Friday, November 15, 2024

अव्यस्थित तार व्यवस्थापन गर्दै पोखरा महानगर

चिप्लेढुङ्गा – पोखरा महानगरले अव्यवस्थित बिजुली, इन्टरनेट एवं केबुलका तारलाई व्यवस्थित गर्ने भएको छ।

पोखरा सुन्दरतामा बाधक बनिरहेको अव्यवस्थित तारहरुलाई मङ्सिर २७ गते बिपी चोकबाट तार व्यवस्थित गर्ने अभियान शुरु गरिने महानगरका प्रमुख मानबहादुर जिसीले जानकारी दिए।

पर्यटकीय शहर पोखराका सडकमा रहेका बिजुली, केबुल, टेलिफोन र इन्टरनेटका अव्यवस्थित तारका कारण शहरको सुन्दरतामा ह्रास आउनुका साथै विभिन्न समयमा दुर्घटनासमेत निम्तिएको छ।

चैत ९ गते बसको छतमा राखेर ल्याइएको हाते ट्र्याक्टर पोखरा महानगरको अमरसिंह चोकको बिजुलीको तारमा ट्र्याक्टर झुन्डिएको थियो । गत वर्ष साउन २६ गते रानीपौवामा बिजुलीको तार एक्कासि चुँडिएर सडकमा खस्दा गुडिरहेको मोटरसाइकलमा सवार एक युवाको ज्यान गएको थियो। अव्यवस्थित बिजुलीका तारका कारण आगलागीसमेत हुँदै आएको छ।

महानगरले नेपाल विद्युत् प्राधिकरण, इन्टरनेट सेवा प्रदायक संस्था, नेपाल टेलिकम, केबल व्यवसायीलगायतका संस्थालाई बोलाएर तार व्यवस्थापनमा सहयोग गर्न आग्रह गर्दै महानगरले सूचना प्रकाशित गरेको थियो। सूचनापश्चात् नेपाल टेलिकम, नेपाल विद्युत् प्राधिरण, एनसेलसहित इन्टरनेट प्रदायक संस्थासँगको बैठक बसी व्यवस्थापन सहजीकरण समिति गठन गरेको छ।

पोखरा महानगरका प्रमुख मानबहादुर जिसी, महानगरका प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेलसहित बसेको बैठकले महानगरका उपसचिव तथा सूचना अधिकारी गङ्गालाल सुवेदीको संयोजकत्वमा तार व्यवस्थपान सहजीकरण समिति गठन गरेको छ ।

नेपाल टेलिकमले प्राविधिक सहयोगमा तार व्यवस्थापन हुनेछ । तार व्यवस्थापन गर्ने क्रममा सम्बन्धित निकाय सबै उपस्थित हुने निर्णय भएको र जस्को तार टाँगिएको छ उस्ले आफैँ व्यवस्थापन गर्ने सहमति भएको महानगरका प्रमुख प्रशासकीय अधिृकत शेषनारायण बताए।

ताजा समाचार

सम्बन्धित समाचार