काठमाडाैँ – अाजका पत्रपत्रिकामा विकास निर्माण तथा वातावरणीय मुद्दाका विषयमा समाचार छापिएका छन् ।
नयाँ पत्रिका
–अाजकाे नयाँ पत्रिकामा वन्यजन्तुकाे अाक्रमणबाट चार महिनामा अाठकाे मृत्यु शिर्षकमा दीपेन्द्र अधिकारीकाे समाचार छापिएकाे छ। पछिल्लाे साढे चार महिनामा वन्यजन्तुकाे अाक्रमणबाट ८ जनाकाे मृत्यु भएकाे छ । मृतक ८ मध्ये ५ जना माडीवासी हुन् । माडी चितवन निकुञ्जकाे जंगल र साेमेश्वर पर्वत श्रृंखलाअन्तर्गतकाे जंगलले चारैतर्फबाट घेरिएकाे इलाका हाे । भरतपुरबाट करिब ५० किलाेमिटर दक्षिणमा रहेकाे माडीका बासिन्दा घाँस–दाउरा गर्न जंगलमै निर्भर छन् । गत अार्थिक वर्षमा वन्यजन्तुकाे अाक्रमणबाट पाँचजनाकाे मृत्यु भएकाे थियाे ।
नागरिक
–अाजकाे नागरिकमा अलपत्र चक्रपथ शिर्षकमा विनाेद सुवेदी र अमर खड्काकाे समाचार छापिएकाे छ । हरेक निर्वाचनमा अजेन्डा बन्ने तर कहिल्यै व्यवहारमा नआउने महत्वाकांक्षी योजना बनेको छ– चक्रपथ। सधैं चर्चाको उत्कर्षमा रहे पनि पूर्वी नेपाल (प्रदेश १) का विराटनगर, इटहरी, धरानलगायत ठूला सहरमा चक्रपथ निर्माण योजनाले अझै मूर्त रुप पाउन सकेको छैन।निर्माण थालिएका योजना पनि पूरा हुन नसकी अलपत्र छन्।
त्यस्तै भूकम्पको ४१ महिनापछि सर्भे शिर्षकमा हिमनाथ देवकोटाको समाचार छापिएको छ । भूकम्पले पूर्ण क्षति भएका जिल्लाका दुईवटा विद्यालय पुनर्निर्माणका लागि बल्ल सर्भे सुरु भएको छ। भूकम्पको ४१ महिनापछि नेपाल राष्ट्रिय आधारभूत विद्यालय र नवविजयी मावि पुनर्निर्माणका लागि सर्भे थालिएको हो।
चीन सरकारले निर्माणका लागि जिम्मेवारी लिएका तीनवटा विद्यालयमध्ये दुईवटाको सर्भे सुरु गरिएको जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा) रसुवाले जनाएको छ। सर्भेका लागि ११ सदस्सीय चिनियाँ टोली रसुवा आएको छ।
टोलीले सर्भे सकेपछि विद्यालयसँग छलफल गरी निर्माण सुरु गर्ने जानकारी दिएको एकाइ प्रमुख शरद् भण्डारीले बताए। ‘विद्यालय निर्माण नहुँदा पठनपाठनमा समस्या आएको छ’, उनले भने,‘ ढिलै भए पनि काम सुरु हुने देखिएको छ।’
नेपाल समाचारपत्र
–अाजकाे समाचारपत्रमा काठमाडाैँलार्इ धूलाेमुक्त बनाउन सहयाेग उपलब्ध गराइने शिर्षकमा समाचार छापिएकाे छ। भाैतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले काठमाडाैँलार्इ धूलाेमुक्त बनाउन मन्त्रालयबाट अावश्यक पर्ने सबै प्रकारका सहयाेग उपलब्ध गराउने बताएका छन् । काठमाडाैँलार्इ धूवाँ धूलाेमुक्त गराउन निरन्तर काम गरिरहनुपर्ने अावश्यकता देखाउँदै मन्त्री महासेठले भने, भित्री र बाहिरी दुवै सडकलार्इ व्यवस्थित बनाए मात्र परिणाम प्राप्त हुन्छ।
