काठमाडौँ –आजका पत्रपत्रिकामा विकास निर्माण तथा वातावरणीय मुद्दाका विभिन्न विषयमा समाचार छापिएका छन्।
नागरिक
–आजको नागरिकमा रौतहटका राष्ट्रिय वनमा काठ तस्करी बढ्यो शिर्षकमा मदन ठाकुरको समाचार छापिएको छ। रौतहटका राष्ट्रिय वनबाट व्यापक रुपमा काठ तस्करी भइरहेको पाइएको छ। अत्यधिक चिसो एवम् बाक्लो हुस्सु लागेको भन्दै सशस्त्र वनरक्षकहरूले रात्रि गस्ती गर्न छाडेका छन्।
यसैको फाइदा काठ तस्करहरूले उठाएका हुन् । अहिले जिल्लाका वनबाट बहुमूल्य रुख कटान गरी तस्करहरूले रौतहट तथा छिमेकी जिल्ला बाराका विभिन्न स्थानमा लगिरहेको स्थानीय बासिन्दा बताउँछन्।
त्यस्तै पशुपतिमा कंक्रिटको संरचना हटाउन बेवास्ता शिर्षकमा श्याम राईको समाचार छापिएको छ। पशुपति क्षेत्र विकास कोषले पशुपतिको मृगस्थलीमा मापदण्डविपरित बनाएको संरचना हटाउने निर्देशन पाएको महिनादिन बित्दा पनि हटाएको छैन । पुरातत्व विभागले गत पुस २ गते कोषलाई मापदण्डविपरित बनाइएको पैदलमार्ग हटाउन निर्देशन दिएको थियो।
कान्तिपुर
–आजको कान्तिपुरमा जथाभावी सडक खन्दा खेत बाँझै शिर्षकमा समाचार छापिएको छ । सडक निर्माण क्रममा परम्परागत सिँचाइ कुलो भत्किंँदा पचालझरना ४ राम्नाकोट मर्मस्थित २५ परिवारको धान फल्ने खेत तीन वर्षदेखि बाँझै छ । प्रतिपरिवारले दुईदेखि १२ मुरी धान फलाउने खेत बाँझो हुँदा बाहिरबाट ल्याएको चामलको भर पर्नुपर्छ ।
ग्रामीण पहुँच कार्यक्रम (र्याप थ्री) ले राम्नाकोटको जार्रकोट –कालढुंगा पाँच किमि सडक निर्माण क्रममा सिँचाइ कुलो भत्कएपछि तीन वर्षदेखि जमिन बाँझै छ । केही ठाउँमा पाइप हालेर कृषकले गहुँ छरेका छन् । ‘धानफल्न्या खेत बाझैरह्यो,’ स्थानीय एकुमाया सेजुवालले स्थानीय लवजमा भनिन्, ‘सडकमा काम त पाइयो, घरको माम (स्थानीय चामलको भात) छुट्यो ।’ उनको धान खेतमा बर्सेनि १२ बोरा धान फल्थ्यो ।
ग्रामीण पहुँच कार्यक्रमबाट निर्माण भएको सडकको कारण लुर्वाम जिउलोको धान खेत पनि बाँझै राख्न बाध्य भएको पचालझरना गाउँपालिका अध्यक्ष खडराज सेजुवालले बताए । उनले सडकको काम अन्तिम अवस्थामा पुर्याएकाले र्याप ३ ले हस्तान्तरण गर्ने भने पनि आफूले अनुगमन गरेर सडकले पुर्याएको क्षतिपूर्ति गर्न कार्यक्रमलाई सुझाएको जनाए ।
अन्नपूर्ण पोस्ट
– आजको अन्नपूर्ण पोस्टमा पशुपतिको ११ सय बिघा जग्गा गायब शिर्षकमा गोपीकृष्ण ढुंगाना र सुरेन्द्र काफ्लेको समाचार छापिएको छ। पशुपतिनाथ मन्दिरको जग्गा काठमाडौं उपत्यकामा मात्र छैन । यसका नाममा रौतहट, सर्लाही, सिरहा र पर्सामा ११ सय बिघा जमिन त छ, तर गायबसरह। मन्दिर संरक्षक पशुपति क्षेत्र विकास कोषले लामो अनुसन्धानपछि यो पत्ता लगाए पनि फर्काउन सकेको छैन ।
राजा त्रिभुवनले आफूलाई दूध खुवाएबापत बुबु बडामहारानी (धाई आमा) लाई तराईका ४ जिल्लामा ११ सय बिघा जग्गा बिर्ता दिएका थिए । निःसन्तान बुबु बडामहारानीले जीवनको आखिरी अवस्थामा त्यो जग्गा पशुपतिनाथ (श्री) का नाममा दान गरेकी थिइन् । त्यसको अभिलेख सनद, सवाल, लालमोहर, शिलापत्र, ताजपत्र, भोजपत्र, ताडपत्र आदिमा रहेको कोषले जनाएको छ ।