काठमाडौँ – प्रहरीले पाटेबाघको छालासहित दुई जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँबाट खटिएको टोलीले काठमाडौँ महानगरपालिका–२६ स्थित आकाशे पुल नजिकबाट नुवाकोटका तेज अधिकारी र विक्रम लामालाई बाघको छालासहित नियन्त्रणमा लिएको परिसरका प्रहरी नायब उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए।
बरामद छालासहित निजहरुलाई आवश्यक कारबाहीका लागि जिल्ला वन कार्यालय पठाइएको प्रहरीले जनाएको छ।
त्यस्तै प्रहरीले बानेश्वरस्थित मुक्तिनाथ विकास बैंकको एटिएम मेसिन तोडफोडमा संलग्न सिरहाको सुखीपुर नगरपालिका–६ घर भई हाल कामपा–३१ देउराली क्लबमा बस्ने वर्ष १८ का किशोर यादवलाई नियन्त्रणमा लिएको छ। निजले पैसा चोर्ने उद्देश्यले एटिएम मेसिन तोडफोड गरेको प्रहरीले जनाएको छ। सिसिटिभी फुटेजका आधारमा यादवलाई उक्त बैंक रहेको भवनमा बसिरहेको अवस्थामा फलामको रडसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
यसैगरी कामपा वडा नं ३२ सुविधानगरस्थित एक घरमा कोही नभएको मौका पारी गरगहना तथा नगद चोरी गर्ने मकवानपुरको पौरही गाविस–७ का १८ वर्षीय नवीन विकलाई चोरी गरेको धनमालसहित नियन्त्रणमा लिएको छ। निजको साथबाट रु सात हजार ५००, सुनको सिक्री एक थान, मङ्गलसुत्र दुुई थान, ल्यापटप र मोबाइल एक÷एक थान र घर फोर्न प्रयोग गरेको औजारसहित बरामद गरेको प्रहरीले जनाएको छ।