काठमाडौँ –आजका पत्रपत्रिकामा विकास निर्माण तथा वातावरणीय मुद्दाका विभिन्न विषयमा समाचार छापिएका छन् ।
कान्तिपुर
– आजको कान्तिपुरमा दशकयताकै बाक्लो हिमपात शिर्षकमा समाचार छापिएको छ। सुदूरपश्चिमका पहाडी जिल्लामा सोमबार रातिदेखि बाक्लो हिमपात भएको छ । बझाङ, बाजुरा, डोटी, डडेलधुरा, बैतडी र दार्चुलाका उच्च लेकाली भेकमा हिमपात भएको छ । तराईका जिल्लामा भने वर्षा भएपछि किसान खुसी भएका छन् ।
दार्चुलामा व्यास र अपिहिमाल गाउँपालिकाका सबै क्षेत्र बाक्लो हिमपातले मंगलबार सेताम्मे भए । व्यासका व्यास, छाङरु, तिंकर, राप्ला, दुम्लिङ, सुन्सेरा, धौलाकोट, हुती, दुहु गाउँपालिकाका विभिन्न उच्च भागमा पनि हिमपात भएको सुन्सेराका मानसिंह कुँवरले जानकारी दिए ।
नागरिक
–आजको नागरिकमा पाटेबाघ संरक्षणमा चुनौती शिर्षकमा निर्मल घिमिरेको समाचार छापिएको छ ।बर्दिया राष्ट्रिय निकुञ्जको अम्रेनीस्थित नेपाली सेनाको सुरक्षा पोस्टदेखि तीन किलोमिटर उत्तर गत पुस २७ गते कारले ठक्कर दिँदा वयस्क पाटेबाघ घाइते भयो। दाँत झर्नुका साथ ढाडमा गम्भीर चोट लागेको उक्त बाघको उपचार निकुञ्जमा भइरहेको छ। निकुन्ज स्रोतका अनुसार बाघको अवस्था नाजुक छ।
उक्त घटनाको भोलिपल्टै अर्थात् पुस २८ गते पुनः निकुञ्जको मध्यवर्ती क्षेत्र गेरुवा गाउँपालिका–४ मा गाडेको अवस्थामा पाटेबाघ फेला पर्यो। निकुन्ज प्रशासनको प्रारम्भिक अनुसन्धानअनुसार वन्यजन्तु बस्तीमा पस्न सक्ने भन्दै स्थानीयले थापेको विद्युतीय धरापमा परेर उक्त बाघ मरेको देखिएको छ। बाघ मारेको आरोपमा स्थानीय चार जनालाई पक्राउ गरी निकुञ्ज प्रशासनले कानुनी प्रक्रिया अघि बढाएको छ। यसैगरी बाँके राष्ट्रिय निकुञ्जमा यही माघ ५ गते एउटा पाटे बाघ मरेको अवस्थामा फेला परेको छ। घटनाको अनुसन्धान भइरहेको निकुञ्जले जनाएको छ।
अन्नपूर्ण पोस्ट
–आजको अन्नपूर्ण पोस्टमा संकटमा चरा शिर्षकमा समाचार छापिएको छ । आहारा र वासस्थान असुरक्षाका कारण संरक्षण सूचीमा रहेका चरा संकटमा परेका छन्। पानी र जमिनमा आश्रित दुवै प्रजातिका चरा लोप हुने जोखिममा छन्। चराको अवस्था चिन्ताजनक रहेको चराविद् डीबी चौधरीको भनाइ छ। ‘पहिला प्रशस्त देखिएका चरा हराउन थाले’, उनले भने, ‘चरा कुनै देशको कथा नबनोस् भन्ने हाम्रो चिन्ता हो।’
चितवन राष्ट्रिय निकुञ्जमा गरिएको अनुगमनले हाँस प्रजाति लोप हुने खतरा देखाएको छ। जल प्रदूषणका साथै जलवायु परिवर्तनका कारण तालतलैया सुक्दै जाँदा चरालाई असर परेको सरोकारवालाको भनाइ छ। वासस्थान पाउन छाडेपछि चरा भारतर्फ गएको अनुमानसमेत गरिएको छ। पानी प्रदूषण र जमिनमा चराअनुकूल घाँस नहुँदा अन्यत्र जाने गरेको चराविद् टीका गिरीको भनाइ छ।
‘जसरी अन्य जीवजन्तु संरक्षण प्रयास गरिएको छ त्यसअनुसार चरामा भएको देखिँदैन’, उनले भने, ‘कति लोप भइसके, भएका चरा पनि न्यून देखिन थालेका छन्।’ सिमसारमा आश्रित चरा पानी प्रदूषणका कारण संकटमा परेको उनको भनाइ छ।