Thursday, November 14, 2024

पत्रपत्रिकामा आज : बाग्मतीमा बन्दै दुर्इ जलाशय, सुन्दर आमादब्लममा ४ हजार किलो फोहोर

काठमाडौँ – आजका पत्रपत्रिकामा विकास निर्माण तथा वातावरणीय मुद्दाका विभिन्न विषयमा समाचार छापिएका छन् ।

कान्तिपुर
–आजको कान्तिपुरमा काठमाडौँका सडकमा स्मार्ट डस्टबिन शिर्षकमा समाचार छापिएको छ । काठमाडौं महानगरपालिकाको सहकार्यमा निजी कम्पनीले उपत्यकाका ७० स्थानमा ‘स्मार्ट डस्टबिन’ राख्न सुरु गरेको छ । कृष्ण सप्लायर्स प्रालिले मानिसको अत्यधिक चाप हुने स्थानहरूमा स्मार्ट डस्टबिन राख्न सुरु गरेको हो ।
एउटा डस्टबिनको मूल्य ६ लाख रुपैयाँ पर्छ । फोहोर संकलनको आवश्यकता र मागका आधारमा २ सय स्थानमा राखिनुपर्ने भए पनि पहिलो चरणमा काठमाडौं तथा ललितपुरका केही स्थानमा डस्टबिन राख्न लागिएको हो ।

त्यसैगरी बाग्मतीमा बन्दै दुर्इ जलाशय शिर्षकमा दीपेन्द्र विष्टकाे समाचार छापिएकाे छ । सरकारले शिवपुरी–नागार्जुन निकुञ्ज तथा नागमतीकाे मुहान(धाप)मा वर्षामा पानी संकलन गर्न ९५ लाख घनमिटर क्षमताकाे जलाशय निर्माण शुरू गरेकाे छ । शहरी विकास मन्त्रालयले २४ र ९४ मिटर उचाइका दुइटा जलाशय निर्माण शुरू गरेकाे हाे।
समुन्द्री सतहबाट करिब २१ सय मिटर उचाइमा निर्माण हुने जलाशयबाट सुक्खायाममा प्रतिसेकेण्ड ४ सय ४० लिटर पानी बागमतीमा बगाउन सकिने जानकारी धाप तथा नागमती जलाशयका प्रमुख आशिषभद्र खनालले जानकारी दिए । दुइटा जलाशयमध्ये माथिल्लो (धाप) मा १० लाख घनमिटर र तल्लो (नागमती)मा ८५ लाख घनमिटर पानी संकलन गरिने उनले बताएको समाचारमा उल्लेख छ ।

अन्नपूर्ण पाेस्ट
–अाजकाे अन्नपूर्णपाेस्टमा यस वर्ष २१ अर्बकाे उखु उत्पादन शिर्षकमा राजकरण महतोकाे समाचार छापिएकाे छ। खेतमा उखु तयार भयो। मूल्य तोकिएको छैन। लगानीअनुसार मूल्य नपाइने हो कि भन्ने चिन्ताले किसान पिरोलिएका छन्। महोत्तरी, रामनगरका ३८ वर्षीय उखु किसान नरेश महतो भन्छन्, ‘मेहनेत गरेर उब्जाएँ। भाउ नपाउने हो कि चिन्ताले पिरोलिरहेको छ।’ नरेशले पाँच बिघामा लगाएको उखु पाकेर तयार भएको छ। उनले एक लाखको उखुको बिउँ रोपेका छन्। उनी भन्छन्, ‘खेत जोताइ, रोपाइ गोडमेल सबै बैंकबाट ऋण लिएर गरेको छुँ।’

ऋणको भारी बोकेर वर्षभरि कठोर श्रम गरेर उनले उखु उब्जाएका छन्। उखु पनि राम्रै फस्टाएको छ। प्रत्येक वर्ष मूल्य तोक्न चिनी मिल मालिकले मोलमोलाइ गर्दै आएका छन्। यसले गर्दा उखु खेतमै सुक्छ। यसपालि पनि त्यही रवैया दोहोरिन्छ कि भन्ने चिन्तामा उनी छन्। लक्ष्मीनियाँ परोरियाका ५६ वर्षीय उखु किसान राजकिशोर सिंह भन्छन्,‘पोहोर उखु बिक्री गरेको अनुदान अझै पाएका छैनौं। यस वर्षको पनि उखु तयारी भइसक्यो तर मूल्यको टुंगो छैन।’

उखुको मूल्य नतोकिँदा उखु कृषक नरेश र राजकिशोर मात्रै चिन्तित छैनन्। उनीहरू जस्ता तराइका २२ जिल्लासहित देशैभरका हजारौं किसानको समस्यामा छन्। देशभरमा झन्डैं लाखभन्दा बढी किसानले एक लाख ३४ हजार बिघामा उखुखेती गरिएको अनुमान छ। २२ जिल्लामा व्यावसायिक उखुखेती गरिन्छ। प्रतिबिघा सरदर तीन सय क्विन्टल उत्पादन हुन्छ। प्रतिबिघा तीन सय क्विन्टल उखु उत्पादनको हिसाब गर्दा देशभर यस वर्ष करिब चार करोड २० लाख क्विन्टल उखु किसानको खेतमा तयार रहेको तथ्यांकले देखाएको छ।

