Friday, November 8, 2024

पत्रपत्रिकामा आज : ५२ पानी उद्योगमा सिलबन्दी, उपत्यकाका नदी किनारमा छठको रौनक 

काठमाडौँ – आजका पत्रपत्रिकामा विकास निर्माण तथा वातावरणीय मुद्दाका विभिन्न विषयमा समाचार छापिएका छन् ।

नागरिक
–आजको नागरिकमा सिक्टा सिँचाइ : पप्पुसँगको ठेक्का तोडियो शिर्षकमा रुद्र खड्का र अर्जुन ओलीको समाचार छापिएको छ । कोस्टाल पप्पु कन्स्ट्रक्सनले सिक्टा सिँचाइ आयोजनामा सम्झौताअनुसार काम गर्न नसकेपछि जलस्रोत तथा सिँचाइ विभागले ठेक्का तोडेको छ । बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइको डुँडुवा नहरमा गुणस्तरहीन काम र चरम लापरबाही नरोकिएपछि विभागले पप्पुसँगको सम्झौता तोडेको हो । ठेक्का सम्झौता गरेको २८ महिना बित्दा पनि कामको प्रगति निराशाजनक भएपछि पप्पुसँग सम्झौता तोडिएको विभागका महानिर्देशक सरोज पण्डितले बताए। उनका अनुसार यस अवधिमा पप्पुले जम्मा ७ प्रतिशत काम गरेको छ।

स्वदेशी लगानीमा निर्माण भइरहेको राष्ट्रिय गौरवको आयोजना सिक्टामा साउदी विकास कोषले दुई अर्ब ४१ करोड रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको थियो। पप्पुले काम नगरेपछि दातृ निकायको सहयोग रकमसमेत अलमलमा परेको सिँचाइ मन्त्रालयका एक अधिकारीले बताए। कोषले सुरुदेखि नै पप्पुको काम सन्तोषजनक नभएको गुनासो गर्दै आएको थियो र ठेकेदारकै कारण आर्थिक सहायता उपलब्ध गराउन नसकिने चेतावनी पनि दिँदै आएको थियो। अब ठेक्का तोडिएपछि कोषले पुनः रकम उपलब्ध गराउने/नगराउने भन्नेबारे यकिन हुन नसकेको बताइएको छ। डुँडुवा शाखा नहर निर्माण गर्न पुनः नयाँ प्रक्रिया थालनी हुने सिक्टा सिँचाइका डिभिजनल इन्जिनियर प्रकाश कार्कीले बताएको समाचारमा उल्लेख छ।

राजधानी
–आजको राजधानीमा उपत्यकाका नदी किनारमा छठको रौनक शिर्षकमा समाचार छापिएको छ । ललितपुरको कुपण्डोल थापाथली घाटलगायत उपत्यकाका विभिन्न नदी र पोखरीका किनारमा सोमबारदेखि नै छठको रौनक शुरु भएको छ ।
किनारामा पूजाका निम्ति घाट बनाउने, सिंगार्ने, झिलिमिली पार्ने काम शुरु भएको छ । मंगलबार अस्ताउँदो र बुधबार उदाउँदो सूर्यलाई अर्घ दिने तयारीस्वरुप घाट व्यवस्थापन तयारीमा भक्तजन लागिपरेका छन् ।
देशका विभिन्न जिल्लाबाट आएर हाल काठमाडौँ बसोबास गर्ने भक्तजनको भीड लाग्ने गर्छ । प्रायः महिला व्रतालु सौभाग्यसहित श्रृंगारपटारमा सजिएर बाग्मती नदी किनारमा सूर्य र छठी माईको ध्यान गर्ने गर्छन् ।

त्यस्तै ५२ पानी उद्योगमा सिलबन्दी शिर्षकमा अर्को समाचार छापिएको छ । सरकारले चालु आर्थिक वर्ष २०७५/०७६ को बितेको चार महिनाको अवधिमा विभिन्न जिल्लामा रहेका ५२ वटा खानेपानी उद्योगमा सिलबन्दी गरेको छ । मापदण्ड पूरा नगरी पानी उद्योग सञ्चालन अनुगमन कर्ताले फेला पारेकाले सरकारी अनुगमन टोलीले ती पानी उद्योगमा सिलबन्दी गरेको हो ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको अनुगमन टोलीले सो उद्योगमा सिलबन्दी गरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रवक्ता पूर्णचन्द्र वस्तीले जानकारी दिएका । सामान्य मापदण्ड पनि पूरा नगरी सञ्चालित ५२ वटा पानी उद्योग र विराटनगरमा सञ्चालित ११ वटा पानी उद्योगमा सिलबन्दी गरिएको समाचारमा उल्लेख छ ।

नेपाल समाचारपत्र
–आजको समाचारपत्रमा देशभरका १ सय ७८ नदी तलाउमा सफाइ शिर्षकमा समाचार छापिएको छ । छठ पर्वको अवसरमा सशस्त्र प्रहरी बल नेपालले देशभरका १ सय ७८ नदी तलाउ तथा मठमन्दिरको सरसफाइ गरेको छ ।
सो पर्वको अवसरमा सशस्त्र प्रहरी बल नेपालका विभिन्न एकाइबाट व्रतालु भक्तजनलाई सघाउ पुर्याउन गरिएको उक्त सरसफाइमा कुल २ हजार ३ सय ५३ जना सशस्त्र प्रहरी कर्मचारी खटिएका थिए ।
जसमध्ये काठमाडौँ उपत्यकामा मात्रै विभिन्न १२ स्थानमा सरसफाइ गरिएको छ भने १ नम्बर प्रदेशमा २०, २ नम्बरमा ८८ र ३ नम्बरमा ७ स्थानमा सरसफाइ गरिएको छ ।
यसैगरी ४ नम्बर प्रदेशमा १५, ५ नम्बरमा २६, ६मा ७ र ७ नम्बर प्रदेशमा ३ ठाउँमा रहेका नदी तलाउ तथा मठमन्दिरको सरसफाइ गरिएको समाचारमा उल्लेख छ ।

ताजा समाचार

सम्बन्धित समाचार