीएपी मल गुपचुप पारेपछि खोजीको विषय बनेको छ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले गत आर्थिक वर्ष २०७३।७४ मा कृषि सामग्रीलाई २५ करोड मूल्यबराबरको रसायनिक मल किसानलाई उपलब्ध गराउन रकम निकासा गरेको थियो। त्यस्तै प्रांगारिक मल खरिद गर्न १५ करोड रूपैयाँ उपलब्ध गराएको थियो।
त्यस्तै वर्षा र चिसोले बढायो प्रदूषण शिर्षकमा छेटु शेर्पाको समाचार छापिएको छ । विहीबार बिहान ६ बजे ९० माइक्रोग्राम घनमिटरदेखि शुरु भएको वायू प्रदूषण ११ बजेसम्म एक सय ८० पुग्यो । यस्तो वायुलाई मास्कले समेत नथेग्ने स्वास्थ्यकर्मी बताउँछन् । स्वास्थ्यका लागि समेत यो जोखिमयुक्त रहेको उनीहरूको भनाइ छ ।
विहानको तापक्रम ५ डिग्री सेल्सियस थियो । वर्षा भएपछि तापक्रम कम हुँदा वायू प्रदूषण झन् बढ्दै गएको छ । २.५ पीएम धूलोका कणको राष्ट्रिय मापदण्ड ४० माइक्रोग्राम घनमिटर हो । तर एक सय ५० पुग्दा उपत्यकावासीको दैनिकी कष्टकर बन्दै गएको तथ्यांकले देखाएको छ ।
नेपाल समाचापत्र
–आजको समाचारपत्रमा पश्चिमी वायुले फेरि मौसम गडबढ शिर्षकमा समाचार छापिएको छ । युरोपेली वायुको प्रभावका कारण पुनः देशैभरिको मौसम प्रभावित भएको छ। बुधबार नेपाल भित्रिएको जलवाष्पयुक्त वायुको प्रभावले हल्का वर्षा र हिमपात दोहोरिएपछि फेरि चिसो बढेको छ।
आज शुक्रबार र भोलि शनिबार पनि यस्तै प्रभाव यथावत् रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। शुक्रबार काठमाडौंको मौसम केही खुला भए पनि पूर्णरूपमा नखुल्ने र अन्यत्रको मौसम पनि दिनभरजसो प्रभावित रहने महाशाखाका मौसमविद् वरुण पौडेलले बताए।
अहिलेको मौसमी प्रणाली गत साताको जस्तो प्रभावकारी र निरन्तर झरी गराउने प्रकृतिको नभए पनि मौसम भने प्रभावित बन्ने उनले जानकारी दिए। पौडेलले शुक्रबार साँझ भने– ‘देशैभरको मौसम धुम्मिएर पश्चिमी पहाडी र अन्य हिमाली भेगमा हिमपात र वर्षासमेत हुनेछ, तराईका भू–भाग केही सफा भए पनि पूर्वी पहाडी भेगको मौसम पूर्णरूपमा खुल्दैन।’