काठमाडौँ – ‘हैट ! के सारो चिसो, चिसो त अचाक्ली पो बढ्यो त, तापक्रम माइनसमै पुग्यो कि क्या हो’ –सोमबार दिनभरजसो काठमाडौंका अधिकांश भेगमा यस्तै चर्चा सुनियो।
आम सर्वधारणले चासो लिएझैं सोमबार काठमाडौंमा यस वर्षकै सबैभन्दा चिसो दिन हो। सोमबार बिहान उपत्यकाको न्यूनतम तापक्रम २ दशमलव ५ डिग्री सेल्सियस मापन भएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरको स्टेसनलाई आधार मानेर तापक्रमको खबर सार्वजनिक गरेको हो।
महाशाखाले हरेक दिन बिहान पौने ९ र बेलुका ६ बजे विमानस्थलको विवरणलाई आधार मानेर मौसमी विवरण सार्वजनिक गर्दै आएको छ। सोही विवरण सञ्चारमाध्यमबाट सार्वजनिक हुँदा धेरैका लागि पत्यार लाग्दैन, अनि फेरि स्वाभाविक प्रश्न दोहोरिन्छ–‘हैन होला, कहाँ साढे दुई मात्रै हुनु, चिसो यति धेरै बढ्या छ तुसारो र शीतले छपक्कै छोप्न थाल्या छ ।’
विमानस्थलको स्टेसनले काठमाडौं उपत्यकाभरको मौसमी विवरण अद्यावधिक गर्दैन, त्यसैले तापक्रमको खबरमा शंका गर्ने ठाउँ पर्याप्त रहन्छ। काठमाडौंको मध्य भेग, खुला चौर, गल्छी, पहाड आसपासका वस्ती र अन्यत्रको तापक्रम फरक हुने मौसमविद्हरु स्वीर्काछन्। एउटा स्टेसनको मौसमी विवरण समग्र उपत्यकाका लागि व्यावहारिक हुन्छ र भन्ने प्रश्नमा महाशाखा प्रमुख सरजुकुमार वैद्य भन्छन्– ‘पक्कै पनि व्यावहारिक होइन, हामीले अन्तर्राष्ट्रिय प्रचलनलाई अभ्यास गर्दै औसत विवरण सार्वजनिक गर्दै आएका छौं ।’
विश्व मौसम संगठन (डब्ल्यूएमओ) ले कुनै भूगोल र क्षेत्र विशेषलाई आधार मानेर मौसमी विवरण सार्वजनिक गर्दै आएको अभ्यासलाई नेपालमा पनि अनुशरण गर्दा समग्र क्षेत्र समेट्न नसकिएको उनको भनाइ छ । वैद्यले बताएझैं महाशाखालाई मौसमी स्टेसनको अभाव भने छैन । जल तथा मौसम विज्ञान विभाग मातहत देशभर ५ सयभन्दा बढी वर्षा मापन स्टेसन छन् भने १ सय ४० का हाराहारीमा तापक्रम अद्यावधिक गर्ने केन्द्र छन् ।
काठमाडौंमा विमानस्थलसहित पानीपोखरी, थानकोट, ललितपुरको खुमलटार र गोदावरी, भक्तपुरको नगरकोट र भक्तपुरमा तापक्रम अद्यावधिक गर्ने स्टेसन छन् । उपत्यकाका सबै स्टेसन स्वचालित (अटोमेटिक वेदर स्टेसन) प्रणालीमा आधारित नभएकाले सूचना एकीकृत गर्न व्यावहारिक नहुने मौसमविद्हरुको तर्क छ। ‘थानकोट र खुमलटारको अटोमेटिक वेदर स्टेसन भए पनि कहिलेकाहीं समस्या आइरहन्छ, अयन्त्रका स्टेसनको विवरण अद्यावधिक गर्न प्रत्यक्ष सोही ठाउँमै पुग्नुपर्ने भएकाले व्यावहारिक कठिनाइ छ’ –महाशाखाका एक मौसमविद्ले भने ।
मौसम विभागका अनुसार त्रिभुवन विमानस्थलको स्टेसन १ हजार ३ सय २६ मिटरको उचाइमा छ। उपत्यकाको भौगोलिक अवस्थिति फरक भएकाले स्वभाविक रुपमा तापक्रमको विवरण फरक हुने विज्ञहरु बताउँछन्। हरेक एक सय मिटर उचाइको अन्तरमा तापक्रम शून्य दशमलव ६५ डिग्रीले घट्ने भएकाले विमानस्थलको स्टेसनले दिने सूचनासँग मिल्दो नहुने उनीहरुको तर्क छ।
‘काठमाडौंको न्यूनतम तापक्रम २ दशमलव ५ डिग्री रहँदै गर्दा स्वाभाविक रुपमा नगरकोट, फूलचोकी, चन्द्रागिरीजस्ता पहाड र आसपासको तापक्रम शून्य वा सोभन्दा कम हुन्छ’ –एक मौसमविद्ले भने।
पश्चिमी वायुको प्रभावले धेरै ठाउँको तापक्रम घटेको छ। महाशाखाका अनुसार जुम्लाको न्यूनतम तापक्रम माइनस ६ पुगेको छ भने दिपायलको २ दशमलव ४, वीरेन्द्रनगरको ४, डडेलधुराको ४ दशमलव २ पुगेको छ।
यसैबीच बंगालको खाडीको दक्षिण–पश्चिम क्षेत्रमा बनेको चक्रवात ‘फेथाई’ उत्तर–उत्तरपश्चिम दिशातर्फ सरिरहेकाले त्यसको मौसमी प्रभाव नेपालमा प्रत्यक्ष पर्ने देखिएको छ । सो प्रभाव सोमबार नेपालमा भित्रिँदा देशको पूर्वी र मध्यभेगको मौसम बदलिएर हिमपातसहित वर्षा हुने महाशाखाले जनाएको छ । त्यस्तो प्रभावले हिमाली र उच्च पहाडी क्षेत्रमा हिमपात गराउने, पश्चिमी क्षेत्रमा हल्का र क्षणिक वर्षा हुने महाशाखाले उल्लेख गरेको छ। टीका बन्धन /नेपाल समाचारपत्र