अन्नपूर्ण पाेस्ट
–अाजकाे अन्नपूर्णपाेस्टमा जंगल जाेगाएँ जागिर जाेगिएन शिर्षकमा अनिल ढकालकाे समाचार छापिएकाे छ। ५६ वर्षीय सिंहबहादुर प्रजाका भरथेगमा चलेको छ ११ जनाको परिवार। चितवनको कालिका नगरपालिका सिद्धि क्र्यालिङका प्रजा घरनजिकै वनको सुरक्षामा खटिन्छन्। तर, काम गरेबापतको तलब डेढ वर्षदेखि नपाएको उनको भनाइ छ।
घरमा आउने जो कोहीलाई उनी नियुक्तिको कागज देखाउँछन्। आफू इलाका वन कार्यालय सिद्धिअन्तर्गत वनपालेको काम गर्दै आएको उनी सुनाउँछन्। ‘चेपाङले न्याय पाउँदैन र सर ? ’, उनले भने, ‘जंगल जोगाएँ तर जागिर जोगिएन।’ उपदान, घरबिदा, सञ्चय कोष सुविधा केही नपाएको उनको भनाइ छ।
उनले २०३३ सालमा वनपालेमा जागिर पाएका थिए। १७ वर्ष काम गरेपछि आफू बिरामी पर्दा जागिर गएको उनको भनाइ छ। ६ महिना काममा जान नसक्दा २०५० सालमा उनको जागिर गएको थियो। उनले पुनर्बहालीका लागि धेरै ठाउँ धाए तर सुनुवाइ भएन। तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराई २०६९ साउन २९ गते चेपाङ बस्ती आएका बेला उनले आफ्नो समस्या सुनाए। भट्टराईकै आदेशमा उनले करारमा जागिर पाए। त्यो जागिर गत साउनदेखि कटौती भए पनि उनी वन हेरचाहमै खटिएका छन्।
आफूले तलबसँगै पेन्सन पाउनुपर्ने माग उनले गरेका छन्। पेन्सन पाए बुढेसकालमा गुजारा चलाउन सहज हुने उनको भनाइ छ। जिल्ला वन कार्यालय चितवनमा पटक–पटक गए पनि सुनुवाइ नभएको उनले सुनाए। ‘पहिला काम गर्दै जानू, तलब आउँछ भने अहिले बजेट आएन मात्र भन्छन्’, उनले भने, ‘पेन्सन बस्न पाए पनि बुढेसकालमा सहारा हुन्थ्यो तर हाम्रो बोली कसैले सुन्दैन।’ उनका नाममा ऐलानी पाँच कट्ठा जग्गा छ।
राजधानी
–आजको राजधानीमा वैज्ञानिकले औँल्याए अर्को भूकम्पीय जोखिम शिर्षकमा सविन शर्माको समाचार छापिएको छ। नेपालमा ठूलो भूकम्प जाने सम्भावना रहेको भन्दै वैज्ञानिकहरूले सुरक्षित र बलियो बासस्थान निर्माणको आह्वान गरेका छन्। भारतीय वैज्ञानिकहरुले हिमालय क्षेत्रसहित नेपालमा भूकम्पको जोखिम रहेको दाबी गरेका छन्।
जवाहरलाल नेहरू सेन्टर फर एड्भान्स साइन्टिफिक रिसर्चका लागि भूगर्भविद् सीपी राजेन्द्रको नेतृत्वमा गरिएको भौगर्भिक अनुसन्धानले यस्तो निष्कर्ष निकालेको हो । तीन वर्ष लगाएर गरिएको अनुसन्धानले भारतको उत्तराखण्ड र नेपालको पश्चिम क्षेत्रमा निकट भविष्यमा ठूलो भूकम्प जान सक्ने देखाएको छ।