दमौली – एक सय वर्ष अगाडि निर्माण गरिएको तनहुँको म्याग्दे गाउँपालिका र भिमाद नगरपालिका जोड्ने सेती नदीमाथिको झोलुङ्गे पुलको मर्मत गरिने भएको छ।
विसं १९७५ मा शुक्लागण्डकी नगरपालिका–१० स्थित फलामखानीको फलाम उत्खनन् गरी निर्माण गरिएको झोलुङ्गे पुल जीर्ण भएपछि भिमाद नगरपालिकाले पुलको मर्मतका लागि चासो देखाएको हो। नगरपालिकाले पुलको मर्मतका लागि चालू आर्थिक वर्ष २०७५÷७६ मा रु ६० लाख विनियोजन गरिएको भिमाद नगरपालिका–७ का वडाध्यक्ष सूर्य श्रेष्ठले जानकारी दिए। ऐतिहासिक पुल भएकोले मर्मत गर्दा स्वरुपमा केही परिवर्तन नहुने उनले बताए।
झण्डै ५४ मिटर लामो झोलुङ्गे पुल लामो समयदेखि जीर्ण छ। पुरानो लठ्ठा मात्रै बाँकी रहेको पुलमा काठका फट्टा कुहिएका छन्। वडाध्यक्ष श्रेष्ठले पुलको तल्लो भागको लठ्ठा काम नलाग्ने भएकाले नयाँ लठ्ठा राखेर काठको फट्टाको साटो फलामको राख्ने योजना रहेको बताए। उनले भने, “ऐतिहासिक पुलको मर्मतपछि यसकै माध्यमबाट आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने योजना बनाएका छौँ।” उनका अनुसार भिमाद प्रवेशद्वारमा स्वागतद्वार र सेती नदीको बीचमा रहेको शिद्धटापु मन्दिर जाने अर्को नयाँ झोलुङ्गे पुल पनि बनाउन लागिएको छ।
पुलको आडैमा २०४८ सालमा मोटरेवल पुल निर्माण भएपछि जीर्ण भएको पुलको मर्मत भएको छैन। भिमाद नगरपालिकाका प्रमुख मेखबहादुर थापाले पुलको निर्माण स्थानीय फलाम खानीबाट भएको धेरैलाई जानकारी नभएकाले पुलको मर्मत गर्न लागिएको बताए। उनले भने, “फलाम खानीबाट बनेको पुलको बारेमा कमैलाई मात्र ज्ञान छ। तसर्थ पुलको मर्मत सम्भार गरेर प्रचारप्रसार गर्ने सोच बनाएका छौँ।”
पुलको मर्मत सम्भारका लागि बजेटको अभाव हुन नदिने थापाले बताए। चालू आर्थिक वर्षमा बजेट अपुग भए आगामी आवको बजेटमा समेत पुल मर्मतलाई प्राथमिकतामा राखिने उनले बताए। थापाले धार्मिक, सांस्कृतिक, ऐतिहासिक र पर्यटकीयस्थलको संरक्षण र प्रचारप्रसार गरेर त्यस्ता ठाउँलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने योजना बनाएको जानकारी दिए। भिमाद नगरपालिका, रिसिङ गाउँपालिका र घिरिङ गाउँपालिकाका साथै नवलपरासी, स्याङ्जा र पाल्पाका बासिन्दाले २०४८ अघि यही पुल भएर आवतजावत गर्दथे । शुक्लागण्डकी नगरपालिका–१० स्थित फलामखानीसमेत हाल बन्द छ। रासस