काठमाडौं – यस वर्ष धान उत्पादन दशककै बढी भएको छ । गत वर्षको तुलनामा यस वर्ष धान उत्पादनमा १० प्रतिशतले वृद्धि भएको हो।
गत वर्ष ५२ लाख ३० हजार ३२७ मेट्रिक टन उत्पादन भएको थियो भने यस वर्ष ५७ लाख मेट्रिक टन धान उत्पादन हुने मन्त्रालयको अनुमान छ । मौसमअनुकूल भएकाले धान उत्पादन यस वर्ष दशककै बढी भएको मन्त्रालयले जनाएको छ ।
मौसमअनुकूल हुनुका साथै धान रोपाइँ क्षेत्रफल बढेकाले पनि यस वर्ष धान उत्पादन दशकै बढी भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता तेजबहादुर सुवेदीले बताए । विगतको अवस्था हेर्दा यस वर्ष मल वितरण व्यवस्थापन राम्रो भएको हुँदा पनि धान उत्पादन बढेको प्रवक्ता सुवेदीको भनाइ छ ।
‘अहिले हामीसँग यकिन तथ्यांक नभए पनि विगतभन्दा करिब १० प्रतिशत धान उत्पादनमा वृद्धि हुने अनुमान गरेका छौं,’ सुवेदीले भने, ‘विगत १० वर्षको तथ्यांक हेर्दा यस वर्षको धान उत्पादन एक दशकयताकै बढी छ।’
सुवेदीका अनुसार तथ्यांक विभागले संकलन गरेको तथ्यांक र मन्त्रालयमा आएको तथ्यांकलाई समायोजन गरी अन्तिम तथ्यांक निकाल्ने तयारी भइरहेको छ।
धान उत्पादनमा हुने वृद्धिले नेपालको अर्थतन्त्रमा ठूलो महत्त्व राख्छ। धानको उत्पादन घट्दा कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा असर पर्छ भने धानको उत्पादन बढ्दा जीडीपी उकालो लाग्नेछ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांकअनुसार नेपालमा कुल खेतीयोग्य जमिनको क्षेत्रफल ३० लाख ९१ हजार हेक्टर छ । कुल खेतीयोग्य जमिनमध्ये लगभग ५० प्रतिशत जमिनमा धान खेती हुन्छ।
नेपालको अधिकांश खेतीयोग्य जमिन अकासे सिँचाइमा निर्भर छ । खेती लगाउने समयमा मुनसुनले साथ नदिए किसान मर्कामा पर्छन् ।
धान रोप्ने समयमा पानी नआउने हो भने पहाडी भेगका अधिकांश जमिन बाँझो हुने सम्भावना धेरै हुन्छ । धान खेती लगाउने मौसम ९असार–साउन० मा वर्षा भएन भने सिफारिस भए जति जमिनमा धान रोपाइँ हुँदैन।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०७४/०७५ मा नेपालमा १४ लाख ६९ हजार ५४५ हेक्टरमा धान रोपाइँ भएको थियो । रोपाइँ भएकामा ५१ लाख ५१ हजार ९२५ मेट्रिक टन धान उत्पादन भएको थियो ।
यस्तै, आर्थिक वर्ष २०७३/०७४ मा नेपालमा १५ लाख ५२ हजार ४९६ हेक्टरमा धान रोपाइँ भएकामा ५२ लाख ३० हजार ३२७ मेट्रिक टन उत्पादन भएको थियो।
यस्तै, आर्थिक वर्ष २०७२/०७३ मा १३ लाख ६२ हजार ९०८ हेक्टर जमिनमा धान खेती भएकामा सो वर्ष ४२ लाख ९९ हजार ७८ मेट्रिक टन धान उत्पादन भएको थियो।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयको २८ साउनसम्मको तथ्यांकअनुसार यस वर्ष देशभर १५ लाख ५२ हजार ४६९ हेक्टर धान खेतीयोग्य जमिनमध्ये १४ लाख ८१ हजार १३ हेक्टर जमिनमा रोपाइँ भएको छ।
तथ्यांकअनुसार नेपालका उच्च पहाडमा ५८ हजार १५८ हेक्टर जमिनमध्ये ५५ हजार ९५८ हेक्टर जमिनमा रोपाइँ भएको छ। उच्च पहाडमा ९६ दशमलव ५१ प्रतिशत रोपाइँ भएको तथ्यांकले देखाएको छ । त्यस्तै, मध्यम पहाडमा तीन लाख ९९ हजार ६७८ हेक्टर जमिनमध्ये ३ लाख ७६ हजार ८६ हेक्टर जमिनमा रोपाइँ भएको छ । मध्य पहाडमा ९४ दशमलव १० प्रतिशत रोपाइँ भएको तथ्यांकले देखाउँछ।
यस्तै, तराईमा १० लाख ९४ हजार ६३६ हेक्टर जमिनमध्ये १० लाख ४८ हजार ९४२ हेक्टरमा रोपाइँ भएको छ। चालू आव ९५ दशमलव ८३ प्रतिशत रोपाइँ भएको तथ्यांकले देखाएको छ।
धान उत्पादन वर्ष २०६३/०६४ ४२९९२४६ २०६४/०६५ ४५२३६९३ २०६५/०६६ ४०२३८२३ २०६६/०६७ ४४६०२७८ २०६७/०६८ ५०७२२४८ २०६८/०६९ ४५०४५०३ २०६९/०७० ५०४७०४७ २०७०/०७१ ४७८८६१२ २०७१/०७२ ४२९९०७९ २०७२/०७३ ५२३०३२२७ २०७३/०७४ ५७०००००
काैशिला कुँवर /राजधानी दैनिक