तनहुँ – हिउँद मौसम सुरु भएसँगै मादी नदीमा जलबिहार गर्ने विदेशी पर्यटकको सङ्ख्या बढ्न थालेको छ। मादी नदी जलबिहारका लागि सुरक्षित स्थान भएकाले पर्यटकको यसतर्फ आकर्षण बढ्न थालेको हो।
व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले धार्मिक एवं पर्यटकीय क्षेत्र व्यासको जन्मस्थल यहीँ परेकाले पनि मादी र सेतीको सङ्गमस्थल व्यासभूमिको आँगनबाट जलबिहार गर्ने पर्यटक बढेको बताए। ‘‘हामीले विदेशी पर्यटकलाई व्यास जन्मस्थल क्षेत्रबाट नै घुमफिर गरी जलबिहारमा जाने वातावरण मिलाउने तयारी गर्ने योजनामा छौँ,’’ उनले भने।
व्यास नगरपालिका–५ स्थित मादी नदीमा दैनिक ५० देखि १०० जनासम्म पर्यटक जलबिहार गर्न आउने गर्दछन् । उनीहरु प्रायः चितवन र सौराह जानेहरु बढी मात्रामा चितवनसम्म जलबिहारको यात्रा रोज्ने गरेको प्रदर्शक सनमा लामाले जानकारी दिए।
मादी नदी हुँदै कोही पर्यटकहरु घुमाउने गएर एकरात बस्ने गरेका छन् भने केही चितवन जाने गर्दछन्। सौराह घुम्नका लागि पोखराबाट प्याकेज बनाएर हिडेका विदेशी पर्यटकहरु प्रायः चितवनसम्म जलबिहार गर्दछन्। जलबिहार गर्न आउने पर्यटक युरोप, अमेरिका र एशियाली मुलुकबाट आउने गरेका छन्।
व्यास–५ का अध्यक्ष मोहनकुमार श्रेष्ठले जलबिहार गर्ने ठाउँ नजिक अलिकति कटान भएका कारण त्यसको व्यवस्थापनको लागि तयारी थालेको बताए। यसको संरक्षण र व्यवस्थापनका लागि नगरपालिकाबाट यसै वर्ष रु १५ लाख बजेट विनियोजन गरिएको छ। रासस