Friday, November 8, 2024

देशको पहाडी भेगमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ – मुलुकका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा क्षणिक वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमानसम्बन्धी विज्ञप्ति जारी गर्दै पहाडी भेगका एक-दुई स्थानमा हल्का वर्षा हुनुका साथै उच्च हिमाली भू–भागमा हिमपातको सम्भावना औँल्याएको छ। बुधबार दिउँसो देशको पश्चिमी भू–भाग, मध्य र पूर्वका पहाडी भेगमा सामान्य बदली रहने तथा बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ। रातको समयमा पश्चिमी तथा पूर्वी पहाडी भेगका केही स्थानमा आंशिकदेखि सामान्य बदलीको सम्भावना छ। पश्चिमी पहाडी भेगका केही स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको हो।

बिहीबार पश्चिमी तथा पूर्वी पहाडी भेगमा आंशिक बदली हुने र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। आज बिहानैदेखि काठमाडौँ उपत्यकासहित देशका पहाडी भेगमा सामान्य बदली रहेको छ । आज उपत्यकामा बढी चिसो महसुस गरिएको छ ।

महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ९ तथा अधिकतम तापक्रम २२ डिग्री सेल्सियस रहेको छ । ताप्लेजुङ र जुम्लामा न्यूनतम तापक्रम माइनस डिग्रीमा झरेको छ । सबैभन्दा बढी विराटनगरको अधिकतम तापक्रम ३० डिग्री सेल्सियस छ ।

ताजा समाचार

सम्बन्धित समाचार