नवलपरासी– बर्खायाममा राप्तीको बाढीले नेपाली भूमि मात्र बगाउँदैन, जंगली जनावर पनि उसैगरी बगाउँछ। बगाएको भूमि फिर्ता सम्भव भएन तर राप्ती बाढीले बगाएर भारत पुर्याएको एउटा गैंडालाई भने एक वर्षपछि सुस्ताका स्थानीयवासीले गुलेलीको सहाराले नेपाल फर्काएका छन् ।
गत वर्ष राप्ती नदीमा आएको बाढीले बगाएर भारत पुर्याएको करिब १५–२० वर्षको पोथी गैंडालाई आइतबार राति चितवन राष्ट्रिय निकुञ्जमा ल्याइएको छ।
नवलपरासीको सुस्तानजिकै भारतको जंगलमा रोकिएको गैंडालाई चितवन राष्ट्रिय निकुञ्जमा ल्याएर छाडिएको छ।
उद्धार गरिएको गैंडालाई राति करीब ११ बजे चितवन निकुञ्जको तमोर तालनजिकै ल्याएर छाडिएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले बताए। गैंडा सुस्तामा आएपछि उद्धार गरी निकुञ्ज ल्याइएको हो।
निकुञ्जका कर्मचारी र स्थानीयवासीले गैंडा फर्काउन गरेको प्रयास भने निकै रोचक छ।
भारतीय सुरक्षाकर्मी र कर्मचारीले बाढीले बगाएर भारत पुर्याएको गैंडा नेपाल फर्कन नपाओस् भनेर कसरत गरिरहेका थिए। निकुञ्जका कर्मचारी र स्थानीयवासी मध्यरातमा सीमा नजिकै जंगलमा पुगे। गैंडा बसेको ठाउँ भेटियो।
गैंडा देख्नेबित्तिकै भारततर्फको भूभागबाट स्थानीयवासीले गैंडालाई गुलेलीले हाने। गुलेलीको डरले गैंडा विस्तारै नेपालतर्फ लाग्यो। अन्ततः नेपाली भूमितर्फको उखुबारीमा आइपुग्यो गैंडा।
स्थानीयवासीले गैंडा नेपाल ल्याउन बेहोस बनाउने सुई पनि लगाउन नखोजेका होइनन् तर बेहोस भएर गैंडा पुनः भारततर्फ जाने डरले उनीहरूले बेहोस बनाउनुको सट्टा गुलेलीले हान्ने जुक्ति निकाले।
नेपाल आएको गैंडा भारत नजाओस् भनी सुस्तावासीले ट्याक्टरको बार बनाएर बल्लबल्ल गैंडालाई नेपाली भूमिमा ल्याए।
सुस्तावासीले गैंडा उद्धारमा ठूलो सहयोग गरेको राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख रामकुमार अर्यालले बताए। आइतबार दिउँसो २ः५० बजे उद्धार भएको गैंडालाई साँझ ठूलो डुंगामार्फत नारायणी तारेर नवलपरासीको त्रिवेणी ल्याइयो। त्यसपछि ट्रकमा राखेर राति नै चितवन लगिएको हो।
बाढीले बगाएका गैंडालाई निकुञ्जका कर्मचारीले स्थानीयवासीको सहयोगमा डुंगामा तारेर ल्याइएको यो दोस्रोपटक हो।
अझै दुईवटा गैंडा भारतमा रहेको र उक्त गैंडा रहेको क्षेत्र गैंडाका लागि उपयुक्त बासस्थान नभएकाले निकुञ्ज ल्याउन पहल भइरहेको ढकालले बताए। भारतमा रोकिएका बाँकी दुई गैंडा पनि भारतले नेपाल ल्याउनका लागि अनुमति दिएको छैन।
गैंडालाई नेपाल ल्याउन आफैं सुस्ता पुगेका चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले सुस्तावासीको सहयोगले भारत पुगेको गैंडा नेपाल ल्याउन सफल भएको बताए।
राष्ट्रिय प्रकृति संरक्षण कोष र चितवन निकुञ्जका वन्यजन्तु प्राविधिक तथा पशु चिकित्सकसहित ३० भन्दा बढी संरक्षणकर्मी उद्धारमा खटिएका थिए।
गैंडा नेपाल ल्याउने अभियानमा साथ दिएका स्थानीय रवीन्द्र बानियाले भने, ‘भारतीय पक्षले गैंडा नेपाल ल्याउन नदिन ६ जना कर्मचारी नै खटाएका थिए तर हामीले गुलेलीको सहारामा लुकीलुकी धपाउँदै नेपाली भूमि सुस्तामा ल्यायौं ।’ रामकुमार श्रेष्ठ/राजधानी दैनिक