काठमाडौं, २८ फागुन – वातावरण विभागले उपत्यका बाहिरका चार स्थानमा वायू पदूषण मापन केन्द्रको स्थापना गर्ने भएको छ ।
विभागले आर्थिक वर्ष २०७४÷७५ असार मसान्तभित्रमा इटहरी, दाङ, नेपालगञ्ज र सुर्खेतमा वायू पदूषण मापन केन्द्रको स्थापना गर्ने जनाएको छ ।
‘उपत्यका लगायत हाल १२ वटा स्थानमा वायु प्रदूषण मापन केन्द्र छन् त्यसलाई विस्तार गर्दै देशका अन्य चार स्थानमा असार मसान्तभित्र केन्द्रको स्थापना हुन्छ’,वातावरण विभागका उप–महानिर्देशक सफला श्रेष्ठले भनिन् ।
उनका अनुसार हाल वायु प्रदूषणको स्थिति मापन गर्न उपत्यकामा ७ र अन्य क्षेत्रमा ५ वटा वायु प्रदूषण मापन केन्द्र रहेका छन् ।
उपत्यकामा पुल्चोक, रत्नपार्क, कीर्तिपुर, धुलिखेल, शंखपार्क, भैँसेपाटी, भक्तपुर तथा बाहिर जिल्लाहरुमा चितवन सौराहा, लुम्बिनी र पोखरामा मापन केन्द्र रहेका छन् ।
लुम्बिनीको वायू काठमाडौं भन्दा डेढगुणा बढी प्रदूषित
उप–महानिर्देशक श्रेष्ठले काठमाडौंको तुलनामा लुम्बिनी वायू डेढगुणा बढी प्रदूषित भएको बताईन् । ‘मापन केन्द्रको तथ्यांकले काठमाडौं भन्दा डेढ गुणा बढी लुम्बिनीको वायू प्रदूषित हुँदै गएको देखाएको छ’,उनले भनिन् । सरकारले हावाको गुणस्तर ४० माइक्रोग्राम प्रति घनमिटरलाई ‘स्ट्यान्डर्ड’ मानेको छ । तर, जाडो मौसममा औसत हावाको गुणस्तर बिहान ११ बजेजसम्म १ सय माइक्रोग्राम प्रतिघनमिटर, १२ देखि २ बजेको बीचमा ५० भन्दा केहीमाथि र बेलुका ५ बजेपछि १ सय माथि पुग्ने गरेको छ ।
उप–महानिर्देशक श्रेष्ठका अनुसार वातावरणीय प्रदूषण मापनले बेलाबेलामा काठमाडौं भन्दा लुम्बिनीको प्रदूषण दर बढी देखाउने गरेको भनाइ छ ।
‘जाडो महिनामा काठमाडौं बढी प्रदूषित भएको तंथ्याक छ भने ओभरलमा लुम्बिनी प्रदूषित हुँदै गएको छ’, उप–महानिर्देशक श्रेष्ठले भनिन् ।
उनले लुम्बिनी किन प्रदूषित हुँदै गैरहेको छ भन्ने यकिन कारण थाहा नभएको बताउछिन् । ‘भारतबाट आएको खराब वायूको कारण पनि हुन सक्छ तर यकिन कारण भन्न सकिने अवस्था छैन’, उप–महानिर्देशक श्रेष्ठले भनिन् ।