काठमाडौँ –आजका पत्रपत्रिकामा विकास निर्माण तथा वातावरणीय मुद्दाका विभिन्न विषयमा समाचार छापिएका छन् ।
नेपाल समाचारपत्र
–आजको समाचारपत्रमा चिसो अझै बढ्छ : मौसमविद् शिर्षकमा समाचार छापिएको छ । भारतको जम्मुकास्मिर हुँदै भित्रिएको उत्तरपश्चिमी वायु हिमालय श्रृंखलालाई छोएर बहँदा मुलुकका अधिकांश भेगको तापक्रम निकै खस्किएको छ । यही कारणले चिसो अझै बढ्ने मौसमविद्हरूको ठहर छ।
मंगलबार २ दशमलव ६ डिग्री रहेको काठमाडौँ उपत्यकाको तापक्रम बुधबार १ दशमलव ५ डिग्रीमा झरेको छ । मध्य हिउँद अझै बाँकी रहेकाले तापक्रम अझै खस्किने मौसमविद् वरुण पौडेलले बताए । अहिलेको मौसमी अवस्थालाई नियाल्दा काठमाडौँको तापक्रम शून्यका हाराहारी झर्न सक्छ अझै डेढ÷दुई साता तापक्रममा खासै सुधार नआउने समाचारमा उल्लेख छ।
त्यस्तै धरहरा पुननिर्माणले आजदेखि औपचारिकता पाउँदै शिर्षकमा ईश्वरराज ढकालको समाचार छापिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको अघिल्लो कार्यकालमा (२०७२ साल फागुन ४ गते) ‘म बनाउँछु मेरो धरहरा’ अभियानअन्तर्गत आफ्नो एक महिनाको तलब धरहरा पुनर्निर्माणका लागि उपलब्ध गर्नुभएको झन्डै ४ वर्षपछि आफैंले धरहरा पुनर्निर्माणको शिलान्यास गर्नुहुने भएको छ।
प्रधानमन्त्री ओलीले आज बिहीबार बिहान ११ बजे शिलान्यास गर्नुहुने कार्यक्रम तय भएको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले शिलान्यासको सम्पूर्ण व्यवस्था गरेको छ। वैशाख १२ गते गएको शक्तिशाली भूकम्पले धरहरा ध्वस्त भएको थियो।
नागरिक
आजको नागरिकमा बेलिब्रिज बनेपछि दिक्तेल–गाईघाट सीधा यातायात सञ्चालन शिर्षकमा दमन राईको समाचार प्रकाशित भएको छ।
खोटाङको फोक्सिङटारस्थित सुनकोशी नदीमा अस्थायी पुल (बेलिब्रिज) हालिएपछि दिक्तेल–गाईघाट सीधा यातायात सेवा सुरु भएको छ। दिक्तेल–गाईघाट सडकअन्तर्गत खोटाङको खोटेहाङ गाउँपालिका–९,लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिकाको आँपटारस्थित सुनकोशी नदीमा बेलिब्रिज राखिएपछि खोटाङ र पूर्वी तराई जोड्ने दोस्रो सीधा र छोटो बाटो खुलेको हो।
त्यस्तै सडकपेटीमा स्मार्ट डस्टबीन शिर्षकमा बटुकराज गिरीको समाचार छापिएको छ। काठमाडौँ महानगरपालिका परिसरमा प्लास्टिक जन्य फोहोरहरूलाई व्यवस्थापन गर्ने मूल उद्देश्यका साथ स्मार्ट डस्टबीन सञ्चालनमा ल्याइएको छ।
हाल सो डस्टबीन ठमेल, माइतीघर, बानेश्वर, गौशाला, बबरमहल, मीनभवन, र रत्नपार्कमा राखिएको छ। ‘पैदल यात्रीहरूले प्रयोग गरेको प्लास्टिक जन्य फोहोरलाई व्यवस्थापन गर्नका लागि शुरुमा पर्यटकीय क्षेत्र तथा ठमेल, माइतीघर, बानेश्वर, गौशाला, बबरमहल, मीनभवन, र रत्नपार्क आसपास राखिएको छ,’ साझेदारी कम्पनी कृष्ण सप्लायर्स प्रबन्धक निर्देशक शैलश कुवँरले बताएको समाचारमा उल्लेख छ।
आर्थिक अभियानलज
–आजको अभियानमा हुलाकी राजमार्ग:बाँके सडकखण्डकाे कालोपत्रे हुँदै शिर्षकमा समाचार छापिएको छ। जिल्लामा हुलाकी राजमार्ग अन्तर्गत सडकखण्डको धमाधम कालोपत्रे थालिएको छ । गणपति ग्रुप अफ कन्ट्रक्शन कम्पनीले चिल्लाको पूरैनीबाट कालेपत्र शुरु गरेको हो। कम्पनीका सहायक व्यवस्थापक इन्द्रबहादुर केसीले राप्तीदेखि पुष्पलाल चोकसम्म पुस महिनामै कालेपत्रे गरिसक्ने बताएको समाचारमा उल्लेख छ।