ललितपुर – वर्षौदेखि रहेको खानेपानीको समस्या समाधानका लागि महालक्ष्मी नगरपालिकाले नगरपालिका र आसपासका नगरपालिकामा रहेका पानीको स्रोतको खोजी शुरु गरेको छ।
खानेपानीको समस्या समाधानका लागि अल्पकालीन र दीर्घकालीन दुबै समाधानको खोजी भइरहेको नगरपालिकाले जनाएको छ। नगरपालिकाभित्र रहेका स्रोतको परिचालन र सुधारलाई जोड दिइएको उपप्रमुख निर्मला थापाले बताए। अल्पकालीन योजनामा विभिन्न स्थानमा डिप बोरिङ र आकाशे पानी सङ्कलन गरेर पानी निकाल्न लागिएको छ।
दीर्घकालीन योजनामा दोस्रो चरणको मेलम्चीका लागि सरकारसँग अनुरोध भइरहेको छ । उनले भने, “अहिले धेरै नगरवासीले खानेपानीको समस्या चाँडो समाधान होस् भन्ने चाहेका छन्।”
नगरपालिकाभित्रै पर्ने सिंहऋषि मुहानमा रहेको पानीको स्रोतको विस्तृत परियोजना अध्ययन (डिपिआर) भइसकेको नगरपालिकाले जनाएको छ। लाँकुरीभञ्ज्याङमा रहेको स्रोतका लागि प्रदेश र सङ्घ दुबैले बजेट विनियोजन गरेका छन्।
नगरपालिकाले ग्वालिन दह र चापाखर्कमा रहेका पानीको स्रोत सुधारका लागि बजेट छुट्टाएको छ । उनले भने, “नगरवासीको अपेक्षाअनुसार हामीले नगरपालिकाबाट गर्ने काममा खानेपानीलाई बढी जोड दिएका छौँ ।”
महालक्ष्मी नगरपालिकाका धेरै वडामा खानेपानीको समस्या छ । नगरपालिकाभित्र भएका स्रोत पर्याप्त नभएको र भएका स्रोत समेत सुधार गर्नुपर्ने अवस्थामा भएकाले नगरवासीले खानेपानी अभाव झेल्दै आएका छन्।रासस