काठमाडौँ –आजका पत्रपत्रिकामा विकास निर्माण तथा वातावरणीय मुद्दाका विभिन्न विषयमा समाचार छापिएका छन् ।
कान्तिपुर
–आजको कान्तिपुरमा हाँस आएनन्, माछा जोगिए शिर्षकमा प्रताप विष्टको समाचार छापिएको छ । साइबेरियन हाँस बथानै आउँथे । पोखरीभित्र १० मिनेटसम्म बसेर माछा मार्थे । हेरालुले ढ्याङ्ग्रो ठोकेर कराउँदा पनि पोखरीमा एकैचोटि डुबुल्की मारेर सिकार गर्थे ।
एक दशकदेखि पल्किएका हाँसका कारण माछा जोगाउनै कठिन भएपछि हेटौंडा उपहानगरपालिका–५ पिप्लेस्थितमत्स्य विकास केन्द्रका कर्मचारी हैरान थिए । यो वर्ष जाडामा भने ती हाँस आएनन् । अब चाहिँ माछा जोगिने भए भनेर केन्द्रका कर्मचारी ढुक्क छन् । कात्तिक मध्यतिर १०–१५ वटा साइबेरियन हाँस देखा परे । त्यसपछि हराए । माछा जोगाउन उनीहरूलाई धपाउने टन्टा भएन ।
नागरिक
–आजको नागरिकमा कटिङले पहिरोको जोखिम शिर्षकमा वसन्त खड्काकाे समाचार छापिएकाे छ । काठमाडौं – नेपाली सेनाले निर्माण गरिरहेको काठमाडौं तराई फास्टट्रयाक (द्रुतमाग) को विस्तारका लागि अहिलेकै डिजाइनमा जमिन कटिङ गर्दा पहिरोको जोखिम हुने देखिएको छ।
काठमाडौंदेखि निजगढसम्मको ७६ किलोमिटर लामो सडक खण्ड विस्तारका लागि अहिलेकै डिजाइनअनुसार कटिङ गर्दा पहिरोको जोखिम हुने भन्दै अतिरिक्त जग्गा आवश्यक पर्ने जनाइएको छ। राष्ट्रिय विकास समस्या समाधान समितिको ४४ औं बैठकमा फास्ट ट्रयाक निर्माणका चुनौती प्रस्तुत गर्दैै सडक निर्माणको दायाँतर्फ थप जग्गा आवश्यक पर्ने जनाइएको छ।
नेपाल समाचारपत्र
–आजको समाचारपत्रमा करोडौँ खर्चमा बनेको मौसमी राडार प्रयोगविहीन शिर्षकमा प्रकाश पन्तको समाचार छापिएको छ । जल तथा मौसमसम्बन्धी पूर्वसूचना दिनका लागि सुर्खेतमा स्थापना भएको नेपालकै पहिलो मौसमी राडार केन्द्र प्रयोगविहीन भएको छ । सरकारले वीरेन्द्रनगरमा रहेको मध्य तथा सुदूरपश्चिमाञ्चल क्षेत्रीय हावापानी कार्यालय कोहलपुर सार्ने निर्णय गरेपछि राडार प्रयोगविहीन भएको हो ।
त्यस्तै फेवाताल संरक्षण अभियानः महानगरले शुरु गर्यो माटो निकाल्ने काम शिर्षकमा विजय नेपालीको समाचार छापिएको छ । लेखनाथ महानगरपालिकाले फेवातालको संरक्षण गर्नका लागि अभियान शुरू गरेको छ। सोमबारदेखि खहरे खोलाले ल्याएर तालमा जमेको माटो हटाउन थालिएको हो। करिब ४ रोपनी जग्गामा रहेको २० हजार घनमिटर माटो हटाउन लागिएको हो ।
फेवातल संरक्षणको लागि संघ, प्रदेश र स्थानीय सरकारको संयुक्त पहलमा कार्य अघि बढाउने गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङले बताए । ‘फेवाताल नेपालकै गहना हो। यसको संरक्षण गर्नु सरकारको दायित्व हो, सर्वोच्च अदालतले गरेको फैसला कार्यान्वयन गर्नेपर्ने हामीलाई बाध्यता छ। यसले तालको आकार पनि बढ्छ र ताल संरक्षण पनि हुन्छ’ –उनले भने।
अन्नपूर्ण पोस्ट
–आजको अन्नपूर्णमा अरुण तेश्रोमा ६ हजार रुख काटिए शिर्षकमा अनिष विष्टको समाचार छापिएको छ । निर्माणाधीन बहुप्रतिक्षित अरुण तेश्रो जलविद्युत परियोजना निर्माणका लागि संखुवासभामा ६ हजार रुख काटिएका छन् । मकालु गाउँपालिका ५ फ्याक्सिन्दामा ड्याम साइड र चिचिला गाउँपालिकाको पुखुवा पावर हाउस निर्माणस्थलका रुख काटिएको जिल्ला वन कार्यालय संखुवासभाका सहायक वन अधिकृत हेमन्त पराजुलीले जानकारी दिए ।