काठमाडौं – राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले प्राधिकरण अन्तर्गत खटिएर पुनर्निर्माणमा क्रियाशील इञ्जिनियरलगायत प्राविधिकहरुको ज्ञान, सीप र अनुभवलाई राष्ट्र निर्माणको पुँजीका रुपमा उपयोग गर्न सेवा निरन्तरताको लागि पहल गर्ने बताए।
प्रोग्रेसिभ इञ्जिनियरिङ एसोसियसन नेपालको ज्ञापन पत्र बुझ्दै प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले भूकम्पपछिको पुनर्निर्माणमा नेपालको इञ्जिनियर समुदायको महत्वपूर्ण भूमिका रहेको बताउँदै हाल पुनर्निर्माणमा खटिएका इञ्जिनियरसहित प्राविधिकहरूको सुविधा पूर्ववत कायम गर्न प्राधिकरणले पहल गरिरहेको जानकारी दिए।
त्यसअघि, एसोसियसनका तर्फबाट अध्यक्ष शम्भु बहादुर श्रेष्ठले दुई बुँदे मागसहित ज्ञापन पत्र बुझाएका थिए। ज्ञापन पत्रमा प्राधिकरणमा कार्यरत इञ्जिनियरहरुले खाइपाइ आएको विशेष भत्ता पूर्ववत् कायम गर्न माग गरिएको छ।
त्यसैगरी, संरचना एवं सम्पत्तिहरूको पुनर्निर्माण गर्दा प्राप्त प्राविधिकहरूको ज्ञान, सीप र अनुभवलाई खेर जान नदिन र राष्ट्र निर्माणमा पुँजीका रुपमा उपयोग गर्न इञ्जिनियर लगायत प्राविधिकहरुको सेवालाई निरन्तरता दिने सम्बन्धमा प्राधिकरणबाट सकरात्मक र स्पष्ट निर्णय गर्न माग गरिएको छ।
प्राधिकरणले पुनर्निर्माणमा खटिंदै आएका इञ्जिनियरलगायतलाई प्रोत्साहन भत्ता दिंदै आएकोमा नेपाल सरकारले निर्णयमार्फत् विशेष प्रोत्साहन भत्ता कटौती भएको थियो। प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले पुनर्निर्माणका क्रममा स्थानीय तहहरूले भूकम्पप्रतिरोधी बलियो संरचना निर्माणमा इञ्जिनियरलगायतका प्राविधिकहरूलाई संलग्न गराइरहेकोले हालको पुनर्निर्माण सम्पन्न भएपछि पनि निरन्तरता दिने वातावरण तयार भएको बताए।