ललितपुर –आजका पत्रपत्रिकामा विकास निर्माण तथा वातावरणीय मुद्दाका विषयमा समाचार छापिएका छन् ।
नयाँ पत्रिका
–आजको नयाँ पत्रिकामा ४० दिनभित्र रोसी खोलालाई स्वच्छ बनाइने शिर्षकमा इन्द्रबहादुर थापाको समाचार छापिएकोछ । रोसी गाउँपालिकाले ४० दिनभित्र रोसीखोलालाई प्रदूषणरहित बनाउन अभियान थालेको छ। रोसी खोला आसपास सञ्चालित क्रसर तथा रोडाढुंगा प्रशोधन उद्योगबाट निस्केको प्रदूषणलाई व्यवस्थापन गरी रोसीलाई स्वच्छ बनाउने गरी गाउँपालिकाले अभियान थालेको हो । यसका लागि गाउँपालिकाले क्रसरका व्यवसायीहरूलाई पहिलोपटक सचेत गराउने जनाएको छ ।
खोला छेउछाउमा सञ्चालित रोडा ढुंगा र क्रसर उद्योगबाट निस्कने धुँलो र हिलोका कारण रोसी खोला धमिलो हुनुका साथै सुक्दै गएपछि स्थानीयले गुनासो गर्दै आएका थिए । साथै, खेती गर्नसमेत समस्या भएपछि आसपासका किसानले गाउँपालिकाको ध्यानाकर्षण गराएका थिए । सोहीअनुसार रोसी गाउँपालिका र रोसी खोला आसपास सञ्चालित ढुंगा खानी, क्रसर उद्योगबाट निस्कने धुलो र फोहोर यथाशीघ्र व्यवस्थापन गर्न व्यवसायीलाई सचेत गराएको गाउँपालिकाका अध्यक्ष दलबहादुर लामाले बताए ।
नेपाल समाचापत्र
– आजको नेपाल समाचारपत्रमा स्थानीय तहमा गएपछि झनै बढ्यो अवैध उत्खनन शिर्षकमा नरेन्द्र केसीको समाचार छापिएको छ । दाङका खोलामा प्राकृतिक श्रोत साधनको अवैध उत्खनन अझै बढेको छ । प्राकृतिक श्रोत साधन उत्खनन र परिचालनको जिम्मा स्थानीय तहले पाएपछि कतै स्थानीय तहबीचमै विवाद देखिएको छ भने कतै ठेक्काको बहाना मनपरि उत्खनन भइरहेको छ।
केही दिनअघि उत्खननको विषयमा राप्ती र गढवा गाउँपालिकाबीच सीमा विवाद पनि देखिएको छ। राप्तीको अनुमति लिएर गढवामा उत्खनन गरेको भन्दै प्रहरीले नै हस्तक्षेप गर्नुपरेको समाचारमा उल्लेख छ।
अन्नपूर्ण पोस्ट
–आजको अन्नपूर्णमा चार दमकल, दुई चालक शिर्षकमा सुवास गोतामेको समाचार छापिएको छ। जुद्ध बारुण यन्त्रमा ४ वटा दमकल छन् तर चालक भने २ जना मात्र। माघ १ गते ती दुवै चालकले पनि अवकाश पाउँदै छन्। चालक नियुक्तीका लागि बारुण यन्त्रका कर्मचारीले अनेकौं पटक तालुक निकाय काठमाडौं महानगरपालिकालाई गुहारिसके। महानगरले चालक नियुक्त गर्न अझै बेवास्ता गरिरहेको छ।
चालक गोपीलाल श्रेष्ठ उमेरहदका कारण अवकाश पाउँदैछन् भने दिलबहादुर मानन्धरले राजीनामा दिएका हुन्। दुवैको अवकाशसँगै बारुण यन्त्रसँग एक जना पनि दमकल चालक हुने छैनन्। ०६४ सालदेखि दरबन्दी ६ जना रहे पनि ४ जना मात्र चालक कार्यरत थिए। ‘करारमा नियुक्ती गर्दा सूचना प्रकाशित गरेर परीक्षा लिएर नियुक्ती गर्दा कम्तीमा दुई साता लाग्छ तर कसैले चासो देखाउँदैनन्’, बारुण यन्त्र महाशाखाका एक अधिकृतले भने, ‘ठूलो आगलागी भए ठूलो घटना निम्तिन सक्छ।’
