काठमाडौँ – आजका पत्रपत्रिकामा विकास निर्माण तथा वातावरणीय मुद्दाका विभिन्न विषयमा समाचार छापिएका छन्।
राजधानी
–आजको राजधानीमा मुलुकभरका २८ ठूला सडक असुरक्षित शिर्षकमा कमला अर्यालको समाचार छापिएको छ । पछिल्लो समय सडक असुरक्षित बन्दै गइरहेका छन् । सरकारको पछिल्लो तथ्यांकअनुसार हाल मुलकभरका २८ वटा ठूला सडक असुरक्षित देखिएका छन्।
सडक विभागको पछिल्लो तथ्यांकअनुसार आर्थिक वर्ष २०७४र७५ मा ८ वटा, २०७३र७४ मा ५ वटा, आव २०७२र७३ मा ६ वटा र आव २०७१र७२ मा ९ वटा ठूला सडक असुरक्षित रहेको पाइएको छ । सडक दुर्घटनामा मात्रै वार्षिक २ हजारको मृत्यु हुन थालेपछि सरकारले असुरक्षित सडकको पहिचान गर्न थालेको हो ।
बढी दुर्घटना हुन सक्ने सडकको पहिचान गरी ती सडकलाई असुरक्षित सडकका रूपमा राखिएको सडक विभागले जनाएको छ । सरकारले पछिल्लो समयमा विभिन्न आठवटा सडकलाई बढी दुर्घटना हुने सम्भावित सडकका रूपमा पहिचान गरेको छ।
अन्नपूर्ण पोस्ट
–आजको अन्नपूर्ण पोस्टमा सरकारी जग्गामा रजाइँ शिर्षकमा विष्णुप्रसाद देवकोटाको समाचार छापिएको छ। तीसको दशकमा सरकारले कञ्चनपुरको महेन्द्रनगर बजारलाई व्यवस्थित सहर बनाउने दिर्घकालीन गुरुयोजना ल्यायो। त्यो कार्ययोजना लागू गर्न सरकारले महेन्द्रनगर नगर विकास समिति गठन गर्यो। योजनाअनुसार तयार पारिएको महेन्द्रनगर बजार देशकै १० व्यवस्थित सहरमध्ये एक थियो।
सुरुमा गुरुयोजना अनुसार नै विकास र विस्तार कार्य अघि बढ्यो। तर पछिपछि गुरुयोजना लत्याएर सहरमा जथाभावी संरचना बन्न थाले। पछिल्लो एक दशकमा त सार्वजनिक जमिन अतिक्रमण गरेर संरचना बनाइएको छ। अहिले त सहरको स्वरुप र सौन्दर्य नै बिग्रिन थालिसकेको छ। सरकारी स्वामित्वमा रहेको जमिन नै मासिने गरी मापदण्ड विपरीत अवैध सयौं पक्की संरचना बनेका छन्। गुरुयोजना मिचिएको छ।
नेपाल समाचारपत्र
–आजको समाचारपत्रमा कोटेश्वर–कलंकी सडक अधुरै हस्तान्तरण शिर्षकमा सुरेश तामाङको समाचार छापिएको छ । चीन सरकारको आर्थिक र प्राविधिक सहयोगमा २७ किलोमिटर चक्रपथको कोटेश्वर–सातदोबाटो–कलंकी साढे १० किलोमिटर सडक खण्डको काम सम्पन्न भएको भन्दै चीनले नेपाललाई हस्तान्तरण गरेको छ।
उक्त खण्डमा सडक र कलंकीमा नेपालमै पहिलो अन्डर पास बनाएर सम्पन्न गरे पनि सडक सुरक्षा, बस स्टेशन, जेब्रा क्रसिङ, डिभाइडरलगायतको पूर्वाधार अझै पूरा भइसकेको छैन।
सडक विभागले भने चिनियाँ पक्षले निर्माण गर्नुपर्ने सम्पूर्ण काम सम्पन्न गरिसकेको दाबी गरिरहेको छ। विभागका महानिर्देशक रवीन्द्रनाथ श्रेष्ठले चिनियाँ पक्षले बनाउनुपर्ने सबै संरचना सम्पन्न गरिसकेको दाबी गरेका छन्।
कान्तिपुर
–आजको कान्तिपुरमा सबैको प्यारो धारो शिर्षकमा गिरुप्रसाद भण्डारीको समाचार छापिएको छ । लाली घर्तीले डोकामा पानी बोक्न थालेको ५५ वर्ष भयो । पानी जोहो गर्न डोको र नाम्लोकै भर छ । झिसमिसेमा उठेर डोकोमा रित्तो गाग्री राखेर पँधेरोमा पुग्छिन् । पुग्नेबित्तिकै पालो पाइँदैन । एक घण्टा टाढाबाट एक गाग्री पानी ल्याएपछि मात्र उनी बाँकी काम थाल्छिन् ।
‘बिहे भएर यहाँ आएदेखि पानी बोक्न छुटेको छैन,’ ७३ वर्षीया लाली भन्छिन् । प्यूठान मल्लरानी गाउँपालिका–२ रातीपोखरी, साविकको चुजा गाविस १, ८ र ९ वडाका २ सय ७० घरधुरी एउटै पँधेरोमा निर्भर छन् ।
‘सबैले पानी भर्ने एउटै पँधेरो हो । सधैं भीड हुन्छ,’ लालीले भनिन्, ‘पालो कुरेर एक गाग्री पानी घरमा ल्याउन एक घण्टाभन्दा बढी समय लाग्छ ।’
स्थानीयवासीको मुख्य समस्या पानी हो । नेताहरूले चुनावका बेला घरघरमा पानीका धाराको आश्वासन पछिल्लोपल्ट पनि दिए । चुजा, रातीपोखरी, टाकुरी बस्तीका बासिन्दाले पानीको दुस्ख पार्टीसँग बिसाउन छाडेका छैनन् । त्यही भएर पार्टी पनि बदल्ने गरेका छन् । पानीकै कारण चारवटा पार्टी फेरिसकेको स्थानीय कृष्ण सार्कीले खुलाए । ‘पानी ल्याइदिन्छु भन्नेलाई हरेकपल्ट भोट हाल्दाहाल्दा चारपल्ट चिह्न बदलिसक्यौं,’ उनले भने ।
गाउँमा पानीमात्र नआएको हो, माध्यमिक विद्यालय, मोटरबाटो, बिजुली आइसक्यो । तर पानी नहुँदा बस्तीमा मुख्य कुरै भएन । मोटरबाटो निर्माणका क्रममा पँधेरो पुरिएकाले पानी सानो झन् सानो हुँदै गएको छ । मोटरबाटो आयो पानी गयो भनेजस्तो भएको छ ।