Sunday, November 17, 2024

वन जोगाउन ग्यास र चुलो

सोलुखुम्बु – जिल्लामै पहिलो पटक सामुदायिक वन जोगाउने उद्देश्यले ग्यास सिलिण्डर र चुलो वितरण गरिएको छ। सोलुदूधकुण्ड नगरपालिका–२ स्थित मोपुङ सामुदायिक वन कार्यालयले स्थानीय उपभोक्तालाई ती सामग्री वितरण गरेको हो।

छयालीस घरधुरी उपभोक्तालाई निःशुल्क सिलिण्डर र सशुल्क चुलो वितरण गरिएको वन उपभोक्ता समितिका उपाअध्यक्ष दावा शेर्पाले जानकारी दिए। “पछिल्लो समय वनजङ्गल मासिँदै गएको छ,” उपाध्यक्ष शेर्पाले भने, “वनजङ्गल जोगाउने उपायमध्ये ग्यास नै हो भनेर वितरण गरेका हौँ।”

उपभोक्ता समितिको आन्तरिक स्रोतमार्फत ४६ घरधुरीलाई रु एक लाख ५५ हजार बराबरको ग्याससहितको सिलिण्डर प्रदान गरिएको उपाअध्यक्ष शेर्पाले जानकारी दिए। उनका अनुसार बुधबार पहिलो दिन ४० जनालाई वितरण गरिएको छ भने बाँकी ६ जनालाई चाँडै वितरण गरिनेछ। वडालाई धुवाँमुक्त बनाउन र वनजङ्गल जोगाउन सामुदायिक वन कार्यालयले यस्तो काम गरेको उनको भनाइ छ।

सोलुदूधकुण्डका प्रमुख नाम्गेल जाङ्बु शेर्पाले वन जोगाउन र प्रदूषण नियन्त्रणमा यस्ता कार्यले सहयोग पुर्याउने विश्वास व्यक्त गरे।

ग्यास सिलिण्डर प्राप्त गरेपछि स्थानीयवासी हर्षित भएका छन्। दाउराको खपत कम गर्नका लागि सामुदायिक वनले लिएको नीति अरूले पनि सिक्न आवश्यक रहेको उपभोक्ता ग्याल्जेन शेर्पाले बताए।

थुुलुङदूधकोशी आफ्नै भवनमा

यहाँको थुलुङदूधकोशी गाउँपालिकाले आफ्नै कार्यालय भवनबाट सेवा शुरु गरेको छ। गाउँपालिकाको आफ्नै लगानीमा प्रशासनिक बनेको हो। नवनिर्मित चार भवनमा करीब २०० जना अटाउन सक्ने क्षमता भएको सभाकक्षसहित २१ कोठा छन्। कुँवर डेप्लोवर एण्ड बिल्डर्स प्रालिले प्रिफाइभ सिस्टमको उक्त भवन करीब रु एक करोड ८९ लाख ९१ हजारमा बनाएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अबिलाल राईले जानकारी दिए। उक्त भवनमा अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृतलगायत विभिन्न शाखाका छुट्टाछुट्टै कार्यकक्ष छन्।

गाउँपालिका अध्यक्ष असिम राईले यसअघि सेवा प्रवाहमा निकै गाह्रो भएको अनुभव सुनाउँदै आगामी दिनको सेवा प्रवाह तथा विषयगत कार्यालय व्यवस्थापनमा सहज हुने बताए।

प्रतिनिधिसभा सदस् हेमकुमार राईले स्थानीय तह आत्मनिर्भर बन्दै गएको भन्दै गाउँपालिकावासी, जनप्रतिनिधि, कर्मचारीलगायतको सक्रियताले गाउँपालिका प्रशंसायोग्य कार्य गर्न सफल भएको बताए। “स्थानीय सरकार नमूना गाउँपालिका बन्नुछ भने सबै एक जुट भएर अगाडि बढ्नुहोस्,” राईले भने, “केन्द्रीय सरकार, प्रदेश सरकारलगायतबाट हुने सहयोग र समन्वयमा मेरो कुनै कमी हुनेछैन।”

स्थानीय सरकार गठन भएपछि आफ्नै लगानीमा भवन निर्माण गरी सेवा शुरु गर्ने थुलुङदूधकोशी पहिलो गाउँपालिका बनेको छ। यता सोलुदूधकुण्ड नगरपालिकाले पनि आफ्नै कार्यालय भवन निर्माणका लागि बोलपत्र आह्वान गरी काम अगाडि बढाएको छ। माप्यदूधकोशी गाउँपालिकाले घर भाडामा लिएर सञ्चालन गरेको छ भने सोताङ, महाकुलुङ, नेचा सल्यान र लिखुपिके गाउँपालिकाले साविक गाविस भवनलाई नै मर्मत गरी कार्यालय सञ्चालन गरिरहेका छन्।

ताजा समाचार

सम्बन्धित समाचार