Saturday, September 28, 2024

चिडियाखानामा जोडी जनावर नहुँदा संख्या बढेन

काठमाडौँ–ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा रहेका बाघ, गैंडा, घडियाल गोही, हात्तीलगायतका जनावरहरू जोडी नहुँदा एक्लिएका छन्।

चिडियाखामा रहेका १ सय २७ प्रजातिका जीवजन्तुमध्ये दर्जनौं जीवजन्तुका जोडी नभएको चिडियाखानाका आयोजना व्यवस्थापक डा.चिरञ्जीवी पोखरेले बताए।

तस्वीरहरु :अमिष रेग्मी

दुर्लभ तथा संरक्षण जीवजन्तुका जोडी नहुँदा प्रजननमा समस्या भएको उनले बताए। ‘चिडियाखाना भित्रका केही जनावरका भाले र पोथीका जोडी नहुँदा प्रजनन गराउनमा समस्या आएको छ,’ व्यवस्थापक डा.पोखरेलले भने।

चिडियाखानाको सानो क्षेत्रफल र जोडीको समस्याका कारण बाघ, भालु, वनमान्छे, घडियाल गोही, चाइनिज एलिगेटर, जलगैंडा (हिपो), एक सिंगे गैँडा, हात्ती लगायतका जीवजन्तुको संख्या बढ्न नसकेको उनले बताए।

एक्लिएका जीवजन्तुलाई जोडी बनाइदिन चिडियाखानाले पहल गरेपनि सुनुवाइ हुन नसकेको व्यवस्थापक डा.पोखरेल बताउँछन्। उनका अनुसार जोडीमध्ये एकको मृत्यु हुँदा यी जनावर एक्लिएका हुन्।

चिडियाखानाका सूचना अधिकारी लिन चालिसेका अनुसार क्रिटिकल्ली इन डेन्जर सूचीमा गिद्ध, घडियाल र चाइनिज एलिगेटर छन् भने इन डेन्जरमा ९ वटा, भनरेवल १३ वटा र राष्ट्रिय निकुञ्ज ऐनले १४ वटा संरक्षण सूचीमा राखेका जीवजन्तु चिडियाखामा छन्।

‘भएका कतिपय ठुला जनावरका कसैका भाले–भाले मात्र छन् भने कसैका पोथी– पोथी मात्र छन,’ चिडियाखानाका क्युरेटर गणेश कोइरालाले भने,‘यसको क्षेत्रफल सानो हँुदा जोडी नभएका जनावरका लागि जोडी ल्याउन पनि समस्या भएको छ ।’

चिडियाखानामा स्थान अभावले सहवास हुन समस्या भएको र भक्तपुरको सूर्यविनायकमा निर्माण भैरहेकोे जुलोजिकल गार्डेनमा वन्यजन्तुलाई सार्न सके जीवजन्तुको प्रजनन बढ्ने उनले बताए।

चिडियाखानामा वनमान्छेको बाबु–छोरो मात्र छन् । यसै गरी ३ वटा गैंडा, ३ वटा बाघ, एक नाउर र एक घोरलको वषौंदेखि पोथी साथी नभएको सूचना अधिकारी चालिसेले बताइन्।

अहिले चिडियाखानामा ६६ वर्षीया पवनकली नामकी हात्तीपनि छिन् ।

२३ औँ वार्षीक उत्सव मनाउँदै

सदर चिडियाखानाले २३ औँ वार्षीक उत्सवका अवसरमा विभिन्न कार्यक्रम गर्ने जनाएको छ ।

विसं २०५२ साल पुष १४ गते तत्कालीन राजा वीरेन्द्र शाहको स्वर्ण शुभ जन्मोत्सवका अवसरमा चिडियाखानाको व्यवस्थापनको जिम्मा तत्कालीन सरकारले राष्ट्रिय प्रकृति संरक्षण कोषलाई दिएको थियो । सोही दिनको सम्झनामा हरेक वर्षको पुष १४ गते वार्षिक उत्सव मनाउने गरिन्छ ।

अहिले जाउलाखेलमा (६ हेक्टर) १ सय २० रोपनी जग्गामा १ सय २७ प्रजातिका ८ सय वन्यजन्तु राखिएका छन् ।

वार्षीकोत्सवका अवसरमा फ्रेन्ड् अफ जुमा रहेका ५ सय विद्यालयका ८० हजार बढी विद्यार्थीबिच निबन्ध, कविता, चित्रकला, हाजिरीजवाफ, चिडियाखानामा रात्रि भ्रमण, राष्ट्रिय निकुञ्जमा शैक्षिक भ्रमण, दाना आहारा खुवाउने, पंछी अध्ययन, फोहोरमैला व्यवस्थापन लगायतका कार्यक्रम हुने चिडियाखानाकी सूचना अधिकारी लिन चालिसेले जानकारी दिइन् ।

चिडियाखाना विक्रम संवत् १९८९ मा तत्कालीन प्रधानमन्त्री जुद्धशमसेर जबराले नीजिरुपमा स्थापना गरेका थिए ।

ताजा समाचार

सम्बन्धित समाचार