Friday, November 8, 2024

देशभरका २० लाख मानिसले रोपे २० लाख बिरुवा

काठमाडौँ – सरकारले सञ्चालन गरेको ‘एक नागरिक एक फलफूल’ अभियानअन्तर्गत देशभर करीब २० लाख फलफूलका बिरुवा रोपिएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवरले अभियानमा नागरिकले स्वतःस्फूर्त रुपमा फलफूलका बिरुवा रोपेको जानकारी दिए। सबै जिल्लामा अभियानअनुसार फलफूलका बिरुवा रोपिएका छन्।

उनले भने, ‘‘जिल्लाबाट विवरण आउन थालेका छन्। अहिलेसम्मको विवरणमा करीब २० लाख बिरुवा रोपिएका छन्।’’ वर्षभर चल्ने यस अभियानमा सबै नागरिकले कम्तीमा एउटा फलफूलको बिरुवा रोप्ने उनले विश्वास व्यक्त गरे।

रोपिएका बिरुवाका जानकारीको विवरण प्रजिअले प्रधानमन्त्री कार्यालयमा पठाउने गरेका छन्। विश्व वातावरण दिवसका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ २३ गते सिंहदरवारमा लिची र एभोकाडोको बिरुवा रोपेर अभियान शुरु गरेका थिए।

मुलुकलाई फलफूलबाट आत्मनिर्भर बनाउन सरकारले ‘एक नागरिक एक फलफूल’ अभियान शुरु गरेको हो। प्रवक्ता कुँवरले रोपिएका बिरुवा स्थानीय तहको समन्वयमा संरक्षण गरिने बताए।

ताजा समाचार

सम्बन्धित समाचार