नमोबुद्घ (काभ्रे), १९ चैत – स्थानीय सिता दाहाल केही महिनाअघि मात्रै बेसी झरेकी थिइन् । उनी बेसी झर्नु र उनको घरको छेउमा इटाभट्टा खोलिनु संगसँगै भयो ।
एक वर्ष नपुग्दै दाहाल यस ठाउँमा वस्न नसक्ने गरि आत्तिएकी छन् । ‘इटा भट्टाले गाडी धेरै गुड्ने, छारो, धुवाँ धुलो, त्यसको प्रभावले श्वासप्रश्वासमा सार्है प्रभाव पार्ने के’, उनले भनिन्, ‘बालबच्चादेखि बृद्धहरुलाई धेरै गार्हो बनाएको छ । पाँच वर्ष कसरी कुर्ने हामीलाई सार्है शंका भैसक्यो । ’
भकुण्डेबेसीमा खोलिएका इटाभट्टाको प्रभाव मानव हुँदै घरपालुवा जनावरमा पनि पर्न गएको छ । खनालथोक बस्ने कृषक लिलाप्रसाद खनाल पनि यस्तै समस्याबाट पीडित छन् । खनाल भन्छन्, ‘धुलो धुवाँले गर्दा समस्या भइरहेछ । बस्तुले घाँस नखाने, घुरान नखाने भएको छ । यस्ता समस्याको विषयमा कोही बोल्दैनन् । बोल्ने मान्छेपनि कोही छैनन् ।’
नमोबुद्ध नगरपालिका, भकुण्डेबेसीमा रहेका इटाभट्टाले निकाल्ने धुलो, धुवाँ र आवाजले स्थानीयको दैनिक जीवन अस्तव्यस्त भएको छ । सानो क्षेत्रफलमा अवस्थित भकुण्डेबेसीमा वर्षौंदेखि चल्दै आएका इट्टाभट्टाबाट आउने धुलो धँुवाले स्थानीयको स्वास्थ्य, शिक्षा, सुरक्षा, आर्थिक जस्ता हरेक विषयमा नकारात्मक प्रभाव परेको देखिन्छ ।
स्थानीयको गुनासो पनि किन नबढोस ? चौविसै घण्टा चल्ने परम्परागत प्रविधिका ८ वटा इट्टा भट्टाले मानव स्वास्थ्यमा मात्र नभई यसले जैविक विविधता, खेतीपाती र जमिनको उर्वरामा समेतमा ह«ास ल्याएको छ ।
स्थानीय चिनिमैया दाहालले गाइबस्तुलाई घाँस काटेर खुवाउनै नपाएको गुनासो गरिन् । उनले भनिन्, ‘धुलो लागेको घाँँस बस्तुलाई खुवाउँदा वस्तुलाई रोग लागेको छ । मान्छेलाई सँगै गाइवस्तुलाई उपचार गर्नुपरेको छ । यता स्वास्थ्य विग्रेको छ उता खर्च पनि बढेको छ ।’
सानो क्षेत्रमा रहेका ८ वटा इटाभट्टाबाट निस्कने धुलो धुवाँ नियमति खेप्नुपर्दा अस्पतालमा पनि विरामीको संख्या बढ्दो छ । नमोबुद्ध नगरपालिकाको जनसंख्या २१ हजार ३२४ रहेको छ ।
मेथिनकोट अस्पतालकी डा. अस्मिता हुमागाईले अस्पतालमा दैनिक जसो ७० देखि १०० जना विरामी आइरहेको जानकारी दिइन । ‘प्रायः श्वासप्रश्वासका बिरामी हुन्छन’,उनले भनिन ।
हुमागाईले भनिन्,‘यहाँ विरामीको समस्या हेर्दा प्रदुषणनै कारण होला जस्तो छ । आउने विरामी पनि त्यही इटाभट्टा प्रभावित क्षेत्रका बढी हुनुहुन्छ । ’
