Friday, November 15, 2024

पत्रपत्रिकामा आज : हिमपातले चिसो बढ्यो, प्रदूषणविरुद्ध प्लास्टिकको मृतसागर नक्सा

काठमाडौँ – आजका पत्रपत्रिकामा विकास निर्माण तथा वातावरणीय मुद्दाका विभिन्न विषयमा समाचार छापिएका छन्।

अन्नपूर्ण पोस्ट
– आजको अन्नपूर्ण पोस्टमा हिमपातले चिसो बढ्यो शिर्षकमा समाचार छापिएको छ । देशभर मौसम बदली हुँदा उच्च हिमाली भेगमा बुधबार हिमपात शुरु भएको छ । पश्चिमी वायुको प्रभाव केही दिनदेखि पश्चिमी पहाडी भूभाग हुँदै भित्रिएपछि हिमाली क्षेत्रमा हिमपात र पूर्वी पहाडमा हलुका वर्षा शुरु भएको वरिष्ठ मौसमविद् सुजन सुवेदीले बताए ।

गोरखापत्र
–आजको गोरखापत्रमा प्रदूषणविरुद्ध प्लास्टिकको मृतसागर नक्सा शिर्षकमा समाचार छापिएको छ । प्लास्टिकको डेथ सी म्याप बनाएर विश्वलाई प्लास्टिकबाट हुने प्रदूषणबाट मुक्त गराउने सन्देशका साथै विश्व रेकर्ड राख्ने कार्यक्रम आयोजना गरिएको छ । विभिन्न संघसंस्थासँगको सहकार्यमा साइन्स, टेक्नोलोजी, इकोनोमी र मार्केट(स्टिम) फाउण्डेशनद्वारा बुधबार आयोजना गरेको कार्यक्रममा बाग्मती किनारलगायत विभिन्न स्कूल, घर, टोलबाट संकलित एक लाख प्लास्टिकलाई फलामको बारमा झुण्ड्याएर नक्सा बनाइएको समाचारमा उल्लेख छ ।

नेपाल समाचारपत्र
–आजको समाचारपत्रमा बञ्चरेडाँडा अन्तिम विकल्प शिर्षकमा ईश्वरराज ढकालको समाचार छापिएको छ । स्थानीय निकायले यसै वर्षको चैत महिनाभित्र उपत्यकाका सबै स्थानीय निकायको फोहोर व्यवस्थापन बञ्चरे डाँडा ल्यान्डफिल साइटमै गर्नुपर्ने जनाएको छ।

उपत्यकाका फोहोरको दीर्घकालीन व्यवस्थापन गर्न कामपाका सहसचिव भरतप्रसाद अर्यालको संयोजकत्वमा गठित समितिले सिसडोल ल्यान्डफिल साइट आसपासका अन्य स्थानमा वैकल्पिक ल्यान्डफिल साइटको खोजी गर्दा जग्गा प्राप्तिपछि थप समस्या पर्ने भएकाले वञ्चरेडाँडामै ल्यान्डफिल साइट बनाउनुपर्ने सुझाव तयार गरेको छ।

समितिले तत्काल वञ्चरेडाँडामा फोहोर व्यवस्थापनको पूर्वाधार निर्माण शुरु नगरे उपत्यकाको फोहोर व्यवस्थापन हुन नसकी विकराल समस्या सिर्जना हुन सक्ने चेतावनी दिएको छ । सो पूर्वाधार विकास निर्माणको कार्य गर्न प्रचलित सार्वजनिक खरिद ऐन तथा नियमावली अनुसार प्रकृया पूरा गर्न समस्या लाग्ने हुँदा मन्त्रिपरिषद्बाट निर्णय गराई छोटो प्रकृया अबलम्बन गरी तत्काल कार्य शुरु गर्न उपयुक्त देखिने निष्कर्ष निकालेको छ।

त्यस्तै यूरोपेली वायुले चिसो बढायो भारतीय भूमिहुँदै भित्रिएको पश्चिमी वायुको प्रभावले काठमाडौं उपत्यका सहित मुलुकका अधिकांश भेगको तापक्रम निकै घटेको छ । यूरोपेली वायु टर्की, सिरिया, अफगानिस्तान, पाकिस्तान र भारतको हिमाली भेगलाई छोएर नेपाल भित्रिँदा एक्कासी चिसो बढेको हो ।

मुलुकको पश्चिमी भेगबाट भित्रिएको यूरोपेली वायुले नेपालका हिमाली भेगलाई समेत छोएर फैलिँदा अहिले चिसो निकै बढेको बरिष्ठ मौसमविद् मणिरत्न शाक्यले बताएकाे समाचारमा उल्लेख छ ।

ताजा समाचार

सम्बन्धित समाचार