कारोबार
–आजको कारोबारमा खानेपानी अभावमा होमस्टे प्रभावित शिर्षकमा गोपाल पोखरेलको समाचार छापिएको छ । पिउने पानीको पर्याप्ट व्यवस्था हुन नसक्दा जिल्लाकै पहिलो उदयपुरगढी गाउँपालिकाको केन्द्र उदयपुरगढीमा सञ्चालित होमस्टे प्रभावित भएको छ।
करिब तीन वर्ष यता सञ्चालित होमस्टेमा आउने पाहुनाका लागि आवश्यक पर्ने पानी अभाव छ । पुरानो सदरमुकाम रहेको उदयपुगढी आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि महिलाले होमस्टे सञ्चालन गर्दै आएका छन् ।
पानीको भरपर्दो व्यवस्था नहुँदा पाहुनाको बसाइ व्यवस्थित र लामो बनाउन नसकिएको होमस्टे सञ्चालक बताउँछन् । उयदपुगढीमा वर्षौदेखि पिउने पानीको समस्या रहेको समाचारमा उल्लेख छ।

त्यसैगरी सडक निर्माणमा तीव्रता दिन स्थलगत निरीक्षण शिर्षकमा अर्काे समाचार छापिएकाे छ । कर्णाली करिडाेरअन्तर्गत हिल्सा–सिमकाेट सडकखण्डअन्तर्गत हुम्लाकाे च्याछराकाे स्थलगत निरीक्षण गरिएकाे समाचारमा उल्लेख छ।

गाेरखापत्र
–अाजकाे गाेरखापत्रमा अलपत्र बेलवास–बेथरी सडक शिर्षकमा समाचार छापिएकाे छ। रूपन्देही जिल्लाकै महत्तपूर्ण अायाेजनाका रूपमा रहेकाे बेलवास–बेथरी सडक निर्माण कार्य राेकिएकाे छ।

निर्माण कम्पनीहरूकाे बेवास्ताले करिब तीन महिनायता अलपत्र अवस्थामा रहेकाे याे सडक निर्माणकाे काम गर्त कात्तिक ५ गतेकाे सडक विभागकाे पत्रसँगै झनै अनिश्चित बनेकाे समाचारमा उल्लेख छ।

नागरिक
–आजको नागरिकमा घर नबनाए रकम फिर्ता शिर्षकमा बटुकराज गिरीको समाचार छापिएको छ। सरकारी अनुदानको पहिलो किस्ता लिएर पनि घर नबनाउने भूकम्पपीडितले अनुदान लिएको रकम फिर्ता गर्नुपर्ने भएको छ। राष्ट्रिय पुननिर्माण प्राधिकरणले घर नबनाउनेलाई तीन महिनाभित्र निर्माण सुरु गर्न वा पैसा फिर्ता गर्न म्याद दिएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले घर बनाएर बसेका वास्तविक पीडितप्रति उदार हुन र घरको अनुदान नरोक्ने निर्देशन दिएसँगै प्राधिकरणले घर नबनाउने पीडितको सूची उतार्न लागेकोे हो। निजी आवास निर्माण यसै वर्षभित्र सम्पन्न गर्ने योजना अनुरुप यो योजना ल्याइएको प्राधिकरणले जनाएको छ। वास्तविक पीडितप्रति उदार हुने र अनुदान लिएर घर नबनाउने र अनुदान पचाउने नियत राख्ने पीडितप्रति अनुदार बन्ने नीति लिन लागिएको प्राधिकरण स्रोतले जनाएको छ।

भूकम्पले घर भत्किएको विवरण बुझाएर पहिलो किस्ताबापतको ५० हजार रकम लिइसकेको तर घर नबनाउनेहरुको विवरण स्थानीय तहमार्फत प्राधिकरणले संकलन गर्दैछ। कतिपयले घर भत्किएर अनुदान लिए पनि विभिन्न विभिन्न बहाना गर्दै घर बनाएका छैनन्। त्यस्तै कतिपय व्यक्तिले भने रकम फिर्ता गरिरहेको प्राधिकरणले जनाएको छ।

नेपाल समाचारपत्र
–आजको समाचारपत्रमा सुन्दर आमादब्लममा ४ हजार किलो फोहोर शिर्षकमा दीपक रिजालको समाचार छापिएको छ । विश्वकै सुन्दर हिमालको उपमा पाएको आमादब्लम हिमाल सफाई अभियान अन्तिम चरणमा पुगेको छ।
सन् १९५३ बाट उक्त हिमाल आरोहण शुरु गरिएको थियो। हिमाल चढ्ने विदेशी पर्यटकले गरेको फोहरले प्रदूषित भएपछि पहिलोपटक उक्त हिमाल सफाई अभियान शुरु गरिएको हो।

जलबायु परिर्वतनका कारण खतराको सुचीमा पर्दै गएका नेपालका हिमालहरुको सुन्दरता र प्रदुषण मुक्त बनाउनका लागि सगरमाथा प्रदुषण नियन्त्रण समितिको अगुवाईमा पहिलोपटक आमादब्लम हिमालको पुरै सफाई अभियान शुरु भएको समितिका आर्थिक तथा प्रशासन प्रमुख निसान श्रेष्ठले जानकारी दिए।

विभिन्न हिमाल आरोहणमा संलग्न रहेका १२ जना शेर्पाहरुले अहिले हिमाल सफाई अभियानलाई तीव्रता दिइरहेका छन् । नोभेम्वर १५ बाट शुरु भएको आमादब्लन हिमाल सफाई अभियान आउँदो शुक्रबारसम्म जारी रहने आर्थिक तथा प्रशासन प्रमुख श्रेष्ठले बताए।

यसपटकको सफाई अभियानका क्रममा अन्दाजी ४ हजार किलो फोहर संकलन हुने अनुमान गरिएको छ । आमादब्लम हिमालको चुचुरोबाट शुरु गरिएको सफाई अभियान क्याप १ र बेशक्याम्पतिर आइपुगेको छ ।

ताजा समाचार

सम्बन्धित समाचार