काठमाडौँ–काठमाडौँ महानगरपालिकाले शनिबारबाट महानगर सफाइ अभियान शुरु गरेको छ।
मेयर हुनुपूर्व विद्यासुन्दर शाक्यले आफ्नो चुनावी घोषणापत्रमा १ सय १ दिनभित्र काठमाडौँलाई क्लिन सिटी बनाउने प्रतिबद्धता जनाए पनि त्यसको १७ महिनापछि मात्र बल्ल काम शुरु गरेका छन्।
चुनावी घोषणापत्रमा काठमाडौँलाई धूलो र धुँवामुक्त सुन्दर र व्यवस्थित हरियाली शहर निर्माण गरिने बताइएको थियो। उक्त प्रतिबद्धता १७ महिनापछि मात्र कार्यान्वयन भएको छ।
शहरी सौन्दर्यता प्रवद्र्धनमा सघाउ गर्ने भन्दै शुरु गरिएको उक्त कार्यक्रमको शुरुवात गर्दै महानगरका प्रमुख शाक्यले सामूहिक प्रत्यत्नबाट नै काठमाडौँको सुन्दरतामा निखार आउने बताए। साथै उनले विगतमा महानगर एक्लैले गरिरहेको काम अब सबैको सहभागितामा हुने भएकाले सफल हुने विश्वास व्यक्त गरे।
गत २९ कात्तिकमा पनि शहरी व्यवस्थापनमा काम गर्ने संस्थासँगको सहकार्यमा महानगरले काठमाडौँलाई प्रदूषणमुक्त बनाउने प्रतिबद्धता जनाएको थियो। आफ्नो चुनावी प्रतिबद्धताका साथै साझेदार संघसंस्थासँग मिलेर गरिएको घोषणा अनुसार नै सडकको नालीमा बनाइएका अनावश्यक र्याम्प हटाउने, नालीमा रहेको फोहोर माटो निकाल्ने, जेट मेशिनको प्रयोग गरेर सफा गर्ने लगायतको कामको शुरुवाता गरिएको महानगरको भनाइ छ।
रत्नपार्कबाट शुरु भएको सडक सरसफाइ बागबजार, डिल्लीबजार, मैतीदेवी, पुरानो बानेश्वर, भीमसेनगोला हुँदै सिनामंगलसम्म पुगेको थियो। कार्यक्रममा महानगरका उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत यादवप्रसाद कोइरालासँगै प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, नेपाल विद्युत प्राधिकरण, काठमाडौ उपत्यका खानेपानी लिमिटेड, नेपाल दूरसञ्चार प्राधिकरण, मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालय, नेपाली सेना, नेपाल प्रहरी, ट्राफिक प्रहरी र सडक विभागका अधिकारीको सहभागिता थियो ।
महानगरको वातावरण व्यवस्थापन विभागका निमित्त प्रमुख हरिकुमार श्रेष्ठका अनुसार यो कार्यक्रम हरेक शनिबार नियमित सञ्चालन हुनेछ। सडक सरसफाइसँगै महानगरपालिका क्षेत्रभित्र हरियाली प्रवर्धन गर्न, अव्यवस्थित रुपमा रहेका केवल, विद्युतका तार तथा पोलहरुको व्यवस्थापन गर्न, खानेपानीका पाइप व्यवस्थापन, डेव्रिज व्यवस्थापन, सडकको ढल तथा सतही ढल व्यवस्थापन गर्न, सडक मर्मत तथा मार्किङ् जस्ता काम गर्दा महानगरलाई सूचना दिएर मात्र गर्नु पर्ने विषयमा विकासे अड्डाहरू सहमत भएका छन्। यस सहमति बमोजिम अब काम जिम्मेवारी तोकिएका निकायले गर्नेछन् तर कामको जानकारी महानगरलाई गराउनु पर्नेछ।