Saturday, November 16, 2024

पत्रपत्रिकामा आज : खोलामा प्रदूषित पानी मिसाउनेलाई कारबाही गर्न माग, काठ बेच्न निगम बनाइँदै

ललितपुर – आजका पत्रपत्रिकामा विकास निर्माण तथा वातावरणीय मुद्दाका विभिन्न विषयमा समाचार छापिएका छन्।

नागरिक
–आजको नागरिकमा खोलामा प्रदूषित पानी मिसाउने उद्योगलाई कारबाही गर्न माग शिर्षकमा मदन ठाकुरको समाचार छापिएको छ।
रौतहटको दुर्गाभगवती गाउँपालिकाले स्थानीय खोलामा प्रदूषित पानीको ढल मिसाउने जिल्लाका दुई उद्योगलाई कारबाही गर्न माग गरेको छ। जिल्लास्थित श्रीराम सुगर मिल्स् र ज्योति डिस्टिलरी प्रालिले आफ्ना ढल झाँझ खोलामा विसर्जन गर्ने गरेका छन्।

यसरी दूषित पानी खोलामा मिसाउँदा जलचर जीवहरूको अस्तित्व नै संकटमा परेको तथा उक्त प्रदूषित पानी पशुचौपायाले खाँदा मर्ने सम्भावना बढेको भन्दै उक्त दुवै उद्योगलाई कारबाही माग गर्दै गाउँपालिकाले आइतबार जिल्ला प्रशासन कार्यालय (रौतहट) मा ज्ञापनपत्र बुझाएको हो।

कान्तिपुर
–आजको कान्तिपुरमा काठ बेच्न निगम बनाइँदै शिर्षकमा समाचार छापिएको छ । सरकारले काठ दाउरा बिक्रीका लागि नेपाल वन निगम गठनको तयारी गरेको छ । वन तथा वातावरण मन्त्रालयले टिम्बर कर्पोरेशन अफ नेपाल (टीटीएन) र वन पैदावार विकास समिति गाभेर निगम बनाउन लागेको समाचारमा उल्लेख छ ।

अन्नपूर्ण पोस्ट
–आजको अन्नपूर्ण पोस्टमा प्लास्टिक प्रतिबन्ध योजनामै सीमित शिर्षकमा सुवास गोतामेको समाचार छापिएको छ । काठमाडौंमा दैनिक निस्कने फोहोरमा ७० प्रतिशतभन्दा बढी प्लास्टिकजन्य हुन्छन्। २० माइक्रोनभन्दा कमका झोला उत्पादन गर्न काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले वातावरणलाई असर पार्ने प्लास्टिकजन्य झोला बिक्रीवितरण तथा प्रयोजन निषेध कार्यक्रम सार्वजनिक गरेका थिए। तर कार्यान्वयन भएन।

यस विषयमा अघिल्लो वर्ष महानगरले कार्ययोजनासमेत तयार पार्‍यो। सरोकारवालासँग छलफल पनि चलायो। छलफलमा व्यवसायीले २० माइक्रोनभन्दा बढीका झोला उत्पादन रोक्ने प्रतिबद्धता व्यक्त गरे। तर ती प्रतिबद्धता कागजमै सीमित रहे। अनुगमनको जिम्मा पाएको महानगरले पनि व्यवसायीका प्रतिबद्धतालाई कडाइ गर्न सकेन।

टेकुमा रहेको महानगरको वातावरण व्यवस्थापन विभाग अव्यवस्थित छ। कार्यालय वरपर नै प्लास्टिकजन्य फोहोरको डंगुर भेटिन्छ। काठमाडौं बढी प्रदूषित हुनुमा प्लास्टिकजन्य फोहोर पनि प्रमुख कारण रहेको विज्ञहरू औंल्याउँछन्। ‘मुख्य कुरा अनुगमन फितलो भो। कार्यान्वयन गर्ने निकाय कडा ढंगले प्रस्तुत नहुँदा वातावरण प्रदूषित बनेको हो’, वातावरणविद भूषण तुलाधरले भने।

नेपाल समाचारपत्र
–आजको समाचारपत्रमा मेलम्चीको काम २२ दिनदेखि ठप्प शिर्षकमा समाचार छापिएको छ। राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको बहुचर्चित मेलम्ची खानेपानी आयोजनाको मुख्य ठेकेदार कम्पनीका सीईओ (प्रमुख कार्यकारी अधिकृत) पाओली पोर्सेलीसहितको टोली नेपाल आउँदै छ । आयोजनाको मुख्य ठेकेदार कम्पनी को–अपरेटिभ मुरातोरी ई सेमेन्तेस्टी (सीएमसी दि रेभेन्ना) को उक्त टोली आएपछि मेलम्चीमा देखिएको समस्याको समाधानका लागि निर्णायक वार्ता हुने आयोजना स्रोतले बताएको छ।

आयोजनाका उच्च अधिकारीका अनुसार आज सोमबार फर्किने र वार्ता गरेर बाँकी रहेको मेलम्चीको काम सम्पन्न गर्ने भन्दै ती कम्पनीका कर्मचारीहरु स्वदेश फर्केका हुन् । ‘ठेकेदार कम्पनीका कर्मचारीहरु चाड मनाउन भन्दै पुस २३ मा फर्कने सर्तमा नेपाल छोडेका थिए । आएपछि निर्णायक वार्ता बसेर समाधान निकालिने भनेको छ’ –आयोजना स्रोतले भन्यो।

ताजा समाचार

सम्बन्धित समाचार