इट्टाभट्टाबाट विद्यालयका शिक्षक र विद्यार्थी पनि प्रभावित छन् । स्वास्थ्य समस्याले विद्यार्थी पढ्नमा नियमित नहुने शिक्षकको गुनासो छ ।
जनक माध्यमिक विद्यालय व्यवस्थापन समिति अध्यक्ष्य भरतबहादुर दाहाल भन्छन्, ‘इट्टा भट्टाको प्रदुषण धेरै बढ्न थाल्यो । यसले विद्यार्थी र शिक्षकको स्वास्प्रश्वास समस्या बढ्न थालेको छ । बच्चा स्कुल नआउने धेरै गयल हुने समस्या बढ्दै गएको छ । ’
केही पैसाका लागि कलिला बच्चाहरु पढ्न छाडेर इट्टाभट्टामा जाने प्रवृति पनि बढेको छ । यसले बालबालिकाको भविष्यमा कस्तो असर पर्ला ? यस्तो विसंगतीले स्थानीय चिन्तित छन् ।
नमोबुद्ध बाल सञ्जालका पुर्व अध्यक्ष लक्ष्मिराज चिमोरियाले भट्टाका बच्चाहरुको कारण गाउँकाबच्चा पनि श्रममा जाने प्रवृति बढेको बताए ।
भकुण्डेबेसीमा रहेका इट्टाभट्टामा ४ हजार भन्दा बढी जनशक्ति दैनिक काम गर्छन् । चौविस घण्टा काम गर्दा उनीहरुको हल्ला र मेसिनको आवाजले स्थानीयलाई ध्वनि प्रदुषण पनि खपिनसक्नु भएको स्थानीयको गुनासो छ ।
नमोबुद्ध उद्योग बाणिज्य संघका अध्यक्ष बसु नारायण श्रेष्ठले भने, ‘अहिले त के सम्मको प्रभाव पर्यो भने धुवाँ धुलो त छँदै छ, ध्वनी प्रदुषण पनि सहिनसक्नु भएको छ । विहान १ बजे क्यासेट लगाएर डिस्टर्व गर्छन् । कसरी सुत्ने? नजिकका स्थानीयलाई झन् कति डिस्टर्व होला?’
यस्ता उद्योगहरुबाट निस्कने सल्फरडाइअक्साइड, नाइट्रोअक्साइड जस्ता तत्वहरु वायुमा मिल्न गई जलवायु परिवर्तन, ओजन तह पातलिने जस्ता समस्या बढ्दै गएको विज्ञहरु बताउँछन् ।
इट्टाभट्टाको अर्को असर उक्त ठाउँमा पानीका मुहान र स्रोतहरु सुक्न थालेका छन् ।
स्थानीय चिनिमैया दाहालले आफुहरुलाई अहिलेको पानीले नपुगेको बताइन् । उनले भनिन्, ‘हामीले पहिला त भरिएको इनारबाट पानी झिक्थ्यौं, तर अहिले पानी ठ्याक्कै सुक्यो । इट्टाभट्टामा बोरिङ धेरै खनेर हो की? ’
यस विषयमा सरोकारवालाको पनि ध्यानाकर्षण भएको छ । वडा ३ का अध्यक्ष रामशरण हुमागाइले ८ वटा भट्टामा गरेको बोरिङबाट पानी निकाल्दा यसको असर पल्लो बस्तीमा मुहानमा परेको छ ।
उनले भने, ‘पानीका बोरिङ धमाधम खुल्दा, स्थानीयहरु पानीको पहुँचमा पुग्न सकेका छैनन् । पानी आउने ठाउँमा पनि पानीको हाहाकार भैसक्यो । यसको दीर्घकालिन प्रभाव त कल्पना पनि गर्न सकिन्न । ’
इटाभट्टाको कारण स्थानीयको स्वास्थ्यमा प्रतिकुल असर पारिरहँदा भने इट्टाभट्टा सञ्चालकहरुले आफ्नो उद्योगको व्यवस्थापन गर्न सकेका छैनन । इ्टाभट्टामा काम गर्ने कामदारको स्वास्थ्य, वरपरको वातावरण, धुलो धुवाँ नियन्त्रण जस्ता कुनै कुरामा सञ्चालकहरुले ध्यान दिएका छैनन् । यसले काम गर्ने कामदार, उनीहरुको बच्चा आदिले पनि दैनिक धुलो धुवाँ खानुपर्ने बाध्यता छ ।
