Sunday, November 17, 2024

डोजर आतंक रोक्न वातावरणमैत्री नीति अवलम्बन गर्ने कमलबजार नगरपालिकाको प्रतिबद्धता

कमलबजार – कमलबजार नगरपालिकाले अछाममा जथाभावी डोजर प्रयोग गरी सडक निर्माण भइरहेको भन्दै आगामी दिनमा वातावरणमैत्री नीति निर्माण गरी सडक निर्माण गर्ने प्रतिबद्धता जनाएको छ।

नेपाल वातावरण पत्रकार समूह (नेफेज)को आयोजनामा अव्यवस्थित स्थानीय सडक निर्माण गर्दा हुने क्षतिका विषयमा गरिएको पानी छलफल कार्यक्रममा नगरपालिकाले उक्त प्रतिबद्धता जनाएको हाे।

युएसएडकोे सहयोगमा सञ्चालित पानी परियोजना अन्तर्गत कमलबजार नगरपालिकामा गरिएको पानी छलफलमा बोल्दै कमलबजार नरगपालिकाका मेयर ओम प्रकाश विष्टले आगामी दिनमा ग्रामीण सडक निर्माण गर्दा भविष्यमा हुन सक्ने क्षतिको आंकलन गरेर मात्रै गरिने बताए। उनले अबका दिनमा नगरका कुनै पनि वडा वा क्षेत्रमा बाटो बनाउँदा प्राविधिक एवं विज्ञहरूबाट सम्भाव्यता अध्ययन गरेर आएको निष्कर्ष अनुसार मात्रै कार्य थाल्ने प्रतिबद्धता व्यक्त गरेका हुन्।|

उनले विगतमा आफूहरूलाई वातावरणमैत्री नीति अवलम्बन गर्नुपर्छ भन्ने कुराको जानकारी नहुँदा जनताले माग गरेका स्थानमा बाटो पुर्याउने भन्दै डोजर प्रयोग गरेर बाटो खनेको स्वीकार्दै आगामी दिनमा वातावरण मैत्री नीति निर्माण गरी सडक तथा अन्य भौतिक पूर्वाधार निर्माण गरिने बताए।

 

कार्यक्रम आयोजना गरेकोमा नेफेजलाई धन्यवाद दिर्दै मेयर विष्टले पानी छलफलले आफूहरूलाई सचेत बनाएको बताए। ‘अधिकांश बाटोहरू हामीले खनिसकेका छौं, अब आगामी दिनमा बाटो बनाउँदा वातावरणमैत्री नीति अवलम्बन गर्नेछौं। ’
‘अछाम जिल्लालाई चिनाउने हाम्रो गाउँ शेरा अहिले बाटोकै कारण डोजरले मनपरी खन्दा वर्षायाममा पहिरो जाने र त्यहाँका झन्डै १०/१५ घर र एउटा विद्यालय समेत जोखिममा परेको छ ।’ कमलबजार नगरपालिका–७ शेराका स्थानीय तथा गाउँकार्यपालिका सदस्य लोकेन्द्र नेपालीले भने, ‘सामान्य बाटो निर्माण गर्दा अपनाउनुपर्ने डिजाइन इस्टिमेट नबनाउँदा र भोली त्यसले पार्ने क्षतिको आंकलन नगर्दा खेतीयोग्य जमिन पुरिएको छ,अझै कति पुरिने हो।’

२०७४ सालमा भएको स्थानीय तहको निर्वाचन पश्चात कमलबजार देखि ढाँकु हुँदै शेरा सम्मको ग्रामीण सडक निर्माण गर्दा प्राम्भिक अध्ययन, अनुसन्धान र कुनै पनि प्राविधिकबाट त्यसको अवलोकन नभइकन जथाभावी रुपमा डोजर प्रयोग गरेर बाटो खनिँदो वर्षायाममा पहिरोले कमलबजारका ४ वडाहरूलाई क्षति पुर्याएको नेपालीले बताए। ‘अछामको कालीमाटी पछि दोस्रो खेतीयोग्य जमिन भएको कमलबजारको वडा नम्बर ७ शेरा अहिले उक्त बाटोका कारण खेतीयोग्य जमिन पुरिदाँ त्यहाँका जनता मारमा परेका छन्।’ नेपालीले भने, ‘डोजरले खनेको माटो र गिट्टीले झण्डै दुई सय रोपनी खेतीयोग्य जमिनलाई पुरिदिएको छ त्यसले गर्दा जिविकोपार्जन गर्न धौ धौ भइरहेको छ ।’

कमलबजार ढाँकु हुँदै शेरा जोड्ने सडक निर्माणका क्रममा झण्डै २०–२५ रोपनी खेती योग्य जमिन गुमाएका र घर समेत जोखिममा रहेका कमलबजार नगरपालिका वडा नम्बर ८ का जगत बहादुर विष्टले सडक आउँदा जति खुसी छाएको थियो त्यो भन्दा बढी सडकले पुर्याएको क्षतिबाट पीडित भएको बताए।

