कोहलपुर–धामपुर प्रशारण लाइन : ५ हजार बोटबिरूवा राेप्नुपर्ने

नेपालगञ्ज–कोहलपुर–धामपुर ३३ केभीए प्रशारण लाइन निर्माणका लागि २ सय १४ रूख काट्न शुरु गरिएको छ।

बाँकेको राप्ती सोनारी र नरैनापुर गाउँपालिकाका विभिन्न गाउँमा विद्युत सेवा पुर्याउन राप्ती पीडित सामुदायिक वन र समय भवानी सामदायिक वनको २ दशमलव २२ हेक्टर वन क्षेत्रमा रहेका रुख काट्न शुरु गरिएको हो। २०७५ चैतसम्म विद्युतको प्रशारण लाइन निर्माण गर्ने लक्ष्य राखिएको छ।

विद्युतको प्रशारण लाइन निर्माणको क्रममा ६ मिटर चौडाइ र ५ दशमलव ३ किलोमिटर लम्बाई क्षेत्रमा रहेका अस्ना, कर्मा, बोटधाइरो लगायतका रूख काटेर ५ हजार ३ सय ५० बोटबिरूवा रोपिने डिभिजन वन कार्यालय बाँकेका सहायक वन अधिकृत गणेशबहादुर खड्काले जानकारी दिए। उनका अनुुसार विद्युत प्राधिकरणले अन्य क्षेत्रमा बोटबिरूवा रोपेर पाँच वर्षसम्म हुर्काएर वनलाई हस्तान्तरण गर्नुपर्नेछ।

मन्त्रिपरिषदको १६ फागुन २०७२ को बैठकले रुख काट्ने निर्णय गरेको थियो। सोही निर्णय अनुसार वन विभागले ऊर्जा संकट निवारण तथा विद्युत विकास दशक सम्बन्धी अवधारणा पत्र एवं कार्ययोजना, २०७२ र राष्ट्रिय प्राथमिकता प्राप्त योजनाको लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्ने सम्बन्धी कार्यविधि, २०७४ बमोजिम रूख काट्न अनुमति दिएको हो।

प्राधिकरणले प्रशारण लाइन निर्माण गर्दा माटो बगाउने, प्राकृतिक सम्पदा खोतल्ने, निकाल्ने, भुस्खलन हुने जस्ता कार्यलार्ई ध्यानमा राखेर प्राकृतिक सम्पदाको संरक्षण हुने किसिमले संरचना निर्माण गर्नु पर्नेछ। त्यसै गरी आयोजनाले आफ्नो संरचनाहरु निर्माण गर्दा धरातलीय भू—बनौटलाई मध्येनजर गरी भू—क्षय न्यून गर्ने तथा पहिरो रोकथाम गर्ने योजनासहित बायो–इन्जिनियरिङ प्रविधिलाई प्राथमिकता दिएर सोही बमोजिम निर्माण गर्नु पर्ने शर्त राखिएको जनाइएको छ।

विद्युत प्राधिकरण नेपालगञ्जका निमित्त क्षेत्रीय प्रमुख गणेशदत्त जोशीले कोहलपुर–धामपुर सवस्टेशनमा विद्युतको पोल गाडेर चैत मसान्तसम्म विद्युत सेवा पुर्याउने लक्ष्य लिइएको बताए।

प्रशारण लाइन बनेमा नरैनापुर गाउँपालिका पूरै गाउँ र राप्ती सोनारी गाउँपालिकाको करीब आधा क्षेत्रका ६० हजार जनताले विद्युत सेवा पाउने नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद साहले बताए।

२०६६ सालदेखि सामुदायिक विद्युतीकरण आयोजना अन्तर्गत नेपाल सरकारको ८० प्रतिशत र उपभोक्ताक्ताको २० प्रतिशत लागतमा विद्युत विस्तारका लागि काम शुरु भए पनि वन क्षेत्रमा विद्युत विस्तार गर्न समस्या परेको थियो।

राप्ती सोनारी र नरैनापुरमा विद्युत विस्तारका लागि धामपुरमा सवस्टेशन निर्माण गर्ने, नरैनापुर र राप्ती सोनारीका गाउँमा पोल गाड्ेर तार तान्ने काम भइरहेको जोशीले बताए।

ताजा समाचार

सम्बन्धित समाचार