गौशाला – महोत्तरी जिल्लाको दक्षिण पश्चिमवर्ती क्षेत्रको आधा दर्जन गाउँमा एकैसाथ १०० भन्दा बढी नीलगाई देखिएको छ।
भारतसँग सीमा जोडिएका मनरा, एकडारा, इटहर्वाकट्टी, भोलही, पोखरभिण्डा, शम्सीलगायत गाउँमा दुर्लभ वन्यजन्तुका रुपमा रहेको नीलगाई १०० भन्दा बढीको सङ्ख्यामा देखिएको प्रत्यक्षदर्शी स्थानीयवासीले बताएका हुन्। उनीहरुले यसअघि कहिले नदेखिएको गाईजस्तै तर नीलो रङको ती जनावर एक्कासि ती गाउँको वनमा आएपछि गाउँलेको वनमा ओइरो लागेको इटहर्वाका अजय मण्डलले बताए।
सयौँको सङ्ख्यामा रहेका ती नीलगाईले त्यस क्षेत्रका वनमा लगाइएको अन्नबाली र तरकारी बालीमा हुलका हुल प्रवेश गरेर खानुका साथै नष्टसमेत गरेको मनराका रवीन्द्र भगतले बताए। जिल्लाको सीमावर्ती क्षेत्रका आधा दर्जन गाउँमा फेला परेका नीलगाईले वन नजिकैको सबै बालीनाली नष्ट पारेको र धपाउनका लागि जाने मानिस देख्नेबित्तिक्कै भाग्ने गरेको एकडाराका गोपाल झाले बताए।
महोत्तरीको माथिल्लो उत्तरी र पश्चिमी भागमा रहेका वन जङ्गलमा डढेलो, चोरी सिकारीजस्ता क्रियाकलापका कारण नीलगाई जिल्लाको तल्लो पश्चिम दक्षिण क्षेत्रतिर आएको हुन सक्ने स्थानीयवासीको अनुमान छ। रासस