काठमाडौँ – जुम्लाको तातोपानी गाउँपालिका २ जर्मीका स्थानीय खानेपानीको अभावमा दूषित पानी पिउन बाध्य भएका छन्।
आफूलाई समयमा तलब नदिएको र केही टाठाबाठाले खानेपानी आयोजनाका सामग्रीमा अनियमितता गरेको भन्दै पानी छोड्ने चौकीदारले पानी बन्द गरेपछि गाउँले दूषित पानी पिउन बाध्य भएका छन्।
चौकीदारले पानी बन्द गरिदिएपछि अहिले जर्मी गाउँका अधिकांश स्थानीय नदीको पानी प्रयोग गरिरहेका छन् भने, कोही घण्टौँको बाटो हिँडेर पानी ल्याउने गरेका छन्।
धारा बन्द गर्नुको कारण बताउँदै चौकीदार दीपक बूढाले भने, ‘एकातर्फ शुल्क उठाउन जाँदा गाँउलेले मान्दैनन्। अर्कोतर्फ, गाउँका केही ठूलाबडाले आफ्नो प्रयोजनका लागि सार्वजनिक पाइप प्रयोग गरी ठाउँठाउँमा पाइप लाइन काटेर, पानी चुहावट गरेकाले धारा बन्द गरेको हो।’
दैनिक रुपमा अत्यावश्यक पानीको सामग्रीमा पनि अनियमितता भएको बताउँदै उनले भने, ‘गाउँमा पानी छैन, तर केही व्यक्ति, पाइप लगाएर घरमा लिन्छन, यसो किनभन्दा कुनै प्रतिक्रिया आउँदैन र भद्रभलाद्मी पनि मौन देखिएपछि धारानै बन्द गर्न ठिक लाग्यो।’
चौकीदार बुढाले जबसम्म, आफ्नो तलब र सार्वजनिक जिन्सी सामग्रीका विषयमा छलफल हुँदैन, तबसम्म कुनै हालतमा पानी नछोड्ने चेतावनी दिएका छन्।