सेतीको बाढीले सर्वश्व लग्यो, पीडित अझै प्रश्न गर्छन, किन आयो बैशाखमा बाढी ?

काठमाडौ, १८ चैत– कास्की जिल्ला माछापुच्छ्रे गाउँपालिका–१, धिप्राङका कमल खनालका छोरालाई सेती खोलाले बगाएको ७ वर्ष भयो । खारापानीमा तरकारी पसल राखेका कमलले १४ वर्षका छोरालाई पसलमा छाडेर घर जाँदै थिए ।

बाढी पीडित कमल खनाल

उनी केही पाइलामात्रै माथि डाँडामा पुगेका थिए । ‘उर्लिएर सेती नदिले मेरै आँखा अगाडी बजार बगायो,’ उनले भने ‘छोरालाई बगाएको हेरिमात्र रहेँ, बचाउनै सकिएन ।’ आफ्नै आँखा अगाडी छोरालाई सेतीले बगाउँदा छोरा बचाउन नसकेकोमा कमललाई आजसम्म पछुतो छ । खेतीबारी, ज्यामी काम गरेर आफ्नो पेट पाल्दै बसेका उनी किन यसरी बाढी आयो भन्नेमै अझै अन्यौलमै छन् ।

हाकाहाकीसँगको भेटमा उनले भने, ‘यस्तो हुने भएको भए पहिला नै सचेत हुन्थ्यौं । कसैले हिमताल फुटेको भन्छन्, कसैले के भन्छन, हामीलाई के थाहा यस्तो कुरा ?’ उनी अहिले छोराको नाममा वातावरण संरक्षण गर्न इच्छुक छन् । तर उनलाई यस सम्बन्धि कुनै ज्ञान छैन । उनी जस्तो सो ठाउँका बासिन्दाले ५६ जना आफन्त गुमाएका थिए ।

२०६८ बैसाख २३ गते अन्नपुर्ण, माछापुच्छ्रे हिमाल फुटेर आएको बाढीले कास्की जिल्ला माछापुच्छ्रे गाउँपालिकाको खारापानी बजार बगाएको थियो । बैसाख महिनामा हिमाल फुटेर आएको बाढीले गाउँ नै सखाप पार्छ भनेर कसैले सोचेका समेत थिएनन् । प्राकृतिक सम्पदा हिमाल, पहाड, खोलाको छेउका मानवबस्तीहरु पछिल्ला बर्षहरुमा जोखिम युक्त बन्दै गएका छन् । प्राकृतिक स्रोतको वैज्ञानिक संरक्षण हुन सकेको छैन । यसले गर्दा बर्षेनी मानविय क्षति भइरहेको छ । बसन्त ऋतुमा हिमाल फुटेर आएको बाढीले ५८ जनाको ज्यान जानु विश्वका लागि नै चुनौतीपूर्ण मुद्दा बनेको छ । यो स्थानीयका लागि भयानक दुर्घटना थियो । र, यस्ता दुर्घटना पटक–पटक नहोला भनेर भन्न पनि सकिँदैन ।

यसको प्रभाव सिधै जलबायु परिवर्तनसँग जोडिएको छ । विश्व तापमान बढ्दै जाँदा हिमालका हिउँँ पग्लिएर, हिमताल बन्छन् । र ती हिमतालहरु एकैपटक पुटेर धेरै तलसम्मका वस्ती, ताल, बन जंगल आदिको विनास गर्छ । खारापानीमा ७ वर्ष अगाडि आएको बाढी सम्झदा स्थानीय र सरोकारवाला अहिले डराउँछन् । किनकी पोखरामा फेवा, वेगनास ताल र अन्य साना ठूला ९ ताल छन् । ती सबै ताल पुरिन सक्थे ।

