१२ जिल्लाका कृषकलार्इ सस्ताे ब्याजमा ऋण उपलब्ध गराउँदै कृषि विभाग

काठमाडौँ – कृषि विभागले पृथ्वी राजमार्ग, अरनिको राजमार्ग र बिपी राजमार्ग आसपास क्षेत्रका कृषकलाई लक्षित गरी सस्तो ब्याजमा ऋण उपलब्ध गराई उत्पादनमा सहयोग गर्ने आयोजनाको सुरुवात गरेको छ ।

पाँच वर्षसम्म सञ्चालन गरिने उक्त कार्यक्रमलाई ‘फलफूल तथा तरकारीमा मूल्य शृङ्खला विकास आयोजना’ भनिएको छ। आयोजनाबाट काभ्रे, सिन्धुली, दोलखा, रामेछाप, धादिङ, तनहुँ, कास्की, चितवनलगायत १२ जिल्लाका १० हजार कृषक लाभान्वित हुनेछन् ।

कृषकले उत्पादन गरेका तरकारी तथा फलफूलको वास्तविक मूल्य विभिन्न तहमा थपिने लागत तथा अन्य कारणले हुने मूल्यवृद्धिले गर्दा उपभोक्ताले व्यहोर्नपर्ने मूल्यको अध्ययन उक्त आयोजनाले गर्नेछ। सोमबार आयोजित पत्रकार सम्मेलनमा विभागका प्रवक्ता तेजबहादुर सुवेदीले स्थानीय तहका कृषि कार्यालय र सम्बन्धित जिल्लाका स्थानीय तहसँग समन्वय गरी सञ्चालन गरिने आयोजनाबाट विभिन्न तहमा कृषकलाई हुने नोक्सानीको अध्ययन गरी प्राविधिक सहयोग उपलब्ध गराइने बताए।

आयोजना प्रमुख चिरञ्जीवी अधिकारीले आयोजनाअन्तर्गत २० हजार सङ्कलन केन्द्रमार्फत कृषकका उत्पादन प्रत्यक्ष बजारीकरण गरिने जानकारी दिँदै करीब ५५ लाख अमेरिकी डलरमा आयोजना सम्पन्न गरिने बताए। विभागका उपमहानिर्देशक प्रकाश सञ्जेलले प्राङ्गारिक कृषि प्रवद्र्धन मिसन कार्यक्रम कार्यान्वयन कार्याविधि स्वीकृतिको क्रममा रहेको जानकारी दिए।

ताजा समाचार

सम्बन्धित समाचार