काठमाडौँ – अन्तरदेशीय वातावरणीय अपराध विरुद्धमा प्रदान गरिने एशिया इन्भारमेन्टल इन्फोर्समेन्ट अवार्ड २०१८ नेपालले प्राप्त गरेको छ।
नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोको वातावरण तथा वन्यजन्तु अपराध हेर्ने पिलर ४ ले इन्टरग्रिटी विधामा उक्त अवार्ड प्राप्त गरेको हो। संयुक्त राष्ट्रसंघको केन्द्रीय सम्मेलन केन्द्र बैंककमा विहीबार प्रदान गरिएको उक्त अवार्ड नेपाल प्रहरीको तर्फबाट प्रतिनिधित्व गर्दै व्यूरोका वातावरण तथा वन्यजन्तु अपराध नियन्त्रण इकाईका प्रहरी नायव उपरीक्षक अनुपम शमशेर जबराले ग्रहण गरेका छन्।
एशियामा अन्तरदेशीय वातावरणीय अपराधको विरुद्धमा कार्य गर्ने सरकारी कार्यालय, संस्था, व्यक्ति तथा समूहलाई सार्वजनिक रुपमा पुरुस्कृत गरिने उद्देश्यले उक्त अवार्ड सन् २०१५ र २०१७ गरी दुई पटक वितरण भइसकेको छ। यो वर्ष नेपाल लगायत भारत, चीन, मलेशिया, भियतनाम, थाईल्याण्ड, कोरियाले विभिन्न विधानमा अवार्ड जितेका छन्।