पोखराको फेवाताल

भुगर्वविद् प्रोफेसर डाक्टर देवेन्द्र लामिछानेले त्यही बाढीले पोखराको सुन्दर तालहरु मासिने सम्भावना प्रवल भएको दावी गरे । उनले भने, ‘सन् २०१२ मे मा सेती नदिमा आएको बाढीको प्रभाव स्वरुप बगाएर ल्याउने फोहरले फेवा ताल पुरिन सक्थ्यो, ‘यदी पोखराका तालहरु पुरिने हो र संरक्षण नगर्ने हो भने पोखरा साघुरिनेछ । यहा प्राकृतिक, सांस्कृतिक र भुगोलको भाग पनि मासिनेछ ।’

वरिष्ठ पत्रकार विनोद प्रतिकले जलवायु परिवर्तनले पोखरा वा कास्कीको वातावरण पहिला प्राकृतिक हरियाली भएको तर अहिले कृतिम हरियाली मात्र भएको बताए । उनले भने, ‘हिजो त्यही जंगलले दिएको स्वच्छ वायु हिजोआज विषयुक्त बन्दैछ । यसमा हामीले विषेश जोड दिएर समाधानमा लाग्नुपर्छ । ’ उनले हिजोआज माछापुच्छ्रे कालो भएको बताए । ‘जलबायु परिवर्तनको असर अहिले हिमालमा हिउँ नै कम भएको छ ।’ उनले भने, ‘कालो माछापुच्छ्रेको फोटो खिचेर साथीहरुलाई पठाउँदा पत्याउँदैनन् । ’

सार्दी खोलाबाट देखिएको माछापुच्छ्रे हिमाल

माछापुच्छ्रे हिमालमा देउता बस्ने स्थानीयको मान्यताले सरकारले यसको आरोहणमा पर्यटकलाई अनुमति दिएको छैन । तर यसको हिँउ घट्दै जाने र बाढी पहिरोजस्ता समस्याले मानव वस्ती कुन बेला सखाप हुने हो अनुमान लगाउन मुस्किल छ । सन् २०१२ मा अन्नपुर्णबाट फुटेर सेती नदिमा आएको बाढीले सयौं रुखविरुवा र उर्वराभूमि बगायो । बाढी पसेको ठाउँमा अहिले पनि उर्वरा भूमि छैन । स्थानीयहरु अहिले खेतीयोग्य जमिन बाढीले लगेपछि चिन्तित छन् ।

वन व्यवस्थापन उपसमितिका पुर्व अध्यक्ष सर्वजित गुरुङले भने, ‘अहिले सार्दिखोलामा त्यो बाढीको कारण धेरै जमिनमा उत्पादन नै हुँदैन । हामीले जति प्रयास गर्दा पनि बोटविरुवा नै हुर्किन सकेको छैन । ’ बाढी र भु–क्षयको समस्याले ग्रसित स्थानीयले अहिले जलबायु परिवर्तनको असरलाई केही भएपनि कम गर्न वृक्षारोपणमा लागेका छन् ।

हरियो बनले गरेको बृक्षारोपण

सेतीमा आएको बाढीपछि डब्लूडब्लूडब्लूएफ नेपालको हरियो बन कार्यक्रमले बाढी प्रभावित क्षेत्रमा वि सं २०७२ मा स्थानीयको सहकार्यमा बृक्षारोपण गरेको थियो । बाढीको प्रभावित क्षेत्रमा रोपिएको वृक्षारोपणले स्थानीय खुसी छन् । किनकी उनीहरुलाई अब सानो तिनो बाढीको डर छैन । तर ठूलो बाढी आए के गने ? यसको समाधान उनीहरुसँग छैन । बाढी प्रभावित माछापुच्छ्रे गाउँपालिका २ का वडा अध्यक्ष विक्रम गुरुङ पनि यही त्रासमा छन् ।

उनी भन्छन्, ‘सानोतीनो बाढी, भुक्षय त यस्तो बृक्षारोपणले रोक्छ । तर ठूलो आयो भने फेरि यो वडा नै लैजाने हो की भन्ने डर कायमै छ ।’

रिपोर्ट/ तस्बीरः बिद्या राजपुत