ललितपुर– प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार शिलान्यास गरेको धरहरा पुनर्निर्माणको काम सन् २०२० अक्टोबरमा सम्पन्न गर्ने लक्ष्य लिएपनि सो समयसीमामा सम्पन्न गर्न विभिन्न व्यवधानहरू चिरेर अगाडि बढ्नु पर्ने देखिएको छ।
२०७२ वैशाख १२ गतेको महाभूकम्पले ध्वंश बनाएको उक्त धरहराको पुनर्निर्माण तीन वर्षसम्म अन्यौलमा रहेकोमा बल्ल आएर शुरु भएपनि दुई वर्षभित्रै सम्पन्न हुनेमा भने दुविधा देखिएको छ।
नेपालको पहिलो प्रधानमन्त्री भीमसेन थापाले विक्रम सम्वत् १८८२ मा ६ रोपनी क्षेत्रफलमा निर्माण गर्न लगाएको धरहराको पुननिर्माण ४२ रोपनी जग्गाामा भइरहेकोे छ।
तर, ४२ रोपनी क्षेत्रफलको लागि धरहरा नजिकै रहेको हुलाक र टक्सार विभागको भवन भत्काउनुपर्ने हुन्छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार अहिले तत्काल हुलाक र टक्सार विभागको भवन भत्काउन समस्या देखिएको छ।
प्राधिकरणका सम्पदा विभाग प्रमुख राजुमान मानन्धरका अनुसार धरहरा पुनर्निर्माणमा हुलाक र टक्सार विभागको भवन हटाउन चुनौति देखिएको छ। यसले गर्दा अहिले ४२ रोपनीमध्ये १० रोपनी जग्गामात्र प्राप्त भएको छ।
यो बाहेक खानेपानीको पाइप, विद्युतको तार लगायत धरहरा पुननिर्माणमा देखिएको मुख्य चुनौती हुन्। ‘हामीले गत १० अक्टोबरबाट धरहराको पुननिर्माण थालनी गरेका हौँ,’ मानन्धरले भने, ‘तर, धरहरा क्षेत्रको जमिन मुनि गाडिएको १८ वटा केबुलतार, खानेपानीको पाइप, हाइभोल्टेजवाला बिजुलीको अण्डरग्राउण्डिङ तारका कारण समस्या भइरहेको छ।’
उनका अनुसार धरहरा क्षेत्रभित्र रहेका तार तथा भवन हटाउन जति समय लाग्छ त्यति नै समय पुनर्निर्माणको अवधि लम्बिन्छ। तर, बीचमा उक्त भवन हटाउन र अन्य समस्या समाधान गर्न सकिएमा २०२० अक्टोबरमै धरहराको पुननिर्माण सम्पन्न हुने मानन्धरको दाबी छ।
यसअघि धराहरा पुनर्निर्माण काठमाडौं महानगरपालिकाले गर्ने बताएपनि सरकारले पुनर्निर्माणको जिम्मा नेपाल टेलिकमललाई दिएको थियो। तर, पुनर्निर्माण शुरु नगर्दै टेलिकमले हात झिकेपछि हाल आएर प्राधिकरण आफैं पुनर्निर्माणमा जुटेको हो।
धरहरा पुनर्निर्माणको ठेक्का ३ सय ४८ करोड लागतमा जीआईईटीसी–रमन जेभी कम्पनीले पाएको छ।े धरहरा पुननिर्माणका लागि अघिल्लो कार्यकालमा प्रधानमन्त्री ओलीले ‘म बनाउँछु मेरो धरहरा’ अभियान शुरु गर्दै आफ्नो एक महिनाको तलब उपलब्ध गराएका थिए।
५ अक्टोबरबाट काम शुरु गरेको उक्त कम्पनीले अहिले पूरानो धरहराको क्षेत्र तथा नेपाल बैंकको पुरानो कार्यालय छेउछाउमा छेकबार गर्नुका साथै टेलिकम र खानेपानीको लाइन हटाउने काम गरिरहेको छ।
यस्तो बन्ने छ धरहरा
बाहिर ९ तला देखिने तर, भित्री भागमा २२ तला रहने धरहराको उचाइ १ सय ४५ फिटको हुनेछ। अपाङ्गमैत्री धरहरामा वृद्धवृद्धाको लागि छुट्टै व्यवस्था गरिने प्राधिकरणले जनाएको छ। दुई वटा लिफ्टसहितको नयाँ संरचनामा ८ जनालाई चढ्ने र ८ जनालाई ओराल्ने व्यवस्था गरिने भएको छ।
२२ तलामध्ये दुई तला अन्डरग्राउन्ड हुनेछन्। भर्याङ भएर अन्डरग्राउन्डमा जानुपर्नेछ। र, अन्डरग्राउन्डबाट लिफ्ट चढेर धरहरा शिखरमा पुगिनेछ। धरहरामा बैकल्पिक समयका लागि भर्याङको समेत व्यवस्था गरिने भएको छ।
धरहराको शिखरमा एकैपटक ५६ जना अटाउने खाली ठाउँ बनाइने भएको छ। जहाँबाट दृश्यालोकन गर्न सकिनेछ। एक पटकमा सो लिफ्टमा २० जनासम्म चढ्नसक्ने व्यवस्था गरिनेछ।
२९ रोपनी क्षेत्रफलमा फैलने धरहरा परिसरमा म्यूजियम, थिएटर, वाटर फाउन्टेन, आकर्षक बगैँचा, रेष्टुराँ, पार्किङ लगायतका सुविधा रहनेछन्।
२०७२ वैशाख १२ गतेको भूकम्प अघि धरहरा ९ तलाको थियो। १९९० सालको भूकम्पअघि धरहरा ११ तलाको थियो। तर, भूकम्पले २ तला भत्किएपछि ९ तलामा सीमित धरहरा २०७२ को भूकम्पमा पूरै ढलेको थियो।