बारुण यन्त्रका अनुसार राजधानीमा दैनिक ३र४ वटा आगलागी हुने गरेको छ। पालो दिने नहुँदा दमकल चालक २४ सै घण्टा तम्तयार ९स्ट्यान्डबाई० बस्नुपर्ने स्थिति छ। बारुण यन्त्रको यो समस्या मेयर विद्यासुन्दर शाक्य, प्रमुख प्रशासकीय अधिकृत यादवप्रसाद कोइराला, प्रशासन प्रमुख ज्ञानेन्द्र कार्कीलगायत सबै जना जानकार छन्। जिम्मेवार अधिकारीले चासो नदेखाएकाले चालक नियुक्तीको विषय मेयरकहाँ नै पुगेको छ।
गोरखापत्र
–आजको गोरखापत्रमा कोटेश्वर–कलङ्की चक्रपथ विस्तार : सर्भिस ट्रयाक निर्माण नहुँदा जोखिम शिर्षकमा भउचप्रसाद यादवको समाचार छापिएको छ । ‘हाती छिर्यो, पुच्छर अड्कियो’ भने झै कोटेश्वर–कलङ्की चक्रपथ विस्तार कार्य सम्पन्न भए पनि त्यसको ‘सर्भिस ट्रयाक’ को निर्माण कार्य भने अझै सम्पन्न हुन सकेको छैन।
‘सर्भिस ट्रयाक’ निर्माण हुन नसक्दा सवारी साधन र पैदल यात्रुहरुलाई द्रुतगतिमा सवारी साधन गुड्ने विस्तारित चक्रपथ भएर नै जोखिम मोलेर बाटो काट्नुपर्ने बाध्यता रहेको छ।
नेपाल र चीनबीच भएको सम्झौता अनुसारको चक्रपथको बिस्तार कार्य यसअघि नै सम्पन्न भइसकेको छ। गत मङ्सिर महिनामा नै चिनियाँ निर्माण कम्पनीले सम्झौता अनुसारको आठ लेनको चक्रपथ विस्तार कार्य सम्पन्न गरिसकेको छ । चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा चक्रपथको उक्त खण्डको निर्माण सम्पन्न भएको हो ।
काठमाडौँ चक्रपथ सुुधार योजनाका इन्जिनियर निरञ्जन शर्मा अर्यालले चीन सरकारसँग भएको सम्झौता अनुसार आठ लेनको चक्रपथ बिस्तार कार्य सम्पन्न भइसकेको र नेपाल सरकारले आफैँ गर्ने भनिएको दुई लेनको ‘सर्भिस ट्रयाक’ निर्माण काम भइरहेको जानकारी दिनुभयो । चक्रपथको दायाँबायाँ ६/६ मिटरको ‘सर्भिस ट्रयाक’ निर्माण गर्नुपर्ने छ । ‘सर्भिस ट्रयाक’ निर्माणपछि आठ लेनको अहिलेको चक्रपथ १० लेनको हुनेछ।
करिब १० किलोमिटर विस्तारित चक्रपथमध्ये छ किलोमिटरमा ‘सर्भिस ट्रयाक’ निर्माण कार्य सम्पन्न भइसकेको जानकारी दिंदै उहाँले भन्नुभयो, “चक्रपथको सडक सीमा ९राइट अफ वे० सडकको केन्द्रबाट दायाँबायाँ ३१/३१ मिटर रहेको छ, ३१ मिटर ‘क्लियर’ रहेको ठाउँमा ‘सर्भिस ट्रयाक’ निर्माण कार्य सम्पन्न भइसकेको छ भने ‘क्लियर’ हुन नसकेको ठाउँहरूमा निर्माण सम्पन्न हुन सकेको छैन ।”