ओखलढुङ्गा – यहाँका सुख्खाग्रस्त क्षेत्रमा सिँचाइ सुविधा पुगेको छ। जिल्लाको मोलुङ गाउँपालिकाको श्रीचौर, प्राप्चा, हर्कपुर र सिद्धिचरण नगरपालिकाको वर्णालुका सुख्खाग्रस्त क्षेत्रमा रेडक्रसको सहयोगमा सिँचाइ सुविधा पुगेको हो।
भूकम्प प्रतिकार्य कार्यक्रमअन्तरगत सिद्धिचरण र मोलुङमा सिँचाइ कुलो आयोजनाको काम गरिएको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा ओखलढुङ्गाका सभापति सुमन राजभण्डारीले बताए।
स्थानीयको माग र आवश्यकताका आधारमा प्राप्चामा मोलुङ गरा, हर्कपुरमा बेलीचमेली, वर्णालुमा रङ्गबोटे र साजे सुगारे सिँचाइ कुलो आयोजना निर्माण सम्पन्न गरेर समुदायलाई हस्तान्तरण गरिएको सभापति राजभण्डारीको भनाइ छ। आइएफ आरसिको सहयोगमा रेडक्रसले निर्माण तथा स्तरोन्नती गरेका चार वटा सिँचाइ आयोजनाबाट एक हजार ५७ परिवारको चार हजार २५५ रोपनी जमिनमा सिँचाइ सुविधा पुगेको छ।
सुख्खाग्रस्त क्षेत्रमा पुगेको सिँचाइको सदुपयोग गरे किसानहरूको आयआर्जनमा वृद्धि हुने सांसद यज्ञराज सुनुवारले बताए। उनले अब पानी अभावकै कारण खेतीबालीमा देखिएको समस्या समाधान हुने भन्दै किसानको जीवनमा परिवर्तन आउनेमा जोड दिए।
“अब पानी छैन, खेती हुँदैन भनेर नबस्नुस्। धमाधम आफ्नो बारीमा के–के फल्छ त्यो खेती लगाउनुस्”, सांसद सुनुवारले भने “कृषि क्रान्ति गरौँ, ओखलढुङ्गाका नागरिकले अब तराईको तरकारी किनेर खानेदिनको अन्त्य हुनुपर्छ । यहाँ आएका ट्रकहरू रित्तो पठाउने होइन, तरकारी र यहाँको अन्नपातले भरेर पठाऔँ।”
गाउँगाउँमा सडक सुविधा समेत पुगेकाले सिँचाइ र सडकको प्रयोग गरेर किसानले मनग्य आम्दानी बढाउन सक्ने उनको भनाइ थियो। सिँचाइ सुविधा उपभोग गर्न पाएपछि स्थानीय पनि हर्षित भएका छन्। गाउँमा सिँचाइ सुविधा आएको भन्दै नौमती बाजा बजाएर प्राप्चाका स्थानीयले खुसीयाली मनाएका थिए। रासस