इट्टाभट्टाबाट निस्कने धुलो धुवाँ सम्बन्धी मापदण्ड २०६४ लागू गरिएको छ । तर यो मापदण्ड कही पनि कार्यान्वन भएको छैन ।
इटा भट्टा व्यवसायी राम कुमार मैनालीले यो व्यवसायमा ४० प्रतिशत असर भएपनि ६० प्रतिशत फाइदा भएको बताए । उनले भने, ‘अब इटाभट्टाले असर त गरिहाल्छ नी । तर के गर्नु असर भन्दा फाइदा बढी छ । ’
तर उनी नगरपालिकाले निश्चित मापदण्ड ल्याएर सहकार्य गरे आफुहरु तयार हुने बताए ।
११ वडा भएको नगपालिकामा २ र ३ नम्बर वडामा ८ वटा इटाभट्टा छन् ।
नमोबुद्ध नगरपालिकाका नगरप्रमुख टंकप्रसाद शर्मा भने इट्टाभट्टा नै बस्तीबाट हटाउने पक्षमा छन् । उनले मापदण्ड विपरित सञ्चालनमा आएका यस्ता भट्टाहरुलाई विस्थापित गरेर सुन्दर हरियाली नगर बनाउने सपना देखेका छन् । उनले भने, ‘यस क्षेत्रमा जति पनि इट्टाभट्टा छन् , यसले जनजीवन सहित शहरको सुन्दरता नै विगारिदिएको छ । अब यी सबै भट्टाहरु हटाएर सुन्दर भकुण्डेवेसी बनाउनेछु । ’
उनले साँझमा भकुण्डेबेसी झट्ट हेर्दा झिलिमिली र उज्यालो देख्दा लोडसेडिङमुक्त उपत्यका जस्तो लागेपनि यसको वास्तविकता अर्कै भएको बताए । १ हजार रोपनी भन्दा बढी जग्गा सञ्चालन भइरहेको इट्टाभट्टाले भकुण्डेबेसीको सुन्दरतालाई कुरुपतामा बदलदिएको बताउँदै उनले यसको जरा नै उखेल्न वाचा पनि गरे ।
व्यापक जनगुनासो बढेपछि नगर प्रमुख शर्माले अब इटाभट्टा उद्योगलाई नविकरण नगर्ने निर्णय गरेको बताए ।
नगर प्रमुखको सपनालाई साथ दिन अहिले स्थानीय, कृषक, जग्गादाता, सामाजिक अभियान्ता सबै तयार छन् । तर राज्यबाट अनुमति लिएर वस्तीको विचमा सुरु भएको इटाभट्टाको विरोधमा स्थानीय खुलेर उत्रिन सकेका छैनन् । घर बनाउन इट्टा पनि चाहिने भएको प्रदुषणलाई खेपी रहेको एम्बुलेन्स चालक गणेशप्रसाद धितालले बताए ।
इट्टाभट्टाबाट निस्कने विभिन्न रासायनिक तत्वको समिश्रणलाई पिएम अर्थात पार्टिकुलर म्याटर भनिन्छ । १० पिएम भन्दा कम मात्राका कण मानिसको स्वासप्रश्वास मार्फत सिधै शरीरभित्र पुग्ने र यसले मुटु, फोक्सो, मृगौला, आँखा आदिमा प्रत्यक्ष असर गर्ने चिकित्सकहरुले बताउँदै आएका छन् ।
यसको असरबाट बच्न र स्वच्छ सुन्दर नगर बनाउन अब नगरपालिकाले नै पहलदायी कदम चाल्नुपर्ने स्थानीयहरुको माग छ ।
रिपोर्ट/ तस्बीरः बिद्या राजपुत