Friday, November 8, 2024

पर्यटकीय गन्तव्य बन्दै बन्दा ताल

कञ्चनपुर – एकैसाथ धेरै प्रजातिका जलपक्षीको अवलोकन गर्न सकिने बेलौरी नगरपालिका–४ स्थित बन्दाताल कोटिहोम क्षेत्र पर्यटकीय गन्तव्य बन्दै गएको छ। नगरपालिकाले ताल आसपासको क्षेत्रलाई अधिग्रहण गरी पर्यटकीयस्थलका रुपमा विकास गर्ने योजना बनाएको छ।

“गुरुयोजना बनाई काम अगाडि बढाउन रु एक करोड बजेट परिचालन गर्र्ने योजना छ,” नगरपालिकाका प्रमुख पोतिला चौधरीले भने। संरक्षणको अभावमा ५० बिघा क्षेत्रफलमा फैलिएको बन्दाताल पुरिएर २६ बिघामा सीमित भएको छ। एकैसाथ विभिन्न प्रजातिका जलपक्षी हेर्न सकिने ताल पुरिनबाट जोगाउनका लागि भरपर्दो व्यवस्था गरिने नगर प्रमुख चौधरीले बताए।

ताल जोगाउनका लागि उत्तरी क्षेत्रमा ग्रिन बेल्ट बनाउने प्रयास गरिएको र माटो रोकथाम गर्न ७०० मिटर माटोको छेकबार निर्माण गरिएको छ। ताल पुरिने क्रम भने रोकिएको छैन। वर्षात्मा बगेर आउने माटो रोक्नका लागि भरपर्दो छेकबार निर्माण गरेमात्रै ताल जोगाउन सकिने स्थानीय बासिन्दा बताउँछन्। वर्षात्का बेला तालको पानी बस्तीमा पसेर डुबान हुने गरेको छ। बालुवाले खेतीयोग्य जग्गा परिँदै गएको स्थानीयवासी अमर रानाले बताए।

ताललाई उत्तरतर्फबाट जङ्गल र अन्यत्रबाट बस्तीले घेरेको छ। गोलो घेरामा बन्द आकृतिमा रहेकाले यसको नाम बन्दाताल रहन गएको यहाँका बूढापाका बताउँछन्। तालको मनोरम दृश्य नियाल्न, विभिन्न प्रजातिका माछा र जलपक्षीको क्रीडा हेर्न आन्तरिक पर्यटकको यहाँ घुइँचो लाग्छ। सदरमुकाम महेन्द्रनगरबाट झण्डै ६० किलोमिटर दूरीमा बन्दाताल पर्छ। तालसम्म पुग्न कच्ची र धुलाम्मे सडक प्रयोग गर्नुपर्ने भएकाले आन्तरिक तथा बाह्य पर्यटकले सास्ती खेप्नु परेको छ। रासस

ताजा समाचार

सम्बन्धित समाचार