काठमाडौँ – मेलम्ची खानेपानी आयोजनाको ठेक्का रद्द गरेर भाग्न खोजेको इटालियन कम्पनी सिएमसी फेरि काममा फर्कने भएको छ।
१७ डिसेम्बरमा एकतर्फी ठेक्का तोडेको जानकारीसहितको पत्र बुझाएको सिएमसीले ठेक्का रद्दको पत्र फिर्ता लिँदै पुनः काममा फर्कने बताएको हो।
खानेपानी मन्त्रालयका सचिव गजेन्द्र कुमार ठाकुरले हाकाहाकीसँग कुरा गर्दै सिएमसीले ठेक्का रद्दको पत्र फिर्ता लिएको बताए। सिएमसीले अग्रेजी नयाँ वर्षपछि कामदारहरू पुनः काममा फर्कने आश्वासन मन्त्रालयलाई दिएको उनले बताए ।
‘ठेक्का रद्दको पत्र फिर्ता लिँदै कम्पनीले हामीलाई पुनः काममा फर्कने बताएको छ,’ उनले भने,‘उसले मागेको रकम मध्ये ३५ करोड काम शुरु गरेको केही दिनमा काम हेरेर दिन्छौँ त्यसपछि थप कदम चाल्छाैँ, मुलुकको पैसा त्यसै खेर फाल्न त भएन।’
उनका अनुसार सिएमसीले आफ्ना कामदार क्रिसमस र नयाँ वर्ष मनाउन बाहिर जान लागेको बताउँदै नयाँ वर्ष पछि पुनः काममा फर्कने जनाएको छ।
गत आइतबार काम छोडी भाग्न खोजेपछि नेपाल सरकारले सिएमसीको प्रमुख सहित ८ जनाको पासपोर्ट जफत गरेको थियो। गरिरहेको काम छोडेर एक्कासी भाग्न खोजेपछि खानेपानी मन्त्रालयले सिएमसीको अढाइ अर्ब धरौटी रकम रोक्का राख्न बैंकलाई पत्रचार गरेको थियो। धरौटी रकम रोक्का राखिएपछि सिएमसी पुनः काममा फर्कने भएको मन्त्रालय श्रोतले जनाएको छ।
भूकम्प र नाकाबन्दीका कारण काम रोकिएको र एक अर्ब क्षति भएको र उक्त रकम चाहिने भन्दै सिएमसीले सरकारसँग माग गरिरहेको थियो । नेपालले सिएमसीले माग गरेको रकम मध्ये ३५ करोड काम सकेपछि मात्र दिने जनाएपछि सिएमएसी सो रकम तत्काल चाहिने र नदिए ठेक्का रद्द गर्ने बताउँदै आएको थियो।