पानी छलफल हुनुपूर्व नेफेज टोली स्थलगत समस्या अवलोकन तथा समाचार संकलनका क्रममा जाँदा विष्टले उक्त कुरा बताएका हुन् । उनी जस्ता झण्डै १५ घरधुरी सोही सडकका कारण घरपुरिने जोखिममा परेका छन्।

पानी छलफल उठेका समस्याहरूको बारेमा सम्बोधन गर्दै कमलबजार नगरपालिका ७ का वडाध्यक्ष गोविन्दबहादुर भण्डारीले बाटो निर्माण गर्नु अगाडि आफूहरूले त्यसको क्षतिबारे ध्यान नपुर्याउँदा आफ्नो वडामा क्षति भएको स्वीकारे। ‘हामीले वातावरणमैत्री नीति अवलम्बन गर्नुपर्ने रहेछ, थाहा नपाएर गरेनौं हामीबाट गल्ती भएकै हो,’ उनले भने। डोजरले पनि रातीको समयमा आफ्नो मनमर्जी रुपमा बाटो खन्दा ढाँकुदेखि शेरा सडकखण्डमा पहिरो गएको भण्डारीको भनाई छ।
त्यस्तै वडा नम्बर ८ ढाँकुका नैन बहादुर विष्टले विकाससँगै विनास आउने गरेकोले आफ्नो गाउँमा बाटो लैजाँदा डोजरले खेत भत्किएको बताए । पहिरो जान्छ भनेर बाटो नै निर्माण नगर्ने भन्ने हुँदैन तर त्यसको क्षति कम गर्न सके सहज हुने उनको भनाई छ।

पानी छलफलमा बोल्दै वडा नम्बर ९ की स्थानीय तथा मोटरकाटेदेखि बलाटासम्मको ग्रामीण सडकखण्ड निर्माण उपभोक्ता समितिका कोषाध्यक्ष कृष्णादेवी रावतले बाटो खन्दा उपभोक्ता समिति सक्रिय भए पछि हुन सक्ने क्षति न्यूनीकरण गर्न सहज हुने बताइन्।

दृष्टीविहीन तथा अपांग संजालका अध्यक्ष खिन्ते विकले पहाडी क्षेत्रमा बाटो खनेपछि त्यस क्षेत्रमा वृक्षरोपण नगर्दा पहिरो जाने गरेको बताए। ‘बाटो खन्दा पहाडी क्षेत्रमा डोजर लगाउनै पर्ने बाध्यता भए पनि बाटो खनेको स्थानको वरपर वृक्षरोपण गर्नैपर्ने अनिवार्यता बनाए पछि मात्रै पहिरो रोक्न सकिन्छ की भन्ने मेरो मान्यता हो,’ उनले भने।

पानी छलफलमा कमलबजार नगरपालिका वडा नम्बर ५ का जन्मप्रसाद उपाध्ययायले डोजरको प्रयोगले आफू बढी पिडित भएको बताए । उनले भने, ‘कुइकामा गएको बाटोले मेरो खेतीयोग्य जमिन समेत मास्यो। म घर नभएको बेलामा डोजर चलाएर विभिन्न स्थानको गरी ६ कित्ता जमिन काटियो त्यो काटिएको स्थानमा फेरि पहिरोले पुरिएर खेतीयोग्य जमिन मासिएको छ।’

कार्यक्रममा वडा नम्बर ७ र ८ का पीडित स्थानीयहरूले जथाभावी डोजर प्रयोग गरी बाटो खन्दा आफूहरुको खेतीयोग्य जमिन पहिरोले लगेको गुनासो गरेका थिए।

पानी छलफलमा डोजर चालक तथा सञ्चालक कमलबजार नगरपालिका वडा नम्बर ७ का पुष्पराज अधिकारीले आफूहरूले जथाभावी रुपमा डोजर प्रयोग नगरेको बताए। ‘मैले नगरपालिकाको १० ओटै वडाहरुको बाटो खन्ने काम पाएको छु।

उपभोक्ता समिति मार्फत डोजर चलाउने हो। २०६६ साल देखि डोजर प्रयोग गरिरहेको छु । पहिले गाविस हुँदा जिल्लामा प्राविधिकहरु बस्ने र वडाहरुमा हेर्न नआउँदा हामी आफैँले बाटोको डिजाइन बनाएर बाटो काट्थ्यौं। तर, अहिले जनप्रतिनिधिहरू आइसकेपछि इन्जिनियर र सब–इन्जिनियरले भनेको स्थानहरूबाट मात्रै बाटो खन्ने गरेका छौं,’ उनले भने, ‘विगतमा लापरबाही भएपनि जनप्रतिनिधिहरू आएपछि भने आफूहरूले वन मासिने गरेर बाटो खनेका छैनौं।’

