लहान – वर्षौदेखि खानेपानीको समस्या खेप्दै आएका सिरहा धनगढीमाई नगरपालिका– १३ दुरविन डाँडाका स्थानीयवासी खानेपानी ट्याङ्की र इन्टेक निर्माण भएपछि खुशी भएका छन्।
युनिसेफ, धनगढीमाई नगरपालिकाको आर्थिक सहयोग र स्थानीयवासीको श्रमदानबाट निर्माण भएको सो ट्याङ्की, इन्टेकले करीब ८६ घरपरिवार खानेपानीको समस्याबाट मुक्त भएका छन्।
दुरविन डाँडा खानेपानी उपभोक्ता समिति गठन गरी स्थानीयवासीले करीब एक महीनादेखि खानेपानी ट्याङ्की, इन्टेक निर्माणसँगै करीब सात किलोमिटर पाइप लाइन बिछ्याउने काममा खटिएको समितिका अध्यक्ष इन्द्रबहादुर तामाङले जानकारी दिए।
युनिसेफको रु २५ लाख र नगरपालिकाको रु सात लाख गरी कूल रु ३२ लाखको लगानीमा वि.सं. २०७५ असोज ५ गतेदेखि शुरु गरिएको खानेपानी आयोजनाको काम कात्तिक मसान्तभित्र सक्नेगरी भइरहेको अध्यक्ष तामाङले बताए।
“लामो समयदेखि खानेपानी समस्या झेल्दै आएका छौँ”, स्थानीयवासी सङ्गीता योञ्जनले भनिन्, “खानेपानीको ट्याङ्की र इन्टेक निर्माण भएपछि पानीको समस्या समाधान भएको छ।” जनजातीको बसोबास रहेको उक्त बस्तीमा यसअघि खानेपानीको जोहो करीब ३५० फिट तल पर्ने सर्रे खोलाबाट गर्दै आएका थिए।
इन्टेक, ट्याङ्की निर्माणको काम सकिएको र बस्तीको टुप्पोमा २० हजार लिटर क्षमताको रिजरभ्वाइर ट्याङ्की निर्माण कार्य भइरहको सो आयोजनाको प्राविधिक इञ्जिनियर रामानन्द चौधरीले बताए।
स्थानीय सर्रे खोला नजिक बनाइएको इन्टेकबाट विद्युतीय पम्पबाट पानी लिफ्ट गरी ट्याङ्कीमा जम्मा भएको पानी पाइपलाइनमार्फत घरघर पुर्याइने चौधरीको भनाइ छ। रासस