नेपालगञ्ज – तरकारी खेतीमा रासायनिक विषादीको प्रयोग कम गर्न बाँकेको खजुरा गाउँपालिका–३ ले किसानका लागि तालीमसहित सचेतनामूलक अभियान सञ्चालन गरेको छ।
रासायनिक विषादीको प्रयोगद्वारा उत्पादित तरकारीले मानिसको स्वास्थ्यमा प्रत्यक्ष असर गर्ने भएपछि सो वडा कार्यालयले विषादिरहित तरकारी उत्पादनका लागि अभियानसहित कृषकलाई तालीम शुरु गरेको हो। वडाध्यक्ष कान्तुराम गौतमले वडा क्षेत्रका किसानलाई विषादी प्रयोग नगरेरै तरकारी उत्पादन गर्न सकिने विधि तथा प्रविधिका विषयमा जानकारी गराउने बताए।
तालीममा सहभागी बनाइएका किसानलाई रासायनिक विषादीको सट्टा जैविक मल प्रयोग गरी तरकारी उत्पादन गर्ने वैज्ञानिक प्रविधि सिकाइएको छ। ‘जैविक मल प्रयोग गरेर उत्पादन गरेका तरकारी अलि महँगो तर सहजै बिक्री हुन्छ र यो स्वास्थ्य र वातावरणीय पक्षमा पनि उपयुक्त हुन्छ,’ प्रशिक्षक पद्म खड्काले भने।
बाख्रामा लागेको रोग ‘पिपिआर’ भएको पुष्टि
बाँकेको डुडुवा गाउँपालिका–५ कम्दीमा बाख्रामा लागेको रोग ‘पिपिआर’ भएको पुष्टि भएको छ। सुर्खेतको वीरेन्द्रनगरस्थित पशुरोग अन्वेषण प्रयोगशालामा गरिएको बाख्राको रगतको ल्याब परीक्षणबाट पिपिआर भएको पुष्टि भएको हो।
रोग पुष्टि भएपछि बाख्राको उपचार शुरु गरिएको गाउँपालिका पशु स्वास्थ्य शाखाप्रमुख अशोक पाण्डेले बताए। सो रोगबाट प्रभावित करीब १०० भन्दा बढी बाख्राको अहिले उपचार भइरहेको छ भने गाउँपालिका क्षेत्रमा रहेका करीब १५ हजार बाख्रालाई त्यस रोगविरुद्ध खोपसमेत दिन शुरु गरिएको शाखाप्रमुख पाण्डेले बताए। एक महीनाअघि बाख्रामा लागेको सो रोगबाट करीब ५० भन्दा बढी बाख्रा मरेका थिए । रासस