Friday, November 8, 2024

भित्र अन्तर्राष्ट्रिय खेल, बाहिर फोहोरको थुप्रो

ललितपुर– अहिले धेरै फुटबलप्रेमीको ध्यान ललितपुरको सातदोबाटोमा छ, जहाँ चौथो संस्करणको साफ यु–१५ च्याम्पियनसिप फुटबल प्रतियोगिता चलिरहेको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा) मैदान सातदोबाटोमा जारीे प्रतियोगितामा नेपाल, भारत, पाकिस्तान, भुटान, माल्दिभ्स र बंगलादेशले सहभागिता जनाएका छन्। प्रतियोगिताका सबै खेल एन्फा मैदान सातदोबाटोमा भइरहेका छन्।

यसरी अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता भइरहँदा मैदानको गेट बाहिर केही मिटर पर फोहोरको डंगुर छ। फोहोरको डंगुरले बाह्य खेलाडीसामु राम्रो सन्देश पक्कै जाँदैन।

एन्फा कम्प्लेक्स महानगरको वडा नम्बर १७ मा पर्छ। वरपर र कम्प्लेक्स छिर्ने गेटको २५ मिटरको आसपासमा ठाउँठाउँमा फोहोर थुप्रिएको छ।

सातदोबाटोका विक्रम केसी भन्छन्, ‘भित्र अन्तर्राष्ट्रिय स्तरको फुटबल म्याच भइरहेको छ, बाहिर फोहोरको डंगुर छ,’ उनले भने, ‘यसले विदेशीकासामु हाम्रो बेइज्जत गरेको जस्तै लाग्छ।’

एन्फाका महासचिव इन्द्रमान तुलाधर भित्र प्रतियोगिता भइरहेका बेला बाहिर फोहोरको डंगुर हुनु अशोभनिय रहेको र व्यवस्थापन गर्न वडा कार्यालयसँग अनुरोध गरिएको बताउँछन्।

वडा नम्बर १७ का वडा अध्यक्ष विनोद मर्हजनले महानगरसँग गाडी कम केही समस्या देखिएको भएपनि एन्फा मैदानको बाहिर रहेको फोहोर उठाउन प्राथमिकता दिने बताए। प्रतियोगिता कात्तिक १७ गतेसम्म चल्नेछ।

ताजा समाचार

सम्बन्धित समाचार