Sunday, November 17, 2024

भारताल वन क्षेत्रमा साझेदारी कार्यक्रम लागू

अत्तरिया – कैलालीको राष्ट्रिय वन भारताल वन क्षेत्रमा साझेदारी कार्यक्रमअन्तर्गत वैज्ञानिक वन व्यवस्थापन लागू भएको छ। झण्डै दुई हजार ६५३ हेक्टर क्षेत्रफलमा फैलिएको भारताल वन क्षेत्रलाई समुदाय स्तरमा लगेर संरक्षण गर्ने उद्देश्यले साझेदारी कार्यक्रमअन्तर्गत वैज्ञानिक वन व्यवस्थापन लागू गरिएको हो।

एकतीस सामुदायिक वनले घेरिएको भारताल वन क्षेत्रलाई साझेदारी कार्यक्रमअन्तर्गत लैजाने पहल २०७० सालबाटै शुरु भएको डिभिजन वन कैलालीका सहायक वन अधिकृत भीम ढकालले बताए। राष्ट्रिय वन क्षेत्रमा फँडानी र काठ चोरी तस्करी बढी हुने गरेकाले भारतालमा साझेदारी वन व्यवस्थापनको १० वर्षे कार्ययोजना तयार गरिएको ढकालले जानकारी दिए।

भारताल वनमा पुराना बूढा सालका रूख रहेको र काँटछाँट गरी नयाँ सालको जङ्गल हुर्काउने वैज्ञानिक वन व्यवस्थापन विधिलाई साझेदारी कार्यक्रमका माध्यमबाट लागू गरिएको उनले बताए। यसबाट सरकार र स्थानीय उपभोक्ताले वार्षिक करोडौँको आम्दानी गर्ने छन् भने पुरानो जीर्ण अवस्थाको वनमा पुनः उत्पादन भई नयाँ वन क्षेत्रको विकास हुनेछ।

पछिल्लो समय कैलालीमा दिनदहाडै काठ चोरी तस्करी भइरहेकाले भारताल वन स्थानीय उपभोक्ताकै संरक्षणमा लैजानुको विकल्प थिएन। साझेदारी कार्यक्रमअन्तर्गत सालको ८० वर्षे बालीचक्रका आधारमा १० वर्षे पुनः उत्पादन कार्ययोजना शुरु भएको छ।

पहिलो चरणमा भारताल साझेदारी वैज्ञानिक वन व्यवस्थापनको १० वर्षे कार्ययोजना तयार भएको छ। जसअन्तर्गत सालको बालीचक्र ८० वर्षको हुने भएकाले आठ ‘प्लटिङ’मा वन क्षेत्र विभाजन गरिएको हुन्छ। प्रत्येक एक प्लटिङलाई १० भागमा पुनः विभाजन गरी पुनः उत्पादन गरिने जनाइएको छ।

कार्यालयका अनुसार कैलालीमा १९ सामुदायिक वन र दुई राष्ट्रिय वनमा वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम लागू भएको छ। सरकारले २०६० सालमा ल्याएको वनको साझेदारी व्यवस्थापन दिग्दर्शनको आधारमा साझेदारी कार्यक्रमको माध्यमले वैज्ञानिक वन व्यवस्थापनको नीति ल्याएको हो।

यसअघि कैलालीमा दुई हजार ५०० हेक्टर सालको बाह्रवन वनमा साझेदारी कार्यक्रम लागू गरिएको थियो। कैलालीको तराई र चुरे क्षेत्रमा दुई विधिबाट वैज्ञानिक वन व्यवस्थापनको काम अघि बढाइएको छ।

वैज्ञानिक वन व्यवस्थापनअन्तर्गत वन क्षेत्रमा रुखको नक्साङ्कन, रुखको वर्गीकरण, समयावधि पुगेका पुराना रुख कटान, अन्य रुख संरक्षण र कटान गर्ने स्थानमा नयाँ रुख रोपण गरिने कार्ययोजनामा उल्लेख छ। वैज्ञानिक वन व्यवस्थापनका लागि चक्रीय प्रणालीमा पुराना रुख काट्ने र नयाँ रुख रोप्ने काम सँगसँगै गरिनेछ।

हाल वैज्ञानिक वन व्यवस्थापनमा समाहित भएका १९ सामुदायिक वनबाट मात्रै वार्षिक पाँच लाख ६५ हजार ४६३ क्युफिट काठ उत्पादन हुने लक्ष्य राखिएको छ। सुदूरपश्चिम प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका अनुसार वैज्ञानिक वन व्यवस्थापनबाट वार्षिक एक हजार ४३० लाई प्रत्यक्ष रोजगारी तथा पाँच लाख ३२ हजारलाई दैनिक ज्यालादारीको रूपमा काम लगाउन सकिने छ। कैलालीका वनबाट वार्षिक रु तीन अर्ब आम्दानी गर्न सकिने एक अध्ययनले देखाएको छ।

कार्यालयको तथ्याङ्कअनुसार कैलालीमा ५४८ सामुदायिक वन दर्ता छन्। केही वन दर्ता हुने क्रममा रहेकाले ५५५ पुग्न सक्ने सहायक वन अधिकृत ढकालले बताए। दर्ता भएका सामुदायिक वनले ६० हजार हेक्टर क्षेत्रफल ओगटेका छन्।

कार्यालयका सू्चना अधिकारीसमेत रहेका ढकालले सामुदायिक वनका उपभोक्ता मात्रै एक लाख १९ हजार रहेको जानकारी गराए। उनले सामुदायिक, साझेदारी, राष्ट्रियलगायत वन गरी जिल्लामा सात लाख ६४ हजार उपभोक्ता रहेका छन्।

कैलालीमा कूल क्षेत्रफलको दुई लाख पाँच हजार ९३९ हेक्टर (६२ दशमलव ६८ प्रतिशत) वन क्षेत्र छ। जसअन्तर्गत तराई र भावर क्षेत्रमा एक हजार ९३१ वर्ग किलोमिटर (५९ दशमलव ७० प्रतिशत) र चुरे क्षेत्रमा एक हजार ३०३ दशमलव सात वर्ग किलोमिटर (४० दशमलव ३० प्रतिशत) वन क्षेत्र छ । मीन ठकुरी/रासस

ताजा समाचार

सम्बन्धित समाचार