काठमाडौँ – आजका पत्रपत्रिकामा विकास निर्माण तथा वातावरणीय मुद्दाका विषयमा समाचार छापिएका छन् ।
अन्नपूर्ण पोस्ट
–आजको अन्नपूर्ण पोस्टमा जलश्रोत हेर्न छुट्टै निकाय शिर्षकमा चन्द्रशेखर अधिकारीको समाचार छापिएको छ। नेपालले समुद्रसँगको पहुँच थप सहज बनाउन भारतले निर्माण गरिरहेको सतह जलमार्ग (इनल्याण्ड वाटर वे) उपयोग गर्न माग गरेको छ। भारतको झारखण्ड र विहारमा आइपुग्ने मानव निर्मित जलमार्ग टर्मिनल उपयोगका लागि नेपालले कूटनीतिक र राजनीतिक पहल थालेको हो।
जलमार्गको उपयोगका लागि सरकारले ‘जलमार्ग मात्रै हेर्ने’ छुट्टै निकाय बनाएर प्राविधिक काम थाल्न लागेको प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दिएको छ। पहिलो चरणमा भारतको झारखण्डको साहिवगंज र विहारको कालुघाट आइपुग्ने जलमार्ग नेपालको प्राथमिकतामा परेको प्रधानमन्त्री कार्यालयका अधिकारीले बताए। सरकारले तत्कालका लागि नेपाल–भारत व्यापार तथा पारवहन सन्धिमा आवश्यक परिमार्जन गरी साहिवगंजदेखि हल्दियासम्म आफ्नै स्वामित्वको पानीजहाज सञ्चालन गर्ने प्रयास गरेको हो। तेस्रो मुलुकसँगको व्यापारमा लाग्ने खर्च प्रभावकारी ढंगले घटाउन सकिने भन्दै सरकारले आग्रह गरेको हो।
नेपाल समाचारपत्र
–आजको समाचारपत्रमा चिसोले तराई –मधेस अस्तव्यस्त शिर्षकमा कुष्णदास खनालको समाचार छापिएको छ । पुस शुरू भएसँगै मध्य तराई र मधेसमा शीतलहरका कारण जनजीवन कष्टकर बनेको छ। साँझ–बिहान चिसो बढेसँगै ३ दिनदेखि दिउँसो पनि घाम नदेखिँदा जनजीवन कष्टकर हुँदै गएको छ।
हुनेखानेले जतन गरेर राखेको बाक्लो लुगा पहिरिन थालेका छन्। तर, आर्थिक स्थिति कमजोर हुने तराईका मुसहर र डोमजस्ता समुदायका लागि शीतलहर काल बनेर आउने गरेको छ। मध्य तराईको पर्सासहित बारा, रौतहटलगायतका तराईका जिल्लामा शीतलहरको प्रभाव बढ्दै गएको छ। चिसोका कारण दैनिक काम गरी खाने मजदुर बिहान–बेलुका बाहिर निस्कन सकेका छैनन्।
राजधानी
–आजको राजधानीमा भान्सामै दूषित परिकार शिर्षकमा कौशिला कुँवरको समाचार छापिएको छ । खानपान स्वास्थ्यको महत्वपूर्ण हिस्सा हो। आमसर्वसाधारणले स्वास्थ्य स्थिति राम्रो होस् भनेर भान्सा कोठामा विशेष सरसफाइ गर्छन्, खाने परिकार स्वस्थ र स्वच्छ होस् भन्नेमा हरेक व्यक्ति सचेत हुन्छन् अनि सकेसम्म स्वस्थबद्र्धक परिकार बनाउँछन् । तर, हामीले भान्सामा प्रयोग गर्ने सामग्री नै दूषित छ भने घरभित्रको सरसफाइको कुनै अर्थ हुँदैन ।
तपाईंलाई आश्चर्य लाग्न सक्छ। हामीले दैनिक जीवनमा प्रयोग गर्ने खाद्य सामग्रीमध्ये ११५ उद्योगबाट उत्पादन हुने दैनिक उपभोग्य वस्तु खानै नमिल्ने खालका छन् । तीमध्ये कतिपय उपभोग्य वस्तु उपभोग गर्दा रोगको खतरासमेत हुन्छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दैनिक उपभोग्य वस्तु उत्पादन गर्ने ११५ उद्योगका उत्पादन खान अयोग्य भएका जनाएको छ । विभागले हामीले दैनिक उपभोग गर्ने दाल, तेल, दूध, मसला, मिठाइ, पानी, चामलजस्ता उपभोग्य वस्तु अखाद्य भेटिएको जनाएको छ।
नागरिक
–आजको नागरिकमा धान उत्पादन साढे चार लाख टनले बढ्यो शिर्षकमा दिलीप पौडेलको समाचार छापिएको छ। यो वर्ष करिब साढे चार लाख मेट्रिक टन धान उत्पादन बढेको छ। चालु आर्थिक वर्ष ०७५/७६ मा ५६ लाख १० हजार मेट्रिक टन धान फलेको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ। यो वर्षको धान उत्पादन अहिलेसम्मकै धेरै हो। गत आर्थिक वर्ष ०७४र७५ मा ५१ लाख ५१ हजार टन धान फलेको थियो।
समयमा धान रोपाइँ, अनुकूल मौसम, पर्याप्त सिँचाइ, रासायनिक मलको व्यवस्था हुँदा धान उत्पादन वृद्धि भएको मन्त्रालयको दाबी छ। विगतमा सबैभन्दा धेरै आर्थिक वर्ष ०७३र७४ मा ५२ लाख ३० हजार टन धान फलेको थियो। सरकारले मोटा धानको मूल्य प्रतिक्विन्टल दुई हजार तीन सय ३१ रुपैयाँ तोकेको छ। मन्त्रालयका अनुसार गत वर्षभन्दा करिब १० अर्ब ६९ करोड रुपैयाँ मूल्यको धान बढी फलेको छ। धान उत्पादन वृद्धि भएपछि विदेशबाट चामल आयात भइरहेको अवस्थामा आयात प्रतिस्थापन हुनेछ। विगतका वर्षमा बाँझो रहेको जमिन पनि यो वर्ष समयमै वर्षात् हुँदा सिँचाइ भएर किसानले धान रोपेको मन्त्रालयले जनाएको छ।