काठमाडौँ – सरकारले आगामी पुसदेखि सार्वजनिक सवारीलाई तीन वटा रुट अन्तर्गत चलाउने भएको छ।
सिण्डिकेट खारेज भएसँगै यातायात व्यवस्था विभागले काठमाडौँ लगायत देशैभर ठूला तथा साना गाडीका लागि फरक–फरक रूट दिने तयारी गरेको हो।
सर्वसाधारणले दैनिक ट्राफिक जामको समस्या भोग्दै आएकोमा त्यसलाई कम गर्न तथा वातावरण प्रदूषण न्यूनीकरण गर्ने उद्देश्यका साथ साना तथा ठूला गाडीलाई फरक–फरक रूट परमिट दिने तयारी गरेको यातायात व्यवस्था विभागले जनाएको छ।
विभाग यतिबेला पुरानो रूट परमिटलाई खारेज गरी नयाँ दिने तयारीमा छ। यातायात व्यवस्था विभागका सूचना अधिकारी गोकर्णप्रसाद उपाध्यायका अनुसार आगमी पुसको पहिलो हप्तादेखि ठूला गाडीलाई ठूलो तथा लामो रूट र साना गाडीलाई छोटो तथा सानो रूट दिने तयारी भएको छ।
उनका अनुसार सार्वजनिक सवारीका लागि तीन प्रकारको रुटको व्यवस्था गरिएको छ। प्राइमरी रुट, सेकेण्डरी रुट र टरसरी रुट। प्राइमरी रुटमा ठूला सवारी चल्ने, सेकेण्डरीमा मझौला तथा मिनिबसहरू र टरसरी रुटमा साना सवारी जस्तै टेम्पो, माइक्रो आदि चल्ने गरी रुट छुट्याइएको छ।
‘अहिले यसै विषयमा काम भइरहेकाे छ, फिल्ड भेरिफिकेशन गर्दै छाै,’ उनले भने, अहिलेसम्म प्राइमरीमा ९ वटा रुट छुट्याइएकाे छ, अरु रुट छुट्याउने काम भइरहेको छ ।’
उनका अनुसार यातायात व्यवस्था विभागको इन्जिनियर, यातायात व्यवसायी लगायतको एउटा समूहले रुट अवलोकन गरी कहाँ बस स्ट्याण्ड राख्ने, कहाँ बस पार्क राख्ने भन्ने जस्ता विषयमा निक्र्यौल गरिरहेको छ।