बाजुरा– देशभर चिसाे बढेसँगै बाजुरामा बुधबार अपरान्ह्देखि हिमपात र वर्षा शुरु भएको छ ।
जिल्लाका मार्तडीको पोरखे, बिच्छ्या, दहकोट, जुकोट, रुगीन, आटीचौरका माथिल्ला दर्जन बढी स्थानमा हिमपात शुरु भएको छ । हिमपातसँगै तल्लोक्षत्र तिर चिसोका कारण जनजीवन प्रभावित बनेको छ।
अत्याधिक चिसोका कारण घरबाहिर निस्कनसमेत समस्या भएको स्थानीयवासी वुद्धि बोगटीले बताए। चिसोका कारण जिल्लाका विभिन्न गाउँपालिका तथा नगरपालिकालगायत सदरमुकाम मार्तडी र आसपासका स्थानीय बजार आङ्शिक बन्द छन्।
हिमाली क्षेत्रमा भारी हिमपातले बाहिर निस्कनसमेत समस्या भइरहेको स्थानीयवासी प्रेम सार्कीले जानकारी दिए। चिसो छल्न बेसी झरेकालाई पनि दिनभर बढेको चिसोले समस्या परेको छ। चिसोबाट बालबालिका, महिला, वृद्धवृद्धा बढी प्रभावित हुने भएकाले न्यानो भएर बस्न चिकित्सकले सुझाव दिएका छन् । आकाशे पानीको भरमा खेती गर्दै आएका किसान हिमपातसँगै वर्षा भएपछि खुसी भएका छन् । अहिले बाजुराको तापक्रम ६ डिग्री तल झरेको छ।