कार्यक्रममा वनउपभोक्ता महासंघ अछामका महासचिव गौमती शाहीले कमलबजार देखि तुर्माखाँद सडकखण्ड निर्माण गर्दा डोजर प्रयोग नगरी बनाइएकोमा अहिले नगरले हरेक स्थानमा डोजर प्रयोग गरेको देखिएको बताउँदै सजिलोको लागि मात्रै भन्दा पनि दीगो विकासको लक्ष्यलाई मध्यनजर गरेर विकास निर्माण गर्नुपर्ने बताइन।

कार्यक्रममा कमलबजार नगरपालिकाका ईन्जिनियर मदन भण्डारीले बाटो परीक्षण बिना नै बाटो खन्दा सबै भन्दा बढी क्षति हुने गरेको बताए । ‘यहाँ सर्वे र इस्टिमेटलाई एउटै रुपमा हेर्ने गरेको गरिन्छ’ उनले भने । निर्माण भइरहेका ग्रामीण सडकमा स्वायल टेष्ट नहुने, वातावरणमैत्री नीति अवलम्बन नहुने, सम्भाव्यता अध्ययन नगरिने र जथाभावी डोजर प्रयोग गर्ने जस्ता कारणले ग्रामीण सडकले सेवा भन्दा सास्ती दिने गरेको उनको भनाई छ।

सडक निर्माण गर्दा इआईए र आइइइ अर्थात पर्यावरण प्रभाव मूल्याकंन र परीक्षण गर्नुपर्ने उनको भनाई छ । तर, अछाममा अधिकांश क्षेत्रमा सामान्य अध्ययन र अवलोकन समेत नगर्दा क्षति भैरहेको उनले बताए।

कार्यक्रममा कमलबजार नगरपालिकाकी उपमेयर भूमिशरण ढकाल बज्जगाईले नयाँ जनप्रतिनिधि र कर्मचारीको समेत अभाव रहेको अवस्थामा आफूहरुले सव इन्जिनियरको भरमा १० वडाहरूमा बाटो निर्माण गरेको बताइन्। उनले भनिन्, ‘त्यसबेला हामीसँग इन्जिनियर पनि थिएनन्, सब इन्जिनियरको भरमा सबै वडाहरूमा बाटो बनाउनुपर्ने, नगरको काम पनि गर्नैपर्ने र अन्य योजनाहरू पनि बनाउनुपर्ने भएकाले हामीले बाटो बनाउनु अगाडि गर्नुपर्ने पूर्वानुमान तथा कार्ययोजना गर्न नसकेकै हो।’

उनले त्यति बेला मानिसले खनेको बाटोमा अहिलेसम्म पहिरो नगएको बताइन । यसका साथै उनले पहिरो जाने स्थानमा वृक्षरोपण गर्ने र तटबन्ध लगाउने प्रतिबद्धता व्यक्त गरिन।

कार्यक्रममा १० नम्बर वडाका वडाध्यक्ष बाहेक वडा नम्बर १ देखि ९ सम्मका सबै वडाध्यक्ष, बाटो निर्माण उपभोक्ता समिति, खानेपानी उपभोक्ता समिति, सामुदायिक वन उपभोक्ता समिति, पहिरो पीडित लगायत ३६ जनाको सहभागिता रहेको थियो । कार्यक्रममा कमलबजार नगरपालिकाका मेयर, उपमेयर तथा जनप्रतिनिधिहरूले वातावरणमैत्री विकास निर्माण गर्नका लागि ६ बुँदे प्रतिबद्धताहरू व्यक्त गरेका छन् ।

प्रतिबद्धताहरू

  •  वातावरणमैत्री सडक निर्माण गरिनेछ । जसका लागि वातावरणमैत्री विकास निर्माण सञ्चालन नीति निर्माण गरिनेछ ।
  •  सडक निर्माण कार्य गर्नुपूर्व प्राविधिकहरूबाट सम्भाव्यता अध्ययन गरिनेछ। प्राविधिकको अध्ययन पश्चात मात्रै सडक/बाटो कटान गरिनेछ।
  • सडक निर्माण गरिसकेपछि सडकको वरपर बाढी पहिरो जस्ता क्षतिहरु रोकथाम गर्नका लागि वृक्षरोपण र तटबन्धन गरिनेछ।
  • सडक निर्माण गर्दा जनसहभागिता मूलक र जनप्रतिनिधित्व हुने गरी बाटो निर्माण गर्ने र डोजर परिचालन गर्नुपर्ने ठाउँमा मात्रै परिचालन गरिनेछ।
  • बाटो निर्माणका लागि छुट्टाएको बजेटबाट आवश्यकता अनुसार बजेट छुट्टाइ उक्त रकमबाट सम्भाव्यता अध्ययन, प्राविधिक परीक्षण र क्षतिपूर्ति व्यहोरिनेछ।
  • सडक निर्माण गर्दा जनताहरू प्रत्यक्ष रुपमा लाभान्वित हुने गरी निर्माण गरिनेछ ।

ताजा समाचार

सम्बन्धित समाचार