Friday, November 8, 2024

जहाँ प्लास्टिक झोला बोके जेल जानुपर्छ

काठमाडौँ – दिनानुदिन प्लास्टिकको प्रयोग बढेसँगै वातावरणमा देखिएको नकारात्मक प्रभावलाई कम गर्न नेपालमा प्लास्टिक झोला प्रयोगमा प्रतिबन्ध लगाए पनि कार्यान्वयन पक्ष फितलो छ। तर, विश्वमा यस्ता पनि देश छन्, जहाँ प्लास्टिकको प्रयोग गरे जेल जानुपर्छ ।

केन्यामा पुनः प्रयोग गर्न नमिल्ने प्लास्टिक झोला बोकेमा वा उत्पादन गरेमा चार वर्षसम्म जेल र हजारौँ डलर जरिवाना तिर्नुपर्ने व्यवस्था छ।

केन्यामा प्लास्टिक झोला प्रयोगमा प्रतिबन्ध लगाउने अभियान अनलाइनबाट शुरु भएको थियो। जेम्स वाकिबिआले शुरु गरेको उक्त अभियानले सन् २०१७ सम्ममा ठूलो रुप लिइसकेको थियो। यो अभियानलाई आत्मसात गर्दै केन्या सरकारले पनि सन् २०१७ को अगष्टमा एकपटक मात्र प्रयोग गर्न सकिने प्लास्टिक झोलामा प्रतिबन्ध लगायो। उक्त प्रतिबन्धपछि अहिले केन्यामा कपडा तथा प्लास्टिक बाहेकका झोलाहरू प्रयोगमा आउन थालेका छन्।

सरकारको यो प्रयोगले वातावरण सफा भएको त्यहाँका स्थानीयवासीले बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। प्लास्टिक झोलामा प्रतिबन्ध लागेसँगै खोला बगैचा, पार्क तथा सडकहरू सफा भएको स्थानीयहरू बताउँछन्।
यो अभियानबाट १० करोडभन्दा बढी प्लास्टिक झोलाबाट वातावरणलाई जोगाएको अभियानकर्मी जेम्स बताउँछन्। पहिला प्लास्टिक झोला तथा अन्य प्लास्टिकका कारण ढल निकासमा समस्या आउने र वातावरणलाई फोहोर बनाउने गरेकोमा अहिले वातावरण स्वच्छ रहेको उनको भनाइ छ।

सन् २०१७ देखि शुरु भएको प्रतिबन्धको अबलम्वन गर्ने ५ सयभन्दा बढी पक्राउ परिसकेका छन्। अहिले केन्या प्लास्टिक मुक्त भएको अभियानकर्मीहरूको भनाइ छ।

प्लास्टिक झोलामा प्रतिबन्धको सुरुवात भने केन्याबाट भएको होइन। सबैभन्दा पहिले बंगलादेशले सन् २००२ मा प्लास्टिक झोलाको प्रयोगमा प्रतिबन्ध लगाएको थियो । त्यसपछि सन् २००८ मा रुवाण्डाले पनि प्लास्टिक झोला प्रयोगमा प्रतिबन्ध लगाएपछि त्यसले विश्वभर व्यापकता पाएको हो । अहिले पनि युरोपका अधिकांश देशमा प्लास्टिक झोलाको प्रयोगमा कमी ल्याउन प्लास्टिक झोलामा अधिकतम शुल्क लगाउने गरेका छन्।

यसैलाई पछ्याउँदै नेपालमा पनि आर्थिक वर्ष २०७३/०७४को बजेटमा प्लास्टिक झोला प्रतिबन्ध गर्ने घोषणा भयो। यसअघि पनि सरकारले प्लास्टिक झोलामा प्रतिबन्ध लगाउन प्लास्टिक झोला नियमन तथा नियन्त्रण निर्देशिका २०६८ जारी गरेको थियो । तर, अहिलेसम्म पनि प्लास्टिक झोलाको प्रयोगमा कतै पनि प्रतिबन्ध भने लागेको छैन ।
–एजेन्सीको सहयोगमा 

ताजा समाचार

सम्बन्धित समाचार